Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

मुसलमान प्रेमी (सिडनीकी सृष्टी भाग ३)

Posted by Ram Kumar Shrestha on April 18, 2010


By सानु घिमिरे, अस्ट्रेलिया

” सृष्टी! तिमीलाई मैले केही भन्नु छ” – कफी शपको म्यानेजर मुसाफिकले अंग्रेजीमा भन्यो ।” साँझ परिसकेको थियो, रातको नौ बजेको  थियो, तर रात भन्न मिल्दैनथ्यो । किनकि यो सिडनी हो, यतिबेला भर्खर मान्छेहरु घर बहिर निस्कन थालेका हुन्छन् र कफी खाँदै रात्रि जिवनको  शुरुवातमा अर्को पाइलो बढ़ाउँदै गरेका हुन्छन् । पसलमा ग्राहकको भीड़ केही कम भएको थियो । कफी शपभित्र भन्दा पनि बाहिर  पाल टाँगेका ठाउँमा कफीको चुस्की लिने ग्राहकहरुको भीड़ थियो । “केही काम पो बिग्रियो कि ?… कुनै चेतावनी दिनको लागि हुनसक्छ म्यानेजर  गंभीर  भएको ” । निमेषभरमा उसले यही सोची र टाउको उठाइ र प्रश्नसूचक आँखाले मुसाफिकलाई हेरी. …….”म तिमीलाई  प्रेम गर्छु “- मुसाफिकले सृष्टीको कानमा एउटा ठूलो बिस्फोट गरायो । गोरो, अग्लो, सलक्क नाक परेको, सुन्दर अनुहार भएको उन्तीस बर्षको मुसाफिक उसको अगाडि उभिएको थियो । पैतालामुनिको धर्ती नै खस्किए जस्तो भयो, कफी बनाउँदै गरेको कप सृष्टीको हातबाट अनायस भुइंमा  झर्यो र टुक्रा टुक्रा भयो । “लेबनिजहरु फटाहा हुन्छन्, होश गर्नू” – अस्ट्रेलियामा पाइला टेक्ने बित्तिकै उस्की सात बर्षदेखि अस्ट्रेलिया बसेकी भुक्तभोगी दिदीले भनेकी संझन पुगी ।

“के मुसफिक फटाहा हो ? के ऊ उसको कफीशॉपमा काम गर्नुको फाइदा लिन चाहन्छ?…”- सृष्टीको मनमा प्रश्नहरु स्वाभाबिक रुपमा एकपछि अर्को गर्दै आउन थाल्छ । काम नपाएर सिडनीमा बाँच्न नै गार्हो परेको बेलामा एकपल्ट सोध्ने बितीकै मुसाफिकले सृष्टीलाई काम दिएको थियो ।  त्यस्को लागि सृष्टीले भगवानलाई धन्यबाद दिएकी थिई ।

“सरी, आइ एम रेअल्ली सरी”- आत्तिदै ऊ कपका टुक्राहरु उठाउन थाली । मुसाफिकले उसलाई हातले सहारा दिदै उठायो, र छेउको कुर्सीमा  बसायो र कुनै  चिन्ता नलिन भन्यो । रातो  निलो भएको अनुहार लिएर सृष्टी कुर्सिमा बसी । मुसाफिकले कपका टुक्राहरु उठायो र भुइंमा मोप लगायो …..”म तिमीलाई साँचो प्रेम गर्छु” – उसले मनको बाँध भत्काउदै गयो ….”तिमीसंग मलाई पहिलो नजरको प्रेम बस्यो .. तिमीलाई देख्ने बित्तिकै मलाई महसूश भयो कि तिमी नै मेरो अन्तिम गंतब्य हौ ..”…..सृष्टीले केहि बोल्नु अघि नै एउटा ग्राहक आयो र  दुईवटा क्यापचिनो आर्डर गरेर बाहिर बस्यो । सृष्टी उठ्न खोजी, मुसाफिकले बसिराख भनेर हातले इशारा गर्यो । कफीको अर्डर पुरा  गरिसकेपछि मुसाफिक सृष्टीको छेउमा आयो र फेरि प्रेम याचना गर्न थाल्यो – “के तिमी पनि मेरो बारेमा सोच्छ्यौ ? तिमीमा मप्रति कुनै भावना छ?”
“छैन, तिमी मेरो बोस मात्र हौ” – सृष्टीले ठाडो उत्तर दिई ।
” बोस होइन साथी भन, तिमी मेरो कामदार मात्र होइनौ” – मुसाफिक बढ़ी अनौपचारिक हुन खोज्यो ।
” तर तिमी मेरोलागि बोस मात्र हौ – म बिद्यार्थी हुँ, मैले कलेजको फी तिर्नु पर्छ, मैले अस्ट्रेलियामा बाँच्नु पर्छ । त्यही भएर मलाई काम   चाहिएको  छ । म तिमीकंहा पैसाको लागि काम गर्छु, कृपयाँ तिमी मेरो बारेमा अरु केही नसोंच” – सृष्टी चिच्याई ।
शान्त हौ भन्दै मुसाफिकले सृष्टीलाई मन पर्ने Flat latte ल्य़ाएर हातमा थमाइ दियो ।

“रिल्याक्स” भनेर धपक्क बलेको अनुहार लिएर ऊ पसलबाट हिडेपछि मनको एउटा गरुङो भारी चौतारीमा बिसाए जस्तै भयो सृष्टीलाई ।  ग्राहकहरु धमाधम आउन शुरु भयो । मुसुक्क मुस्काएर औपचारिक ‘अभिबादन’ भन्नु, मतलबै नभए पनि ‘कस्तो छौ’ भनेर ग्राहकलाई  सोध्नु, पैसा लिनु, कफी बनाएर दिनु अनि ‘तिम्रो साँझ सुखमय होस’ भनेर बिदा गर्नु – सृष्टी बिल्कुलै प्रोग्राम सेट गरिएको मेसिन जस्ती  भएकी थिई । ….. मुसाफिकले सुनामी ल्याईदिएर गएको थियो, मनका कति रहरहरु डुबे, कति बिचारहरुको पर्खाल लड्यो, कति गाउँ शहरहरु बगेर गए, एकपल्ट सरसर्ती हेर्ने फुर्सद नै उसलाई कहाँ थियो र? यो त सिडनी हो । ब्यापारिक महानगरको अति ब्यस्त कफी शपमा काम गर्ने ऊ एउटी नेपाली केटी हो ।
पसल बन्द गर्ने बेलामा मुसाफिक आयो । सृष्टी मन लागी नलागी ‘शुभरात्रि’ भनेर हिडी ।
“पर्ख ” – पछाडिबाट मुसाफिकले करायो ।
सृष्टी रिकिन वाध्य भई ।
“म तिमीलाई घरसम्म छोड़ीदिन्छु”
“पर्देन, म ट्रेन समात्छु”
“त्यसो भए ट्रेन स्टेसनसम्म छोडिदिन्छु”
“पाँच मिनट पनि लाग्दैन, म हिडेर जान्छु” – सृष्टी लमक लमक लम्की ।
रातमा निंद्रा आउन ढीला भयो, मुसलमान, लेबनिज, मस्जिद, बुर्का धेरै कुराहरु सृष्टीको दिमागमा घुमिरह्यो ।
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

अर्को दिन काममा जाउँ कि नजाउँ भैइरहदा मुसाफिकको मेसेज आयो – “पसलमा धेरै भीड़ छ, म एक्लै छु, अल्लाहको लागि तिमी आइदेऊ ।”
काम गर्नु नै थियो, यथार्थताको जमीनबाट भागेर ऊ उडन सक्दिन थिई, दुई दिनपछि कोठाको भाडा तिर्नु छ, कलेज फी पनि जोहो गर्नै पर्यो, भन्ने बित्तिकै सिड्नीमा काम कहाँ पाइन्छ र ? त्यसैले सृष्टी पसलमा पुगी । शुक्रबारको दिन साँच्ची नै पसल भीड़ थियो । राति दश बजेतिर पानी पर्यो र ग्राहकको भीड़ अलिक कम भयो । हुन त गाडीमा सयर गर्ने यो शहरका निबासीहरुलाई घाम, पानी, हिउँ केहीले पनि कहिले  पनि असर गर्दैन नै । दिनभरि गोरु जोतिए जस्तो गरी काम गर्नु अनि शुक्रबार रातीदेखि आइतबारसम्म पाँच दिन काम गरेर कमाएको पैसा सबै  सकिने गरी खर्च गर्नु यिनीहरुको संस्कृति हो । फुर्सद हुने बित्तीकै मुसाफिक  सृष्टीको छेउमा आयो, सृष्टीलाई मन पर्ने Flat latte बनाएर  हातमा थमाइ दियो, आफूलाई चाहि कालो कफी बनायो ।
“सृष्टी! गम्भिर भएर सोंच, म तिमीलाई साँच्चै माया गर्छु” – मुसाफिकले आफ्नो छातीमा हात राखेर भन्यो – “म तिमीलाई लेबनान  लान्न, सिड्नीमै राख्छु, मैले भर्खरै एउटा घर पनि किनेको छु, हामी भाईहरुसंग पनि बस्दैनौ, तिमी र म छुट्टै घरमा बसुँला” – उस्ले   सपनाको लहरों सुनायो…..”केटा मान्छेहरु बहुला हुन्छन”- सृष्टीको आफ्नै अनुभूति थियो, र आज अर्को बहुला उसको सामु बडबड़ाइरहेको   छ…….उमेरको उचाइ चढ्दै गएपछि एउटी केटी मान्छेलाई एकल जिन्दगी बाँच्न जुनसुकै देशमा गए पनि गार्हो हुँदो रहेछ  ……
“कसरी तिमी मेरोबारेमा सोंच्न सक्छौ ?” – सृष्टीले दिक्क मान्दै सोधी । “म हिन्दू हुँ, तिमी मुसलमान, म नेपाली हुँ तिमी लेबनिज ।”
“केही फरक पर्देन, हामी अब दुबै अस्ट्रेलियन हौ, बरु तिमी पनि मुसलमान बन ।”
“के?” सृष्टी आत्तिई ।
“हो तिमी पनि मुसलमान बन”- मुसाफिकले फुरुंग पर्दै भनिरह्यो – “सजिलो छ, केही गर्नु पर्दैन, मस्जिद हिड, म तिम्रो धर्म परिबर्तन गराइदिन्छु ।”

“मैले तिमीलाई हिन्दू बन भनें भने ?”- सृष्टीले साहस बटुलेर सोधी ।
“म हिन्दू बन्न सक्तिन्न” – मुसाफिक दृढ भयो ।
“म पनि मुसलमान बन्न सक्तिन्न” – सृष्टी पनि दृढ भई ।
आँशु चुहिएला जस्तो गरेर मुसाफिक बाहिर निस्कियो, सृष्टीको टाउको पनि तात्तिदै गयो ।
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

दिनहरु बिती नै रहे । काठमांडूमा भन्दा यो शहरमा दिन चाडो बित्छ – सिड्नीमा पाँच दिनको एक हप्ता हुन्छ, दुई दिन सप्ताहन्त छुट्टी ……हप्ता मर्ने बित्तिकै पैसा आउँछ र त्यसै गरि पैसा जान्छ पनि, कसरी बित्छन दिनहरु,थाहै हुदैन……… नेपालबाट आज यो चाड, भोली त्यों चाड भन्ने खबर टेलीफोनमा सुनेपछि मात्र थाहा हुन्छ कि दशै आएछ, तिहार आएछ, फागुन लागेछ ….कलेज गयो, कफी शपमा काम गर्यो, यत्तिकै बिते सृष्टीका दिनहरु ………पसलमा मुसाफिकसंगै थुप्रैपल्ट सृष्टीले काम गर्नु परिरह्यो । केही भएकै छैन जस्तै गरेर अभिनय गर्न ऊ सीपालु भएकी थिई ।
जिन्दगीको पहिलो प्रेमको अनुभूति अर्कै थियो । प्रेम प्रस्ताब स्विकार्नु अगाडि र स्विकारेपछि पनि थुप्रै महिनासम्म उसले त्यों केटाको अनुहार हेर्न सकेकी थिइन । केटा सामु पर्ने बित्तिकै ऊ लाजले पानी पानी हुन्थी …….ती कुरा सम्झिंदा आज पनि उसको अनुहार रातो भयो….त्यों  जीवनको एउटा परिच्छेद थियो – त्यों पहिलो प्रेम थियो । र थियोमा लागेर त्यों सबै बिगत बनिसकेको छ । आज उसको सामु बर्तमान छ ।  बिल्कुलै फरक दुनियाको अर्को जात , धर्म र संस्कृतिमा हुर्कीएको मुसाफिक उसको सामुन्ने छ, प्रेम प्रस्ताबक ।
धेरै कुरामा समानता छ …..पहिलो प्रेमी पनि सहकर्मी  …..मुसाफिक पनि …… ती दुबैलाई मन पर्ने सृष्टीको आँखा….. . पहिलो नजरमा प्रेम बस्यो दुबैको  रटान…… .पहिलो प्रेमलाई बिबाहमा परिणत गरेर सफलताको झंडा उठाउनु दुबैको उद्देश्य ……..अनि यो शहरले सृष्टीलाई कुशल अभिनेत्री  बनाइदिएको छ, ऊ केही थाहा नपाएजस्तो गरेर मुसाफिकको अगाडी निर्धक्क उभिन सक्छे, खुरूखुरू काम गर्न  सक्छे, हाँसेर अभिबादन गर्न सक्छे, संगै बसेर कफी पिउन सक्छे ।

र एउटा साँझ मुसाफिक छताछुल्ल भयो – “म तिमीलाई साँचो प्रेम गर्छु, अब अरु नाटक नगर, मलाई जबाफ चाहिन्छ ।”
मेरो जबाफ पुरानै हो भनेर सृष्टीले मुसाफिकलाई मन पर्ने कढा कालो कफी हातमा राखी दी ।
“म सक्तिन्न अब बेसी सहन, म सक्तिन्न तिम्रो संघर्ष देख्न, यो धपेडीपूर्ण जीवनको अंत गरिदेऊ, मेरो जातको आईमाई मान्छेहरु यसरी काम गर्दैनन,आऊ म तिमीलाई सुखसंग राख्छु – तिमी घरमा बस, कलेज जाऊ, म ब्यापार गर्छु, पैसा कमाउँछु, तिमीले मरि मरि काम गर्नै पर्दैन ,- म तिम्रो दुःख देख्न सक्तिन्न सृष्टी”
मलाई यो जीवनसंग गुनासो छैन, म स्वतंत्र भएर काम गरेर खान्छु, तिमी यसको अनर्थ नलगाऊ भनेर सृष्टी उसको अगाडि उभी रही ….यो पल्ट सृष्टीको हातबाट कप खसेर फुटेन, न उस्को बोली  कामेको थियो, न उस्को अनुहारको रंग परिबर्तन भएको थियो ।
” बिस्तारै तिम्रो  मप्रतिको आकर्षण घटेर जानेछ प्रतिक्षा गर “- सृष्टीले भनी ।
” होइन, बरु दिनदिनै बढिरहेको छ, म अब अरु पर्खिन सक्तिन्न, तिमीलाई केले रोकेको छ ?”- मुसाफिकले कफी सुरुप्प पारेर भन्यो – “हिड म नेपाल जान्छु र तिम्रो अभिभावकसंग तिमीलाई माग्छु ।”
” म तिमीलाई प्रेम गर्दिन”। सृष्टीले उत्तर दिई ।
“किन?”
“मलाई अनुभूति भएकै छैन ”
“कति तडपाउँछौ?”
सृष्टी केही बोलिन ।
” म तिमीलाई बिर्सेर बाँच्न सक्तिन्न”-  मुसाफिकको स्वर ठूलो भयो ।
यो पसल हो, नचिच्याऊ भनेर सृष्टी कफी मेसिन सफा गर्न थाली । भोलीपल्ट सृष्टी पसल गइन, मुसाफिकले मेसेज पठायो । सृष्टीले तिमीलाई गार्हो हुन्छ भने म काम गर्न आउँदिन्न भनेर प्रत्युत्तर दिएपछि मुसाफिकले माफ़ी माग्यो र आइन्दा केही नभन्ने बाचा गर्यो ।

xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

पहिलो प्रेमीको फगत आकर्षणभित्र चर्किएको मुटु, दोश्रो प्रेमीको दोश्रो रुपबाट टुक्रीएको मुटु अनि तेस्रो प्रेमीको अंहकारबाट धुजा धुजा भएको मुटु, कहीकतै मुसाफिकको लागि धड्किने एक टुक्रा सग्लो मुटु नै कहाँ बाकि थियो र सृष्टीसंग ? संग्लो प्रेम खोज्दा पटक पटक लडनु परेको पीड़ा, अब खोज्न हिम्मत थिएन न त स्वीकार्न .. यौवनको पूर्णयाममा ऊ सुकेको फूल हुदै गएकी थिई….कमलो भावना बग्ने झरना कतै बिलाएको थियो, बाँकि थियो मात्र एउटा निर्जन पहाड़, आँधी हुरी चल्दा उसको छातीबाट ढुंगाहरु छरिन्थे र अरूलाई घाइते बनाउथे । ऊ स्वपीड़क र परपीडक दुबै भएकी थिई ।
समाजका परम्पराहरु नटेरेर आफ्नै सुरमा उड़ने ऊ मुसाफिकको सुन्दर घरभित्र कैद हुन सक्तिनथी ।
जिन्दगीका फरक फरक दृश्यहरुमा चट्टान जस्तै  गरेर उभिने उसको स्वभाब कालो घर्लप्प परेको गाउनभित्र लुक्न सक्तैनथ्यो । संसारलाई आफ्ना आँखाहरुले हेरेर नियालेर मात्र आत्मसात गर्ने उसका नजरहरू बुर्काभित्र सिमित हुन सक्तैनथे….अनि मुसाफिकको प्रेम ? मुसाफिकको  पागलपन थियो त त्यों ?
निर्णय गर्ने जिम्मा समयलाई दिएर सृष्टीले सिड्नीको गर्मीलाई  समुन्द्रको किनारामा टहल्दै बिताईदी र गर्मी सकिएर जाड़ो लाग्दै गरेको बेला एउटा साँझ मुसाफिक गलेको अनुहार लिएर फेरि सृष्टीको सामु आयो – ” सृष्टी! म सदाको लागि लेबनान जादैछु”
“किन ?”
“यो कफीशप अबदेखि अब्दुल (उसको भाई) ले चलाउँछ । जबसम्म सिड्नीमा बस्छौ, यो कफीशपलाई आफ्नै सम्झिएर काम गर्नू, तिमीलाई कसैले केही भन्ने छैन । ……. ”
मुसाफिक बोलीरहेको थियो, तर सृष्टीको कानमा म सदाको लागि लेबनान जाँदैछु भन्ने बाक्य मात्र ठोकिईरहेको थियो ।
“तिम्रो घर ?”
“बेचीं दिएँ”

“तिमी ?”
“म जाँदै छु भोली”
“भोली  नै ?”
” मेरो भोली तीन बजेको  फ्लाइट छ, तिमी आउने भयौ भने किवा( अब्दुलकी प्रेमिका ) लाई फोन गर्नू । तिमी आयौ भने मलाई खुसी लाग्नेछ ।” – यति भनि सक्दा मुसाफिकको आँखाबाट आशु झरिसकेको थियो, शब्दहरु हिक्क हिक्कका साथ  थर्किदै निस्किरहेका थिए…..आज अर्को  लोग्ने मान्छे सृष्टीको अगाडी रोयो । प्रेम भनेको यौवनकालको सबैभन्दा ठूलो रोदन हो । मुसाफिकले आँसु तरर चुहायो ……सृष्टीले भाबुक भएर न त आँशु पुछन नै सकी, न त संगै आँशु चुहाउन नै ।
तिमीलाई उपहार भनेर मुसाफिकले एउटा रंगीचंगी झोला सृष्टीको हातमा राखिदियो र हिड्यो….घरमा आएपछि उसले झोला खोली, कालो , सेतो  र  रातो रंगको तीनवटा सलहरु रहेछन ।
“बुर्का”- सृष्टीको मुखबाट अनायाशै प्रस्फुटित भयो यो शब्द …-“यो हाम्रो पहिचान हो, यो हाम्रो अस्तित्व हो” – किवाले कुनै दिन सलको बारेमा कुरा हुदा भनेकी थिई ।

xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

भोली भयो, हुनु नै थियो । सृष्टी कलेजबाट फर्किदा दिउसोको एक बजिसकेको थियो…अब दुई घंटापछि मुसाफिक अस्ट्रेलिया सधैको लागि छोडेर जाँदैछ …….मन एकतमासको भयो ।
के दौडिदै एअरपोर्टमा गएर मुसाफिकलाई नजाऊ भनुँ ?…..ऊ गएन भने के ऊसंग बिहे गरेर बस्न सकिन्छ ?….अनि नेपाल ?………..अनि बा आमा ?……समाज ?……आजन्म मुसाफिकको श्रीमती भएर जीवनका बाँकि सपनाहरू जलाउन सम्भब छ?…… फेरि मुसाफिक किन रोयो ?……… किन मुसाफिकले ऑस्ट्रेलिया छोडेर गयो ?……..के उसको प्रेम साँचो हो ? ….. साँचो प्रेम हो भने म किन पग्लिन?……………..  के अब म कसैलाई प्रेम गर्न सक्तिन्न ? के म कठोर भैसकें ?
मनोबादमा रुमल्लिंदा रुमल्लिंदै सृष्टीले दिउँसोको खाना खान बिर्सी… . ओछ्यानमा पल्टीएर सोंच्दा सोंच्दै ऊ झपक्क निदाई…. उठदा तीन बज्न लागेको थियो… टिंग टिंग टिंग – भित्ताको घड़ीमा तीन बज्यो, मुसाफिक चढेको प्लेनमा पनि टिंग टिंग टिंग गरेर तीन पल्ट घंटी बजेर  उड़ने  अन्तिम  संकेत  दियो ।
बाहिर  पानी  परिरहेको थियो । पानी पर्न र घाम लाग्न यो शहरमा कुनै बेर लाग्दैन, हाम्रो जिन्दगी जस्तै अनिश्चित छ मौसम ।
“मुसाफिकको  आँखाबाट  पनि  झरी दर्की रहेको होला” – अनुमान गर्न पुगी ऊ ।
सृष्टीको मनमा बादल मडारीरहेको थियो ।
रुझेको आकाश, रुझेको मन, बादलले छोपेको आकाश, बादलले ढाकेको मन, गड्यांग गुडूंग अस्तित्व, गड्यांग गुडूंग जिन्दगी ।
पानी  रोकिएपछि आकाश खुल्छ भन्ने सत्यको आशामा सृष्टीले खुइय… गरी – उसको  हातमा  मुसाफिकले  दिएको  सलहरू हाबाको झोकामा फुररर…… गरिरहेका थिए ….मुसाफिकसंगको स्मृति जस्तै ।

Advertisements

One Response to “मुसलमान प्रेमी (सिडनीकी सृष्टी भाग ३)”

  1. Dibya said

    कथा राम्रो छ है सानुजी, अरु पनि लेख्दै गर्नु होला ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: