Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

राजनीतिक ब्यबसायिकीकरणको अन्त्यको अपरिहार्यता

Posted by Ram Kumar Shrestha on July 9, 2009


*रामकुमारश्रेष्ठ

हुन त सबैले हरेक आफ्ना काम कुरामा देश र जनताको नाम लिने गर्छन् जसरी कि श्राद्धमा पुरेतले हरेक कुरामा मृतकको आवश्यकतासंग जोडी आफ्नो आबस्यक्ता पुरा गरिरहेको हुन्छ । ………. के त्यस्तो ब्यक्ति छ जस्को पछाडि लाग्दा गौरबानुभूती होस, के त्यस्तो ब्यक्ति छ जस्को कुरामा विश्वाश गर्न सकियोस, के त्यस्तो ब्यक्ति छ जस्ले घरको भान्छेले झैं अरुलाई पहिले ख्वाएर पछि आफू खाने उदाहरण दिन सकोस । होइन भने केको लागि किन संधै अन्धभक्त भएर देश र आफ्ना साखा सन्ततिको भबिस्यलाई अन्धकारमा राख्ने गरी आफ्ना सामान्य तुच्छ स्वार्थको लागि मन लागी नलागी नाटक मन्चन गर्नेहरुलाई संधै बेहुला बनाएर आफू जन्ती भै राख्ने हो ? सही छैनन भन्ने बुझ्दा बुझ्दै पनि किन उनीहरुले जे बोले पनि ताली दिने, गर्नु पर्ने काम छाडी छाडी पछि पछि लागिदिने ?

राजनीति समाज परिबर्तनको प्रबल एवं सशक्त उत्प्रेरक वन्नु पर्छ विशेषतः राजनैतिक र आर्थिक समस्याले ग्रस्त समाजमा । राजनीतिकर्मीहरुको सफलता र इमान्दारिता यसै कसीको आधारमा हेरिनु पर्ने हुन्छ र हेरिन्छ पनि । समाज परिबर्तन जटील एबं कठीन प्रकृया र कार्य भएकोले यस्को लागि आफूलाई जटील नभएर सरल र स्वार्थ रहित इमान्दार ब्यक्तिको रुपमा प्रस्तुत नगरेसम्म उपर्युक्त उद्धेश्य परिपूर्तिमा योगदान दिएको देखिनुको अलावा बाधक बनेको महसूस समाजले गर्नु पर्ने परिस्थिति सिर्जना हुन्छ । सबै राजनीतिकर्मीहरु आफूलाई देश र जनताप्रति समर्पित भएको र समाज परिबर्तन नायक बनिरहेको प्रमाणित गर्न भर मग्दूर प्रयाश गर्छन् भलै राजनीतिलाई सबभन्दा राम्रो ब्यवसाय बनाएर समाजलाई यथास्थितिमै राख्ने अथबा अझ पछाडि धकेल्ने गरेका नै किन नहुन । यस प्रबृतिले गर्दा समाज परिबर्तनका आवश्यकता र नाराहरु यथार्थमा रुपान्तरण हुने संभाबनाका ढोकाहरु बन्द प्रायः अबस्थामा पुग्नु कुनै आस्चर्यजनक कुरो होइन । अतः साँच्चै समाजलाई अग्रगामी दिशातिर उन्मुख गराउने नै हो भने राजनीतिलाई सबभन्दा राम्रो ब्यवसाय बनाउनेहरुको पन्जाबाट मुक्ति दिलाउन नसकिएसम्म यस जटील एबं कठीन उद्धेस्य प्राप्ती संभब देखिदैन पनि ।

पञ्चायती ब्यबस्थाको अन्त्यपछि नेपाली जनताको चाहनानुरुप परिबर्तनका संभाबनाहरुले अधिकाधिक मात्रामा मूर्त रुप लिने आशा स्बाभाबिक थियो तर संपूर्णप्रायः राजनीतिकर्मीहरुमा सरलता र इमान्दारिताको अभाब टडकारो रुपमा देखा प-यो । पेशेबार राजनीतिकर्मीहरुले बिस्तार बिस्तार राजनीतिलाई ब्याबहारिक रुपमै सबभन्दा राम्रो ब्यवसायको रुपमा प्रमाणित गरेर मात्र देखाएनन कि सांसद किनबेच जस्ता घृणित घटनाले सांसद र भेडा बाख्रा तुलना गर्न हिचकिचाउन नपर्ने परिस्थितीको सिर्जना समेत गरिदिए । रातो पासपोर्ट र सुत्केरी भत्ता जस्ता यथार्तताले राजनीतिलाई गाइजात्रे नीतिमा परिणत गरिदिए । नयाँ बोत्तलभित्रका नयाँ रक्सी पुरानो रक्सीभन्दा कडा भएको भन्न हिचकिचाउन गा-हो मान्न पर्ने परिस्थिति सिर्जना भयो । यथार्ततालाई यथार्थ रुपमा भन्नु पर्दा भन्नै पर्ने यस किसिमका हीनताबोध गर्न पर्ने यथार्तताहरुले इतिहासमा नराम्ररी कालो धब्बा लगाइदिएको छ प्रजातन्त्रको पुन: स्थापनापश्चातको समयाबधिलाई । बिगतका भ्रष्टाचारीमाथि कारबाही गर्नु र भ्रष्टाचार नियन्त्रणको संयन्त्र तयार गर्नुको अलावा झन झन भ्रष्टाचार बढ्दो रुपमा देखा पार्नु, जेलमा परेका भ्रष्टहरुलाई समेत बाहिर ल्याउनु जस्ता संपूर्ण गतिबिधिले सो समय नेपाल र नेपालीको दुर्भाग्य मात्र नभएर इतिहासमै अति कलंकित समय साबित भयो भन्न हिचकिचाउने ठाउँ राखिदिएनन – यो नेपाल र नेपालीको लागि ठूलो दुर्भाग्य र अबहेलना थियो भने नेपाल र नेपालीमाथिको ठूलो खेलबाड र त नेपाली जनताले आफ्नो अन्तर्बेदनालाई छताछुल्ल पारिदिए बिगत संबिधान सभाको चुनाब मार्फत कसैले नचिताएको परिणाम दिएर ।

प्रजातन्त्र पुनर्स्थापना पस्चातको नेपालको राजनीतिमा देशले निस्चित दिशाबोध गर्न सक्ने संभाबित दुइवटा सुअबसर चुकायो: पहिलो थियो नेपाली कंग्रेसले स्पस्ट बहुमत प्राप्त गरेको बेला र दोस्रो तात्कालिन राजा तथा बर्तमान सामान्य नेपाली नागरिक ज्ञानेन्द्रले पार्टिहरुलाई पन्छाएर शासनको बागडोर आफ्नो हातमा लिएको बेलामा । नाताबाद, कृपाबाद, फरियाबाद, अन्याय, अत्याचार, भ्रस्टाचार, दुराचार आदिको बिरोध गरेर देशमा भएको प्रजातन्त्रको पुनर्बहालिपछिको चुनाबमा नेपाली कांग्रेसले स्पस्ट बहुमत हासिल गरेपस्चात उस्लाई निर्धक्कसंग सरकार चलाऊन कुनै कठिनाइ थिएन जे जस्ता किसिमका निर्णयहरु लिएर भने जस्तो किसिमले काम गर्नको लागि पनि समस्या नभएकोले । जन चाहना र देशको आवश्यकतानुरुपका निर्णयहरुलाई प्राथमिकता दिदै संयमताका साथ नेकाले देशमा केही गरेर देखाउन सकेको भए नेपालको ईतिहासमा कम्युनिस्टहरुको अवस्था कमजोर हुन्थ्यो भने नेकाको एकछत्र शासन चल्ने संभाबनालाई नकार्न मुस्किल पर्थ्यो । किनकि जनता सामान्यत कुन पार्टि अथवा शासन पद्धतितिर बढी झुकाब राख्छन भन्ने कुरा समय, परिपतिस्थि र अवस्थाले निर्धारण गर्ने कुरा हो । जनताको लागि त्यही पार्टी राम्रो हो जस्ले उनीहरुको लागि केही गर्न सक्छ । जब उनीहरुको आशामा तुषारापात हुन थाल्दछ त उनीहरुलाई पार्टी परिवर्तन गर्नु कुनै महाभारतको युद्ध हुँदैन ।

कुर्सी पाउने बित्तिकै त्यत्रो बर्षको त्याग र संघर्षलाई बिर्सेंर आफूलाई शाशक र जनतालाई शाशितको रुपमा लिन थाली जे जस्ता आरोप लगाएर पञ्चायत फालिएको थियो तिनैलाई झन डरलाग्दो भूत बनाएर जगाउने काम गर्न थाले । पञ्चायत कालमा भरमार कमाउने निस्चित ब्यक्तिहरु मात्र हुन्थे भने अब त सांसद र मन्त्री हुनेको त कुरै भएन उनीहरु कि त अप (अरबपती) कि त कप (करोडपती) नभए पप (पजेरोपती) त कतै नजा अनि उनीहरुका आसेपासे कम्तीमा लप (लखपती) । सबै नेताको तीन पुस्ते ईतिहास अधिकांश नेपालीलाई थाहा भएकोले उनीहरुको जीबनको छोटो अबधिमा आएको उतार चडाबको ग्राफ सर्बबिदितै छ – लुकाएर लुक्ने कुरो छैन ।

यसरी नेकाले नेपालमा आफ्नो एकछत्र शासन चल्न सक्ने बातावरण तयार गर्न सक्ने बातावरण हुँदाहुँदै पनि संयमता, राष्ट्रिय चिन्तन, खुला र बृहत सोंच र दूर दर्शिताको अभाबमा पार्टी र देश दुबैलाई लैजान सक्ने दिशातिर नलगेर बिपरीत दिशातिर जान पर्ने परिस्थिति सिर्जन गर्‍यो भने अझै सीमित ब्यक्तिमा भएको एक तमासको रबैया र सो रबैयाको खुलेर बिरोध गर्न नसक्ने प्रबृतिको कारण सो पार्टीले आगामी दिनमा भोग्न पर्ने समस्याको स्वरुप बुझ्नेहरुको लागि स्पस्ट छ । तर बिरालोको घाँटिमा घण्टी झुण्ड्याउने को त ? नेकाको भबिस्यप्रति साँच्चै चिन्ता लिनेले अब पनि घण्टी झुण्ड्याउने साहस गरेन भने त्यो निकै ढिला भैसक्नेछ र भबिस्यमा अनगिन्ती कम्युनिस्ट पार्टी जस्तै अनगिन्ती कंग्रेस बन्न सक्ने संभाबनालाई नकार्न सकिन्न ।

सरकारमा रहंदा रहंदै पनि अनायास प्रधानमन्त्री तथा गृहमन्त्री लगायत संपूर्ण मन्त्रिहरु नाटकीय ढंगले एकाएक नजरबन्दको अवस्थामा रहन पर्ने जुन अवस्थाको सिर्जना भयो त्यस्ले के प्रमाणित ग-यो भने सैनिक मात्र नभएर प्रहरी प्रशासनले पनि बिशेष परिस्थितीमा कस्तो किसिमको भूमिका निर्बाह गर्दो रहेछ त । त्यस किसिमबाट शाशनको बागडोर आफ्नो हातमा लिएपछिको राजनीति एक किसिमले सुनसान जस्तो देखिन्थ्यो – सबै पार्टिको सामूहिक कार्यक्रममा समेत जनसहभागिता निरासाजनक नै हुन्थ्यो । यस किसिमको परिस्थितिलाई तात्कालिन राजा ज्ञानेन्द्रले राजनैतिक पार्टिहरुप्रतिको बितृष्णताको रुपमा मात्र बुझे र आफ्नो दंभलाई अझ बढावा दिए । दरबार हत्याकाण्डबारे प्रकाशमा ल्याईेएका कुराहरु र तात्कालिन युबराज पारसप्रतिको जनधारणाको यथार्तता बुझ्दा बुझ्दै पनि नेपाली राजनीतिज्ञहरुले जनताहरुको आफूप्रतिको दृष्टिकोण बुझेरै पनि परिस्थिति र वाध्यताबस नबुझेको जस्तो गरेको जस्तै गरी परिस्थितिको राम्रोसंग बिस्लेषण गरी कार्यनीति बनाउनुको अलावा पेलेर लाने नीति अख्तियारी गरे । नपाउनुपर्ने राज्य शक्ति दोश्रो पटक हात परेकै थियो, राजनैतिक गतिबिधि झन्डै झन्डै शून्य प्राय: थियो, सैनिक र प्रहरी प्रशासन लगायत संपूर्ण प्रशासन भने अनुसार संचालन गर्न समस्या थिएन । यस्तो अवस्थामा राजा ज्ञानेन्द्रको एउटै ध्यान हुनुपर्थ्यो देशमा केही गरेर देखाउने – यस्को लागि अन्य राजनीतिक शक्तिहरुको तुलनामा आफ्नो चाहनानुरुप काम गर्न उनलाई धेरै सहज बातावरण थियो । यदि उन्ले यस किसिमको नीतिलाई अख्तियारी गरेर देशमा केही गरेका भए सपनै सपनामा बाँच्न वाध्य जनताको लागि “के खोज्छस कानो – आँखा” भैहाल्थ्यो । संभबत दरबार हत्याकाण्ड, पारसको गतिबिधि र राजनीतिप्रतिको एक किसिमको बितृष्णताको पीडाबोध बिस्तारै बिस्तारै कमी हुन थाल्थ्यो कि ।

तर त्यसो नभै जसो तसो चलिरहेको देश पुन: जसो तसोकै रुपमा नै चल्न थालेपछि जनता बेसाहर भए, पानी बिनाको माछा जस्तै भए । यस्तैमा तात्कालिन तेश्रो ठूलो पार्टीको रुपमा भएको पार्टीको एउटा सानो हिस्साले भूमिगत रुपमा शुरु गरेको आन्दोलन मार्फत दश बर्षको छोटो समयमा शुभ चिन्तकहरुको समेत आफू र आफ्ना कार्यकर्ताहरु सकाउने हो कि भन्ने शंकाको बाबजूद देशका यस्तै वास्तबिकताको मलजल पाएर कसैले नसोचेको किसिमले राष्ट्रिय स्तरमा आफ्नो संगठन र शक्ति निर्माण गर्न समर्थ माओबादीको साथ पाएर अन्य पार्टीहरुले आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउन पाए र दरबार पछाडि हटन वाध्य भयो । दरबारद्धारा र अझ कत्तिले त ज्ञानेन्द्रद्धारा सन्चालित भनिएको त्यही माओबादी त्यही दरबार र अझ उही ज्ञानेन्द्रलाई शक्तिहीन बनाउने निर्णायक शक्ति बन्न पुग्यो भने कसैले पनि नसोचेको संबिधान सभा निर्वाचन परिणामले गर्दा गणतन्त्र घोषणा गर्ने बेलासम्म पनि बिगतका कमी कमजोरीका कारण आफूहरुमा पर्न सक्ने संभाबित समस्याको त्रासले गर्दा संभाबित समस्याको संभाबनालाई कमजोर बनाउन च्याँखे थाप्ने र बल्छी हान्ने काममा लागिदिनाले गणतन्त्र घोषणा गर्ने कार्यमा धेरै ढिलाई गर्नु पर्ने परिस्थितीको सिर्जना भयो ।

देशको समस्या एकातिर छ भने चाहिने कामको लागि आफूलाई अपांग नै प्रमाणित गरिसकेका नेताहरु अझै पनि निर्लज्जतापूर्बक गर्न नहुने काम कुरो गर्दै हिंडेर पनि आँफैलाई सही देखाउने दुस्प्रयास गरी आफूलाई अझ कलंकित बनाउने बानीमा सुधार ल्याउने छाँटकाँट ल्याएको आभास पाउन सकिएको छैन । उनीहरु ठान्छन उनीहरुले बोलेपछि पत्रिकाले छापिहाल्छ, रेडियोले फुगी हाल्छ, टि भिले प्रसारण गरिहाल्छ अनि उनीहरुलाई आफू केही हुँ भन्ने घमण्ड बढाइदिन संधै पछि लागेर हिडने र जे बोले पनि ताली पिटने केही अन्धभक्त जमात छदै छ । धाकभन्दा धक्कु ठूलो हिडन लाग्यो खुट्टा लुलो भने झैं देश र जनताको आवश्यकतानुरुप केही गर्न नसके पनि ठूलो ठूलो कुरा गर्ने र आफूले कत्ति न लछारपाटो लगाए झैं अरुको हरेक काम कुरोको बिरोधको लागि बिरोध मात्रै गर्न खप्पिस नेता महाशयहरुले भ्यागुते उखान र बाँदर उखानलाई कहिलेसम्म चरितार्थ बनाएर देशलाई यथास्थितिमा जकड्याइराख्ने हुन थाहा छैन । अहिलेसम्मको गतिबिधिले के निस्कर्ष निकाल्न वाध्य हुन परेको छ भने आफूमा केही गर्ने हुति नभएको कारण अरुले केही गर्‍यो भने आफ्नो अस्तित्व समाप्त हुने भएकोले देशलाई जस्तोसुकै समस्यामा पारेर हुन्छ वा राष्ट्रिय अस्तित्वलाई नै खतरामा पार्न परे पनि उठाउनै नहुने मुद्दाहरु पनि उठाएर हुन्छ बिरोधको लागि बिरोध गर्नेभन्दा अर्को अर्थमा राजनीतिलाई हाम्रा राजनीतिकर्मीहरुले बुझ्न जानेकै छैनन, बुझ्न सकेकै छैनन । यही कार्य शैली र रणनीतिलाई अबलम्बन गरेर कुर्सीमा जाने र ब्यवसाय गर्ने नै उनीहरुको ध्यय हो । अहिलेसम्मको उनीहरुको गतिबिधिले यही देखाउँछ यही बुझाउँछ । यो भनाइमा नै पनि राजनीति गर्ने हो भने मात्र बल्ल बैकल्पिक बुझाई आउन सक्ला नत्र देखादेख दिनलाई रात कस्ले कसरी भन्लान र त । हुन त लिएको निर्णय फिर्ता लिन लगाउन पाएकैमा मात्र गर्ब गर्नेहरुले अरुले सेतो भन्यो कि त आफूले कालो भन्न नपाए निन्द्रा पो कसरी लाग्ला र त ?

देश अहिले अति कठीन अवस्थामा छ तर पनि कसैले लिनु पर्ने किसिमले चिन्ता लिएको पाइन्न । हुन त सबैले हरेक आफ्ना काम कुरामा देश र जनताको नाम लिने गर्छन् जसरी कि श्राद्धमा पुरेतले हरेक कुरामा मृतकको आवश्यकतासंग जोडी आफ्नो आबस्यक्ता पुरा गरिरहेको हुन्छ । देश र जनताको नाममा दिने उनीहरुको दुहाइ हात्तीको देखाउने दाँत मात्र हो, यथार्तता त त्यसैलाइ भर्याङ बनाएर कुर्सी हात पारी अहिलेसम्ममा सबभन्दा राम्रो ब्यवसाय भनेर प्रमाणित भएको ब्यवसाय सन्चालन गर्नु । संस्कारको रुप लिसकेको यस परिपाटीको अन्त्य त्यति सहज त छैन नै तर पनि यस्को अन्त्य बिना देशले निकास पाउँदैन पनि । यस्को लागि जनता आँफै अरु बढी सजग र सतर्क हुनुपर्छ । चस्मा नलगाइकन, साँगुरो कठघेराभित्र आफूलाई नराखिकन स्वबिबेकी बन्न सक्नु पर्छ जनता आँफै । के त्यस्तो ब्यक्ति छ जस्को पछाडि लाग्दा गौरबानुभूती होस, के त्यस्तो ब्यक्ति छ जस्को कुरामा विश्वाश गर्न सकियोस, के त्यस्तो ब्यक्ति छ जस्ले घरको भान्छेले झैं अरुलाई पहिले ख्वाएर पछि आफू खाने उदाहरण दिन सकोस । होइन भने केको लागि किन संधै अन्धभक्त भएर देश र आफ्ना साखा सन्ततिको भबिस्यलाई अन्धकारमा राख्ने गरी आफ्ना सामान्य तुच्छ स्वार्थको लागि मन लागी नलागी नाटक मन्चन गर्नेहरुलाई संधै बेहुला बनाएर आफू जन्ती भै राख्ने हो ? सही छैनन भन्ने बुझ्दा बुझ्दै पनि किन उनीहरुले जे बोले पनि ताली दिने, गर्नु पर्ने काम छाडी छाडी पछि पछि लागिदिने ? जबसम्म हामी आँफै पनि केही सोच्न सक्छौं, हामी आँफै पनि केही गर्न सक्छौं, हामी आँफै पनि केही बोल्न सक्छौं भन्ने भाबनाको बिकास गर्न सक्तैनौं तबसम्म हामी सधैं जन्ती बनी उनीहरुलाई आफ्नो ब्यापार गर्ने बातावरण बनाइदिराख्छौं । राजनीतिकर्मीहरुको त ध्यय नै हुन्छ कि सीधा साधा जनतालाई भर्याङ बनाएर आफू कसरी माथि पुग्ने भन्ने । उनीहरुलाई मात्र गाली गर्नुको पनि कुनै औचित्य देखिदैन सबै कुरो थाहा पाएर पनि सोच्दै नसोची आँखा चिम्लेर पछि पछि लागेर बानी बिगारिदिने नै हामी भएकोले । कुनै पसलेले बदमाशी गर्छ, ठग्छ भनेर बुझ्दाबुझ्दै पनि त्यही पसलमा नै सामान किन्न जान्छौं त उस्को ब्यापार किन फस्टाउँदैन ? अत: सबैले स्वबिबेक प्रयोग गर्ने बानी बसालेर देश र आफ्ना शाखा सन्ततिको भबिस्यलाई मध्यनजर राखी सीमित र क्षणिक स्वार्थको पछाडि नलाग्ने हो भने मात्र अहिलेसम्मको सबभन्दा राम्रो ब्यबसायको रुपमा प्रमाणित भएको राजनीतिले नयाँ मोड लिइ देशले एउटा निर्दिस्ट दिशा लिन सक्ने संभाबनाप्रति आश्वासत हुन सकिन्छ ।

 http://www.shrijana.com/000/?p=3559

http://www.mulbato.com/?p=2217

http://www.facebook.com/note.php?note_id=83061576275

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: