Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

मुस्ताङमा युरेनियम: उत्खनन गरे मुलुकको कायापलट

Posted by Ram Kumar Shrestha on July 13, 2014


गोपाल भण्डारी

खानी तथा भूगर्भ विभागको टोलीले माथिल्लो मुस्ताङमा बहुमूल्य युरेनियमको ठूलो खानी रहेको पत्ता लगाएको छ । लोमान्थाङ क्षेत्रको १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइको क्षेत्रमा युरेनियम भण्डार भेटिएको हो ।..एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ ।  एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ । …एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि १८ अर्ब रुपैयाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो ।

युरेनियम मिसिएको माटो र ढुंगाबाट युरेनियम छानेर ‘एल्लो केक’ निर्माण गर्न र त्यसलाई विदेश निर्यात गर्न सकिन्छ । एल्लो केकको मूल्य विदेशी बजारमा प्रति केजी १५०–२३० डलर छ । आणविक हतियार र चिकित्साविज्ञानमा समेत प्रयोग हुने शुद्ध युरेनियम एक ग्रामको मूल्य डेढ करोड रुपैयाँभन्दा बढी पर्छ ।

औद्योगिक विकास गरिरहेका छिमेकी भारत र चीन युरेनियमको सम्भावित बजार हुन सक्छ । आणविक ऊर्जा उत्पादनका लागि भारतले संसारकै ठूलो भण्डार रहेको अष्ट्रेलियासँग युरेनियम किन्ने गरेको छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । उर्जा उत्पादन अथवा आणविक बम युरेनियमबिना बन्न सक्दैन । युरेनियम विद्युत उत्पादनको मुख्य स्रोत पनि बन्दै गएको छ ।

gopal-bhandari-writerयुरेनियम र यसको महत्व

सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु युरेनियमको २३८ परमाणविक धार हुने हुन्छ र लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ । विशेषज्ञहरु युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् ।

यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ । युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम–२३८ र युरेनियम–२३५ । प्राकृतिक रुपमा युरेनियम–२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम–२३५ बनाइन्छ ।

एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ । ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ ।

अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारकि वेबसाइट एनबीएल डट डीओई डट जीओभीका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई ‘युरेनियम–२३५’ भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करिब १८ करोड रुपैयाँ) पर्छ । यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि १८ अर्ब रुपैयाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो ।

युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन । ऊर्जाको अत्यन्त शक्तिशाली स्रोत युरेनियमबाट विद्युत् उत्पादन हुन्छ । विभिन्न पश्चिमेली देश युरेनियमबाट उत्पादित विद्युत्मा निर्भर छन् ।

केही साताअघि मात्रै भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा सम्भवत: विश्वकै ठूलो परमाणु भण्डार फेला परेको थियो । १ लाख ५० हजार टन परमाणु भएको अनुमान गरिएको उक्त भण्डार पत्ता लगाउन ४ वर्ष लागेको थियो । युरेनियमको सदुपयोग भयो भने भौतिक जीवनका लागि अभिन्न मित्र बन्न सक्छ । दुरुपयोग गरियो भने यसले संसारका सबै प्राणीलाई नष्ट गर्न पनि सक्छ ।

सन् १९४५ युरेनियम–२३५ बाट निमिर्त ‘लिटिल ब्वाय’ र युरेनियम–२३८ बाट परिमार्जित गरी बनाइएको ‘फ्याट म्यान’ नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइँदा करिब ७५ हजार मानिस मारिए भने ५० हजार भवनहरु ध्वस्त भएका थिए ।

नेपालमा युरेनियम पाईने ठाउँहरु

हेटौँडा बजार अनि त्यहाँबाट ४५ किलोमिटर पूर्वतिर मकवानपुरको तीनभंगाले गाउँमा सन् १९९० मा खानी तथा भूगर्भ विभागले पहिलोपटक युरेनियमको खानी रहेको तथ्य पत्ता लगाएको थियो । तथ्यांकमा तीनभंगाले कालोपानी खोला आसपास क्षेत्रमा करिब १५ हजार टन युरेनियमको खानी भण्डार छ, जसलाई उत्खनन गरी प्रशोधन गर्दा कम्तीमा ३५ टन शुद्ध युरेनियम निकाल्न सकिने प्रारम्भिक अनुमान छ ।

urenium-in-nepal-mustang

खानी विभागको अन्वेषणअनुसार शिवालिक क्षेत्रमा पर्ने सिन्धुलीको बुका खोला, मकवानपुरको चिरुवा खोला, चाँदे खोला, तीनभंगाले–कालोपानी खोला, चितवनको मरदार खोला तथा पाँपा खोला आसपासमा युरेनियमको सम्भावना छ । यीमध्ये मकवानपुर–धियाल गाविस–३ को तीनभंगाले–कालोपानी क्षेत्र सबैभन्दा बढी रेडियोधर्मी विकिरण उत्पन्न भइरहेको क्षेत्र हो ।

खानी विभागले ‘गामा–रे स्पेक्ट्रोस्कोपी मिटर’को सहायताले तीनभंगाले क्षेत्रमा २४ वर्षअघि गरेको परीक्षणमा २७ हजार ४ सय ५ कुल विकिरण काउन्ट प्रतिसकेन्ड (सीपीएस) देखिएको थियो, जबकि औसत जमिनमा एक सयदेखि १ सय ५० सीपीएस मात्र विकिरण प्रभाव देखिन्छ । विभागको आफ्नै अध्ययनले पनि मकवानपुर, सिन्धुली, बैतडी, बझाङ, बाजुरा र काठमाडौंका २४ ठाउँमा युरेनियम रहेको संकेत दिएको थियो ।

मकवानपुरको तीन भङगाले, सिन्धुलीको बुका खोला र काठमाडौंको शिवपुरीमा अर ठाउँमा भन्दा बढी युरेनियम हुनसक्ने विभागको अनुमान छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ । विशेषज्ञहरुका भनाइमा विकिरण उत्पन्न गर्ने धातु जस्तै युरेनियम, थोरयिम र फस्फोरस हुन सक्ने प्रवल सम्भावना हुन्छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था (आईएईए)को मापन अनुसार जमिनमा सात सय सीपीएसजति युरोनियमको विकिरण भएमा खानी उत्खनन योग्य मानिन्छ ।

नेपालको युरेनियम: विदेशी चासो

केही वर्षअघि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले एक भारतीय वैज्ञानिकलाई उद्धृत गर्दै माथिल्लो मुस्ताङमा युरेनियमको ठूलो भण्डार रहेको बताएका थिए । श्रेष्ठका अनुसार, ती भारतीय वैज्ञानिकले दशकअघि नै प्रयोगशाला परीक्षण गर्दा त्यो क्षेत्रको चट्टानमा रेडियोधर्मी विकिरण फेला पारेका थिए ।

रेडियोधर्मी विकिरण हुनु भनेको युरेनियम रहेको संकेत हो । नेपालमा युरेनियमको खोजी गर्ने प्रारम्भिक आधार एउटै थियो– भारत तथा पाकिस्तानको शिवालिक क्षेत्रमा युरेनियम उत्खनन भइरहेको छ भने नेपालमा किन नहुने ? खासमा युरेनियम पाइने चट्टान ‘युरेनिफेस रक’को नेपालमा पनि उपलब्धता नै यसको अध्ययनको प्रमुख कडी थियो । त्यसपछिको अध्ययनका क्रममा विभिन्न स्थानमा छिटपुट युरेनियमको सम्भावना भएको निष्कर्ष निकालियो ।

सन् १९८५ मा खानी तथा भूगर्भ विभागले भूगर्भविद् रामनगिना यादवको अगुवाइमा पूर्वी, मध्य तथा पश्चिम नेपालको चुरे पर्वत शृंखला तथा तराईका केही फाँटमा युरेनियमको प्रारम्भिक अध्ययन गरियो । सन् १९८७ मा खानी विभागका भूगर्भविद् कृष्णप्रसाद काफ्लेको नेतृत्वमा युरेनियमको खोजी पुन: सुरु भयो । काफ्लेको टिमले कमला नदीबाट सुरु गरी बागमती नदीसम्मको भागमा अनुसन्धान गर्‍यो । सन् १९८८ मा काफ्लेको टोली मकवानपुरस्थित तीनभंगाले तथा चाँदी खोलाका केही भागमा अत्यधिक रेडियोधर्मी विकिरण रेकर्ड गर्न सफल भयो ।

स्नातकोत्तर तहको शोधपत्रका लागि सन् १९९४ मा विनिल अर्याल, जो अहिले त्रिभुवन विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन्, ले तीनभंगाले–कालोखोलाको युरेनियम मिश्रति चट्टानका टुक्राबारे ‘गामा–रे स्पेक्ट्रोस्कोपी’ प्रविधि अनुरप विस्तृत अध्ययन गरे । उनले एक लाख कणमा ३ हजार ६ सय ३६ कण युरेनियम भएको चट्टान फेला पारे । यसबाहेक विभिन्न समयमा विभिन्न प्रकारले नेपालमा विदेशीहरद्वारा युरेनियम अन्वेषण हुँदै आएको छ ।

जस्तो कि, सन् १९७५ मा अमेरिकाका कोनाक्का र पोल्यान्डका जोन मेकीको संयुक्त टोलीले लाङटाङ हिमाल आरोहण गरेको थियो । उनीहरु आरोहण सकेर देश फर्केपछि मात्र थाहा भयो कि त्यस आरोहण टोलीले लाङटाङ क्षेत्रकै रेडियोधर्मी विकिरणको अध्ययन गरेको रहेछ । २३–२७ फेबुरअरी १९९६ मा भारतको पन्जाब राज्यको पटियालास्थित पन्जाब विश्वविद्यालयमा ‘रेडियसन फिजिक्स’ को राष्ट्रिय सम्मेलनमा नेपालको चुरे शृंखलामा युरेनियमको राम्रै सम्भावना रहेको र त्यसको उत्खननबाट हुन सक्ने प्रभावबारेमा भाभा आणविक केन्द्रका वैज्ञानिकहरुले छलफल गरेका थिए। त्यही वर्ष एक अमेरिकी जर्नलमा नेपालमा युरोनियम भण्डार रहेको अनुसन्धानात्मक लेख प्रकाशित भएपछि खानी विभाग र नेपाली वैज्ञानिकहरमाझ निकै चर्चा भएको थियो ।

विसं २०५४ मा तत्कालीन विज्ञान तथा प्रविधिमन्त्री मिर्जादिलसाद वेगले भाभा आणविक केन्द्रसँग सम्बद्ध एनएस शर्मालाई अति लुप्त खनिजको अध्ययन गर्न इजाजत दिएका थिए । खासमा शर्माचाहिँ डडेल्धुरामा माउन्टेन बोर्डिङ स्कुलको प्रिन्सिपल भएर चार वर्षसम्म बैतडी, बझाङ क्षेत्रको अध्ययन गरेका थिए । यद्यपी उनले गरेको विस्तृत रिपोर्ट नेपाल सरकारसमक्ष पेस गरिएन । मिर्जा ०५५ मा मारिइसके भने शर्माचाहिँ माओवादी द्वन्द्वका बेलामा भारततिरै फर्किए । सुरक्षा स्रोतहरु वेगको हत्यालाई युरेनियम तस्करीसँग पनि जोडेर हेर्नुपर्ने बताउँछन् ।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था

आईएईएका अनुसार विश्वका ३१ मुलुकमा ४ सय ३७ आणविक भट्टी सञ्चालित छन् । १५ मुलुकमा ६८ नयाँ भट्टी निर्माणाधीन छन् । सन् १९८६ को रुसमा भएको चेर्नोविल आणविक दुर्घटना र सन् २०११ को जापानमा भएको फुकुसिमा दुर्घटनाका कारण विश्वभर आणविक भट्टी बन्द गर्नुपर्ने बहस भइरहेको छ ।

तथापि, यो निर्माण गर्ने क्रम झन् बढ्दो छ, जसको मूल कच्चा पदार्थ नै युरेनियम हो । त्यसैले पनि युरोनियमको खपत दिनानुदिन बढिरहेको छ । त्यही भएरै शक्ति सम्पन्न राष्ट्रहरु अप्रत्यक्ष रुपमा नेपालका विभिन्न परियोजनामार्फत नेपालका युरेनियममा चासो देखाइरहेका छन् । अमेरिकाको ऊर्जा मन्त्रालय अन्तर्गत जीटीआरआई परियोजनाले पनि नेपालको युरेनियममा निकै चासो देखाइरहेको देखिन्छ । त्यस्तै दक्षिण कोरियाको कोरियन इन्स्च्युतट अफ जिओ–साइन्स एन्ड मिनरल्स रिसोर्सेस नामक संस्थाले युरेनियमलगायत लुप्त ऊर्जाजन्य खानी अन्वेषणका लागि नेपालको खानी विभागसँग सहकार्य गर्ने औपचारकि प्रस्तावसमेत पठाएको छ ।

खानी विभागका उपमहानिर्देशक रहमान भन्छन्, ‘कोरयिनको अन्वेषण सहकार्य प्रस्ताव सही हो तर त्यसबारेमा ठोस निर्णय भइसकेको भने छैन ।’ दुई वर्षयता नेपालको युरेनियम अन्वेषणमा राष्ट्र संघीय निकाय अन्तर्राष्ट्रिय परमाण्ुा ऊर्जा संस्था (आईएईए)ले विशेष चासो देखाइरहेको छ । सन् २००८ मा नेपाल आईएईएको सदस्य भएकाले पनि उसले युरेनियम र रेडियोधर्मी विकिरणसँग सम्बन्धित विभिन्न निकायलाई सहयोग गर्न सन् २०१२–२०१५ सम्म सम्पन्न हुने गरी ६१ लाख अमेरिकी डलर (करबि ५३ करोड रुपियाँ)को परियोजना दिएको छ ।

यद्यपि, त्यस परियोजनामा उल्लेख्य प्रगति भइरहेको चाहिँ छैन । परियोजना अन्तर्गत नेपालका विभिन्न निकायबाट झन्डै एक सय कर्मचारी तथा विज्ञहरु आईएईएका विभिन्न सेमिनार तथा तालिममा सहभागी भइसकेका छन् । वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नवीन देवकोटा भन्छन्, ‘आईएईएको नेपालको मुख्य चासो भनेको यहाँ पिस फर न्युक्लियरको नारासहित दक्ष जनशक्ति उत्पादन गर्ने र विभिन्न प्राविधिक सहयोग उपलब्ध गराउने नै हो ।’

आईएईएले खानी विभागलाई झन्डै ७५ हजार युरो पर्ने गामा रेज एनलाइजर र सेन्टिलेसन काउन्टरजस्ता उपकरण दिने भएको छ । यतिसम्म कि गत भदौ–असोजमा आईएईएका तीन जना युरेनियम विज्ञहर नेपाल आएर खानी विभागका कर्मचारीलाई विशेष तालिमसमेत दिएका थिए । त्यही क्रममा जीन रेनी ब्लेज र खानी विभागको टोलीले तीनभंगाले क्षेत्रको निरीक्षणसमेत गरेको थियो ।

विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च स्रोतका भनाइमा यी भ्रमणको उद्देश्य खासमा नेपालको युरेनियम भण्डारबारे विस्तृत रिपोर्ट लिने नै बुझिन्छ । दातृ निकाय सोझै युरेनियमसम्बन्धी अध्ययन भनेर आउँदैनन्, उनीहर नेपालको खानी अन्वेषणमा दक्ष जनशक्ति उत्पादन तथा प्राविधिक सहयोगका नाममा आउँछन् र आफ्ना विज्ञहरुलाई लिएर फिल्डमा जान्छन् । अनि, त्यहाँबाट ल्याएको नमुना परीक्षण गर्ने भनेर आफ्नै  देशमा लैजान्छन् ।

 

 

About these ads

One Response to “मुस्ताङमा युरेनियम: उत्खनन गरे मुलुकको कायापलट”

  1. क्षितिज पुर्जा (सहयात्री) said

    साँच्चै हाम्रो मुलुकको कायापलट भए त हुन्थ्यो नी!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.

Join 1,294 other followers

%d bloggers like this: