तात्कालिन युबराज दीपेन्द्रले भने – “सरी”
Posted by Ram Kumar Shrestha on May 2, 2011
सांस्कृतिक विविधताको दृष्टिकोणले संसारकै सबभन्दा धनी देशहरुमध्यमा पर्छ नेपाल, तर यस्तो धनी देशमा आधुनिकताको नाममा संस्कृति अत्यधिक
गतिमा लोप हुँदै गइरहेको पाईन्छ दिन प्रतिदिन । समय परिवर्तनशील भएको र त्यसमाथि बर्तमान खुल्ला विस्व परिबेशका कारण कुनै पनि समाजमा विद्यमान संस्कृति बिस्तार बिस्तार लोप हुँदै जानु अथवा परिवर्तन हुनु अस्वाभाबिक होइन, तर समाज शास्त्र, मानब शास्त्र र अनुसन्धानका दृष्टिकोणले लोपोन्मुख अवस्थामा रहेका त्यस्ता कुराहरुलाई तिनीहरुको महत्व हेरी कुनै न कुनै रुपमा कुनै न कुनै किसिमबाट संरक्षण र संबर्द्धन गरिनु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । यसरी लोपोन्मुख अबस्थामा रहेका कला, संस्कृतिहरुलाई कुनै न कुनै रुपमा जोगाउने कार्यमा अहिलेका बिकशित देशहरु धेरै पहिलादेखि लागि परेका देखिन्छन भने हामीहरु भने हाम्रा आधारभूत मानबीय आवश्यकता परिपूर्तिका खातिर नै अधिकांश ध्यान केन्द्रित गरी प्राथमिकतालाई तदनुरुप परिलक्षित गर्नु पर्ने वाध्यता र सीमित साधन र श्रोतका कारण यस किसिमका कार्यहरु अझै पनि आवश्यकतानुरुप प्राथमिकतामा पर्न सकेको देखिदैन । त्यसैले यस किसिमका कार्यमा केही योगदान पुर्याउने अभिप्रायले नेपालमा राष्ट्रिय जातीय संग्रहालय स्थापनालाई मूल उद्धेस्य बनाएर एउटा संस्था स्थापना भएको थियो । सोही संस्थाको पहलकदमीमा युनेस्को लगायत एक दर्जन जति देशका यस क्षेत्रमा बिशेष अनुभब र दक्षता भएका बिज्ञहरुको सहभागितामा काठमाण्डौंमा एउटा अन्तरराष्ट्रिय संगोस्ठीमा नेपाल जस्तो सांस्कृतिक बिबिधताको दृष्टिकोणले अत्यन्तै धनी भएको देशमा आधुनिक एबं खुल्ला बिस्व परिबेश, नेपालमा पर्यटन उद्योगको प्रबल संभाबना, बिभिन्न कारणबश नेपालीहरुको बढदो बिदेश गमन जस्ता यथार्थताका आधारमा लोपोन्मुख अवस्थामा रहेका भाषा, संस्कृति, जीवनशैली, कला र संस्कृतिलाई जोगाउने कार्यलाई प्राथमिकता दिन ढिलाई गर्न नहुने कुरामा जोड दिएका थिए उक्त अन्तरराष्ट्रिय संगोस्ठीमा सहभागी सबैले ।
अन्तरास्ट्रिय बिज्ञहरुको सल्लाह मुताबिक कीर्तिपुरको चम्पादेबीमा राष्ट्रिय जातीय संग्रहालयको लागि तात्कालिन श्री ५ को सरकारबाट मन्त्रीपरिषद मार्फत जग्गा प्राप्त गर्न प्रकृया अघि बढाइने क्रममा मन्त्रिपरिषदको बैठकमा पेश गर्न तात्कालिन संबन्धित मन्त्री बल बहादुर केसीले यथाशीघ्र गुरु योजना माग गरेको, तर बिस्त्रित गुरु योजना तयार गर्न बिभिन्न किसिमको जनशक्ति, समय र धेरै रकमको आबस्यक पर्ने भएको कारण एक हप्ता खटेर प्रारंभिक गुरु योजना तयार पारें मैले सो परियोजनाको संस्थापक कार्यकारी सदस्य र बिशेषत: इन्जिनियरको हैसियतले । करीब करीब नेपालको नक्साकारमा कम्पाउण्ड लगाएर नेपालको जुन भू-भागमा जुन जातीको घनत्व छ स्केलानुसार करीब करीब त्यहीं ठाउँमा पर्ने गरी सो जातीको नमूना घर बनाइ जन्मदादेखि मर्दासम्मको संस्कृति स्पस्ट हुने गरी उनीहरुको संपूर्ण सामग्रीहरुको संकलन गरी उनीहरुकै नमूना घरमा राखिदिने, कतिपय कुराहरु सामान संकलन गरेर मात्र स्पस्ट गर्न नसकिने कुराहरु हाइ भिजन हलहरुमा श्रब्य द्रिश्य माध्यमद्धारा प्रदर्शन गर्ने, आबस्यक संपूर्ण जनजातीको नमूना घरहरु बनाइ प्रत्येक घरहरुमा यातायातको साधन पुग्ने, आगन्तुकको लागि पार्किङ जस्ता संपूर्ण कुराहरुका लागि बिचार गरी तयार गरिएको उक्त महत्वाकांक्षी परियोजनाको लागि आबस्यक पर्ने २०० रोपनी जग्गा माग गरिएको थियो भने झन्डै ७० करोडको बजेट देखाइएको थियो जस्मा सो परियोजनाको लागि आबस्यक पर्ने बिभिन्न अनुसन्धान र सोको लागि आबस्यक पर्ने ठूलो रकमलाई समाबेश नगरिएको कारण परियोजना १० बर्षमा नै संपन्न गरिंदा पनि कूल बजेट अरबौं लाग्ने देखिन्थ्यो । नेपालमा कुनै पनि काम गर्न च्यानल मिलाउन पर्ने चलनका कारण सल्लाहकार र कार्य समितिको आकार बढदै गयो । सबैसंग मिलेर काम गर्न पर्ने भएका कारण ठूला पार्टीका मन्त्रीको हैसियत प्राप्त गरिसकेकाहरु, जनजातीका प्रतिनिधि थप्ने अनि तात्कालिन युबराज दीपेन्द्रलाई संरक्षक राख्ने योजना मुताबिक दरबार निकटका बरिस्ठ ब्यक्तिहरु सल्लाहकारको रुपमा थपिंदै जाँदा सल्लाहकारको रुप ठूलो हुँदै थियो ।अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर स्काइलर जोन, नर्बेका प्रोफेसर डा हेराल्ड ओस्कार र बेलायतकी मेरी मार्लौलाई पहिलादेखि नै समाबेश गरिएको थियो ।
संभाबित अत्यधिक इन्जिनियरिङ्ग कामका कारण एउटा इन्जिनियरको आवश्यकताको महसूस गरी बस्न आग्रह गरिएको कारण सो संस्थाको संस्थापना कालदेखि नै कार्य समितिमा बसेर देशको लोपोन्मुख संस्कृति जोगाउने अभियानमा सकृय भएको यो पंक्तिकार लोक बाजा र लोक भाकाको क्षेत्रमा समेत त्यसरी नै दयनीय अबस्था भएको कारण नेपाली लोक बाजा संग्रहालयको समेत संस्थापक उपाध्यक्ष तथा यसद्धारा प्रकाशित गरिंदै आएको बाजा पत्रिकाको संपादक मण्डलको सदस्य भएर काम गरिरहेको समयमा होटल सोल्टीमा सन २००० मा आयोजना गरिएको एउटा कार्यक्रममा लोकबाजाका केही सामग्रीहरु प्रदर्शनको लागि ब्यबस्था मिलाइएको थियो । स्टलमा म र नेपाल टेलिभिजनमा कार्यरत एबं नेपाली लोक बाजा संग्राहलयका सचिब टंक उप्रेती थियौं । कार्यक्रममा तात्कालिन युबराज दीपेन्द्र आउने कार्यक्रम थियो भने मूल ढोकाबाट पस्न्रे बित्तिकैको कोठामा पहिला युबराजलाई स्वागत गर्ने र लोकबाजाको स्टल देखाएपछि अर्को ठुलो हलमा मूल कार्यक्रमको लागि युबराजलाई लैजाने कार्यक्रम थियो । दीपेन्द्र आउने बेलासम्म पनि हामी दुबै जना आँफैले केही नबताउने तर प्रश्न गरिएको खण्डमा मात्र जबाफ दिने मानसिकताका साथ थियौं ।
युबराज दीपेन्द्र होटल सोल्टीको परिशरमा आइपुग्न लागेको खबर आउने बित्तिकै सबैलाई स्वागतको लागि लाइनबद्ध गराइयो भने टंक उप्रेती र म आफ्नो स्टलमा तयार भएर बस्यौं । युबराज दीपेन्द्र मूल ढोकाबाट प्रबेश गर्ने बित्तिकै तत्कालै बिचार आइहाल्यो – “यदि युबराजले राखिएका सामग्रीहरु मात्र हेरेर केही प्रश्न नै नगरेको खण्डमा त हाम्रो संस्थाबारे खासै जानकारी नै नपाउने भयो । त्यसैले केही न केही बताउनु नै बेश । अन्यथा समय र मेहनतको खासै सदुपयोग नहुने भयो । ” युबराजको स्वागतार्थ लाइनमा बस्नेहरु धेरै थिएनन । त्यसैले हामीकहाँ आउन समय लाग्ने कुरै भएन र संगै बस्ने मित्र टंक उप्रेतीसंग सल्लाह गर्ने समय पनि हुने कुरै भएन । बोल्ने भन्ने तयारी पनि थिएन । तर पनि युबराज दीपेन्द्र हाम्रो स्टलमा आइपुग्ने बित्तिकै अगाडि बढेर बोल्ने आँट गरें ।
प्रस्तुतिको क्रममा नेपाल सांस्कृतिक बिबिधताको दृष्टिकोणले संसारमा नै धनी भएको देशमा कतिपय जाती, भाषा, संस्कृतिहरु लोपोन्मुख अवस्थामा पुगिसक्ता पनि नेपालमा त्यसतर्फ खासै केही नभएकोले केही नेपालीको सोंच र केही देश र युनेस्कोकोको बिज्ञहरुको सुझाब अनुरुप नेपालमा राष्ट्रिय जातीय संग्राहलय खोल्ने अभिप्रायले काम अगाडि बढेको र त्यस्मा उहाँलाई संरक्षक राख्ने कुरा धेरै अगाडि बढेको बताउँदै धेरै लोक बाजा र लोक भाका समेत लोपोन्मुख अवस्थामा पुगिसकेको कारण लोका बाजा संग्रहालय खोली क्षमताले भ्याएसम्म केही गर्न खोजेको जानकारी दिएर प्रकाशित ”बाजा” पत्रिकाको केही प्रति दिन लाग्दा मेरो र युबराज दीपेन्द्रको हात अलिकति ठोक्किन पुगेर मेरो हातमा भएका पत्रिकाहरु भुइंमा खस्न पुगे । युबराज दीपेन्द्रले “सरी” भने र पत्रिका टिप्न निहुरिन खोजेको जस्तो देखिन्थ्यो । सामान्यत अलि ढिलो चल्ने यो दिमाग त्यो बेला अत्यन्तै तीब्र गतिमा काम गर्दै थियो जसरी ध्यानावस्था र सपनाबस्थामा अत्यन्तै छोटो समयमा अत्यन्तै धेरै घटना हुने गर्छ । प्रो शंकर राज पाठकले भन्नु भएको कुरा तुरुन्त दिमागमा आयो । उहाँ अन्चलाधिश भएको बेलामा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धी सहभागी हुनु भएको एउटा कार्यक्रममा एउटा त्यस्तै घटनाका कारण इन्दिरा गान्धीको आँखामा आँशु आएको देखेपछि सर्बसाधारणले त्यो कुराको भेउ नपाओस भन्ने अभिप्रायले तुरुन्त केही अग्लो ब्यक्तिहरुलाई जन साधारणबाट छेकिने गरी उभ्याएर इन्दिरा गान्धीलाई आँशु पुच्छ्ने अबसर दिनु भएको थियो रे । आफूले मान्नु पर्ने ब्यक्तिलाई बिशेष परिस्थितिमा सक्दो सहज बातावरण सिर्जना गरिदिनु पनि सामान्यत: अनुशासन र कर्तब्यकै प्रश्न हुन्छ । त्यहाँ तात्कालिन युबराज दीपेन्द्रले निहुरेर भुइंमा खसेको पत्रिका टिप्नु भनेको सामान्यत अत्यन्तै अस्वाभाबिक हुन सक्थ्यो भने मेरो ठूलो कम्जोरी । त्यसैले त्यो अस्वाभाबिक अवस्था कुनै पनि हालतमा हुन नदिनु मेरो नैतिक दायित्व थियो र म छिटो छिटो निहुरिएर भुइंमा खसेका पत्रिकाहरु टिपेर युबराजको हातमा राखिदिएँ ।
त्यसपछि युबराजको सवारी अर्को हलमा चलाइयो जहाँ राती अर्को कार्यक्रम गर्ने तयारीमा अधिकांश संभ्रान्त र बरिस्ठ भनेर मानिने थुप्रै मानिसहरु युबराजकै प्रतिक्षामा प्रतिक्षारत थिए पहिलादेखि नै। र त्यो त्यही कार्यक्रम थियो जस्मा युबराजले “पानको पात” गीत गाउँदै नाचेको कुरा सन्चारको माध्यमहरुले लेखेका थिए र युट्युबमा अझै पनि सो कार्यक्रममा युबराजल अरुहरुसंग गीत गाउँदै रमाउने कार्यमा सहभागी भएको हेर्न सकिन्छ ।
युबराजको सवारी अर्को हलमा चलाउने बित्तिकै शाही फोटोग्राफर मेरो नजिक आएर हात मिलाउँदै युबराज सामू मैले गरेको प्रस्तुति नेपाल टेलिभिजनको रातीको समाचारदेखि नै आउन सक्ने भएकोले रेकर्ड गर्न घरमा फोन गर्न सल्लाह दिए । र भोलिपल्टको गोर्खापत्र र राइजिङ नेपालको कभर प्रिस्ठमा हेर्न पनि सल्लाह दिए । त्यो बेला मोबाइल थिएन, फोन राख्न पनि सोर्स फोर्स या त थुप्रो पैसा तिर्नु पर्ने समय थियो । घर भर्खर बनाएकोले तन्नम भगत जस्तो भएको अवस्था थियो र मेरो छिमेक भरिमा एकाध घरमा मात्र डेक भएकोले रेकर्ड गर्न या त उनीहरुलाई अनुरोध गर्नु पर्थ्यो या त मागेर ल्याउनु पर्थ्यो । भोलिपल्ट एक जना छिमेकी दाइ श्याम सुन्दरकोबाट डेक मागेर त ल्याएँ, तर यताउता मिलाउँदा मिलाउँदै र रेकर्ड गर्न सक्ने हुँदा नहुँदै चोथो पटक प्रसारण गरिएको समाचार पनि फुस्कियो र नेपाल टेलिभिजनमा त्योभन्दा पहिला आफू देखा परिएका तीन वटा द्रिस्यहरुलाई त संग्रहित गरेर यदाकदा साथी भाईहरुसंग यसो कुराकानीमा मसला बनाउने बाटो त बनाउन सकिएन सकिएन नै, नेपाल टेलिभिजनमा देखा परिएको तात्कालिन युबराज दीपेन्द्रसंगको कार्यक्रम चौथो पटक प्रसाशरण गरिंदा समेत त्यस्लाई समेत संग्रहित गर्न सकिएन । अन्तमा नेपाल टेलिभिजनबाट नै आफू चौथो पटक टेलिभिजनमा देखा परेको तात्कालिन युबराजसंगको द्रिस्य हात त पारें मित्रबर टंक उप्रेतीको सहयोगबाट, तर त्यो द्रिश्यलाई आधार मानेर कुराकानी गर्ने आधार नै न त आजसम्म बनाएँ न त गोर्खापत्र र राइजिङ नेपालको अग्रिम भागमा राखिएका युबराजसंगका ठूला फोटाहरु नै काटेर राखें । न त मलाई ती फोटाहरु संग्रहित नभएकोमा चिन्ता छ न त बिभिन्न पार्टीका नेताहरुसंगको भेटघाट र सहकार्यको बेलामा फोटो नखिचिएकोमा नै । किनकि आफूले अरुसंग फोटो खिचेर त्यस्को बिज्ञापन गरेर होइन कि अरुले आफूसंग फोटो खिचेर त्यस्को बिज्ञापन गरिने अथवा अरुले आफ्नो खोजी गरिने बातावरण नबन्दासम्म ठूलो मान्छे बनिने होइन भन्ने सोंचको मान्छे हुँ म भलै त्यो हैसियत राख्नेमा नपरियोस नै किन ।
जे होस, कहिलेकांही सोंच्ने गर्छु – ” तात्कालिन युबराज दीपेन्द्रको बेलादेखि अहिलेसम्मका मन्त्री एबं प्रधानमन्त्रीहरुसंग यदि त्यसरी मैले दिन खोजेको पत्रिकाहरु संयोगबश खस्थे भने उनीहरुले ‘सरी’ भन्दै भुइंमा खसेका पत्रिकाहरु टिप्न खोज्थे होलान त ?”
Published links:
Gorkhaonline
DCNepal
Mulbato
Nepalarab
Solidarity






































