Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

नयाँ नेपाली राजनैतिक शव्दकोष

Posted by Ram Kumar Shrestha on September 9, 2010


(कबी मधु माधुर्यले देशको राजनीतिक अस्तब्यस्तता र सदाबहार गाइजात्राका कारण दिक्क भएर “नयाँ नेपाली राजनैतिक शव्दकोष” को थालनी गर्नु भएको छ सामाजिक सन्जाल फेसबुक मार्फत हिजोदेखि मात्र । यहाँहरुलाई पनि यस्मा सहभागी हुन इच्छा लागेको खण्डमा सहभागी हुन सक्नुहुन्छ । यो सबैको लागि खुल्ला हो – आफूलाई लागेका शब्दवली दिन सक्नुहुन्छ )

नयाँ नेपाली राजनैतिक शव्दकोष-सहलेखनको लागि हार्दिक आव्हान

परिवर्तन संसारको नियम हो | कुनै पनि देशको परिस्थिति, परिवेश, काल वा समयानुरुप त्यहाको भाषा, शव्द र शैली परिवर्तन हुनु स्वाभाविकै छ | धेरै राजनैतिक क्रान्ति, आन्दोलन र द्वन्द्दहरु पार गरेर आजको दिनसम्म आइपुग्दा नेपालका केहि चलन-चल्तीका (विशेषत: राजनैतिक ) शव्दहरुले मूल अर्थ गुमाएर नौलो शाव्दिक अर्थ अंगाल्न पुगेका छन् | नेपाली ‘राजनीती (?)’मा चलेको बहुशृंखले गाईजात्रा हेर्दा शव्दकोश सच्याउन ढिला भईसकेको अनुभूति भैरहेछ | तपाईंहरु सबैको योगदानको अपेक्षा गर्दै हामी अनलाइनबासीहरुले नेपाली जनमानसमा नयाँ परिभाषा बोक्दै हिडेका शव्दहरु संकलन गरी नयाँ नेपालको नयाँ राजनैतिक शब्दकोशको वेटा-भर्सन प्रस्तुत गर्न गइरहेका छौं | हुन त यो काम प्रज्ञा प्रतिस्ठान वा त्यो सरहको उच्च संघ-संस्थाले उहिले नै सम्पन्न गरी जनचेतना उजागर गर्नु पर्ने हो, तर टीका लगाउने परिपाटीले तिनीहरु पनि नेपालको गुप्तचर संस्थाकै हाराहारीमा पुगेको आभास हुन लागेकोले यो काम स्वतन्त्र निकायबाट हुनुपर्ने देखिन्छ |

संकलित नेपाली शव्द र तिनका समसामयिक अर्थ :

संबिधान = ६०१ जना सभासदले जति वर्ष लगाए पनि लेख्नै नसक्ने नेपालको कानुनी-मस्यौदा वा रास्ट्रिय विधान ;
कर्मचारी = देशको स्रोत र साधनलाइ आफ्नो बाउको पेवा सम्झने व्यक्ति विशेष ;

सभासद = संबिधान लेख्छु भनी ढाँटदै देशको ढुकुटी रित्याउने बथानको निकम्मा सदस्य;

पार्टी = १. उत्तर , दक्षिण वा अन्य कुनै दिशाको संकेत बमोजिम जसोजसो बाहुन बाजे उसै उसै स्वाहा गर्नेहरुको दल;  २. अपराधलाई कानुनी मान्यता दिने थलो;

तठस्थ बस्नु = कुनै पनि खालको निर्णय दिन असमर्थ हुनु;
कम्युनिष्ट ‍‌‍= घोषित सिद्धान्त र लक्षप्रति निष्ठा नभएको गन्तव्यहीन राजनैतिक व्यक्ति ;
तठस्थता = विगत संसदीय कालमा सुत्केरी भत्ता खाएकोले लिंगमा आएको परिबर्तन;

नेता= पद वा कुर्सिबिना एकै क्षण पनि बाँच्न नसक्ने भ्रष्ट, घुसखोरी, ढंटुवा, लेन्डुप-अवतार;

नेपाली जनता = जसले जे गरे पनि किंकर्तव्यबिमुढ़ भएर जे पनि सहन सक्ने बहादुर निरिह प्राणी वा कवि;

नेपाल = दशगजा चोरिएर साँघुरिएको एउटा भौगोलिक क्षेत्र जहाँ जहिले पनि सगरमाथा पग्लेर आँशुको नदि बग्ने र रगतको तलाउ जम्ने खतरा रहिरहन्छ ….

चुनाव= खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रजातान्त्रिक प्रक्रिया जुनबेला भोट र नोट को माने यौटै हुन्छ ;

विदेशी दुतावास = हाम्रा स्वदेशी नेताहरु नमरुन भनी राहत र गोप्य निर्देशन बाँड्ने कुटनैतिक संस्था;

सिंहदरबार = नेपालस्थित रोबोट-भवन जहाँ कुनै पनि बेला देश सकिएको मुचुल्का तयार हुन सक्छ;

सडक= फोहोरमैला व्यबस्थापन सम्बद्ध खुला डम्पिंग-साइट जहाँ मान्छे, गाडी र गोरु ओहोर-दोहोर गराउन जिउँदो ट्राफिकको समेत व्यवस्था गरिएको हुन्छ;

भोट = नोटको नक्कली रुप जो नेपाल र नेपालीको हित बाहेक अरु कसैकोलागि प्रयोग गरिन्छ;

मन्त्री = अंगरक्षक सहित पजेरोमा गुडेर भाषण छाँटदै देशको ढुकुटी रित्याउने थप अख्तियारप्राप्त नेता;

राजनैतिक कार्यकर्ता = नैतिकताहीन नेताका झोला बोक्ने हनुमानहरुको जमात;

लोकतन्त्र ‍‍= लोकहित विपरित राजनैतिक दल र नेताहरुको मनपरी तन्त्र;

प्रजातन्त्र = १.  संसदलाई खरिद- बिक्री गरेरै भएपनि बहुमत पुरयाउनु पर्ने व्यवस्था ; २. नियम-सियम मिलेमा “चुनाबमा हारेकाहरुले पनि शासन गर्न मिल्छ” भन्ने २१ औ शताब्दीको  नेपाली संस्कर;

गणतन्त्र = बिग्रिएको पूर्वयुवराजलाई सही ठाउँमा ल्याउने ब्यबस्था;
राष्ट्रीयता = १. छिमेकीको अन्धाधुन्ध गुलामी; २.पहिलो “भ्रमण” जहाँ भएपनि “पहिलो धाम” दक्षिण नै हो भन्ने पछिल्लो संस्करण;

संघियता = आ-आफ्नो दलको पकड बलियो बनाउने उद्धेश्य सहित दलहरुद्वारा निर्माण गरिने नयाँ राज्य संरचनाको प्रारुप;

शहीद = राज्यसत्ता प्राप्त गर्न नेताहरुले चालेका चलाखीपूर्ण राजनैतिक गोटिमा बनाइएका बलिका बोकाहरु;

सहमति= कुर्सी भागबण्डा वा बाँडचुँडकोलागी हुने आपसी मिलेमतो

राजनैतिक सहमती = तारे होटल र मन्त्री तथा नेताहरुको घरमा आयोजना गरिने मदिरा पार्टीमा बिदेशी ह्विस्कीको नसा छउन्जेल एक अर्काप्रति ब्यक्त गरिने राजनैतिक बचनबद्धता;

मानवाधिकार = १. नेताहरुको लागि मात्र भाषणको विषयवस्तु अरुको लागि हात्तीको देखाउँने दाँत; २. मानवाधिकारबादीको अहम र चित्तमा कस्तो खालको धक्का लाग्छ सोहि अनुसार परिभाषित हुने शब्द

सम्झौता = १. आज ल्याप्चे लायो भोली पालना नगरे पनि हुने कागजको खोस्टो; २. आफुले गरे “ऐतिहासिक” अरुले गरे “गद्धारी” हुने बिषय ;
संबिधान सभा भवन = बाह्रैमास गाईजात्रा प्रदर्शन हुने ठाउँ;

घुस= कुनै पनि काम फत्ते गर्न लाग्ने वास्तविक मूल-शुल्क;

प्रभु ‍‌= नेपालको सर्वमान्य तर अदृष्य शासक;

फोरम = एक मधेश एक भारतको लक्ष्य-यात्रा;

नेपाली सेना = १. नयाँ उदीयमान रास्ट्रीय पार्टीको रुपमा लम्किरहेको सेतो हात्ती जो नेपाली जनताको दानापानिमा पालिएको छ ; २. सलामी, गुलामी र मलामी गर्ने मालिक नपाएर अनाथ भएको बालक;

देशभक्ति = पुच्छर दक्षिणतर्फ हल्लाउदै नेपालमा हस्तक्षप भयो भनी वान कि मुन र अनमिनको विरोध गर्न सक्ने स्वावालम्बिता ;

दिल्ली = १. नेपाली राजनीतिज्ञकोलागी पवित्र तिर्थस्थल वा बिशेष अस्पताल; २. एक खिल्ली चुरोट भन्दा सानो चित्त भएका सिल्लीहरुको राजधानी ;

राष्ट्रिय सहमति = राजाद्वारा  लात्ती हानेर पाखा लगाइएका  संसदबादी रुन्चे र जंगलमा युद्ध लड्दा-लड्दै केकोलागि लडिएछ  भन्ने ज्ञान गुमभएकाहरु बीचको ऐतिहासिक मिलाप;

समाजसेवी = घरका मान्छेलाई रुवाएर  मन्दिर निर्माण गर्ने महानुभावहरु ;

संचारक्षेत्र = देशको अस्मितामाथि भएका काम कुरोमा बोल्न डराउने र नेताहरुको भाषणहरु छाप्ने काममा नै गर्ब गर्ने निकाय;

संसद = १. आफ्नो तलब भत्ता बढाउन एकमत हुने, तर देशको भत्ता बढाउनु पर्यों भने विवाद गर्ने थलो; २. खरिदको लागि प्राप्त मोटो रकममा रयाल चुहिए पनि मालिकले भकुर्ला  भनी डराएको मान्छे;

बुद्धिजीबि = देश र समाजको लागि बोल्न/गर्न डराउने, तर सर्टिफिकेटको बिज्ञापन गर्दै आफ्नो दुनो मात्र सोझ्याउने बर्ग;

प्रजातन्त्रबादी = आफ्नो अनुकूल नभए राष्ट्रपतिको बारेमा समेत संसदमा छलफल गर्न नपाउने नजीर बसाउने पार्टी; निर्बाचनलाई अर्थहीन बनाउँदै सरकारमा चुनाबबाट पराजित भएकाहरुको बाहुल्यता बनाउन भूमिका निर्बाह गर्ने पार्टी ;

आन्तरिक मामलामा हस्तक्षेप = बुद्ध र सगरमाथालाई अरुले दाबी गर्दा, करोडौं लगाएर नक्कली लुम्बिनीको अधिकांश कार्य पुरा भैसक्ता, सीमाना अतिक्रमण हुँदा, हतियार सहित बिदेशी सुरक्षा दस्ता देशमा आउँदा, नेपाली भू-भागमा नेपालीमाथि अनेकन अमानबीय कार्य हुँदा सह्य हुने तर रास्ट्रीय संयुक्त सरकारको लागि कसैले सुझाब दिंदा असह्य हुने नयाँ नीति;

नेपाल सरकार = भ्रस्ट, कालाबजारिया, जनताद्धारा नरुचाइए पनि अदृस्य शक्तिको भक्त भएपछि पुग्ने र दादागिरी गर्नेहरुको रजाइ-स्थल ;

विकास = नेता, कर्मचारी र दातृसंस्था मोटाउने तर राष्ट्र सुक्ने दीर्घरोग ;

टुकुचा = नेपाली राजनीतिक मार्ग ;

ढल ‍= पवित्र घोषित बागमती;
काठमाण्डौ ‍= १. काकाकुल बस्ती जो ” हाईपोथेटिकल ” राजाको हल्ला गर्दै हिंडीरहेछ ; २. जिल्लाहरुको रेमिटान्स ब्याजमा लगाएर भुडी धाड़ने साहु ;
माकुने= नेपालको अहिलेसम्मको इतिहासमा सबैभन्दा भाग्यमानी ब्यक्ति, सबभन्दा राम्रो नयाँ आशिर्बाद (भाग्य होस त माकुनेको जस्तो);
धमला = माकुने सरकारको लागि सबैभन्दा महत्वपूर्ण ब्यक्ति; ज्यान मार्ने उद्योग, फिरौतीको अभियोग लगाइएको भए तापनि मन्त्रिपरिषद बैठकमा गृहमन्त्री भीम रावलले मुद्धा फिर्ता लिने प्रस्ताव राखिएको ब्यक्ति जस्लाई तत्पस्चात नै बर्तमान सरकारले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्रीको कोटामा अमेरिका लिएर गइएको;
देश र जनता = हरेक पार्टीको लागि घाँडो तर पनि देखाउनकै लागि पनि जप्नै पर्ने मन्त्र;
गच्छेदार = नेपाली कांग्रेसको तर्फबाट प्लेन हाइज्याक गर्दा आँखा मात्र गडबडी भएको देखिए पनि दिमाग समेत गडबडी भएको जस्ले गर्दा आफ्नो लिंग समेत छुट्याउन नसकेर पुरुष नै भए पनि सुत्केरी भत्ता नै पनि हसुर्ने ब्यक्ति;
विद्या भण्डारी = आफ्नै श्रीमानको हत्याराको मतियार हुने महान नेपाली महिला;
जीवन = (मुट्ठी भरका हुनेखानेकालागी 🙂 तारे होटलबास, चिल्लो गाडी चिप्लाई, ऐस-आराम, विदेश-भ्रमणआदिको असैह्य झन्झट, (बाँकि सर्वसाधारणकालागि 🙂 अभाव, अशान्ति, दु:ख-सन्ताप, अश्रु- भवसागर आदिको नियमित साक्षात्कार;

इतिहास = युद्ध, द्वन्द, असमान सन्धि, रहस्यमय हत्या, क्रान्ति, संघर्ष, बाढी-पहिरो, बन्द, हड्ताल, दशगजा-चोरी आदिको शृंखलावद्ध आलेख;
बुद्ध = आजभन्दा २५०० वर्षअघि नेपालको लुम्बिनीमा जन्मेको सिद्दार्थ गौतम जसको जन्मस्थल “कपिलवस्तु” हालसालै भारतमा धमाधम बन्दैछ;
देश र जनता = हरेक पार्टीको लागि घाँडो तर पनि देखाउनकै लागि भने जप्नै पर्ने मन्त्र;
सालिक = बाचुन्जेल को हो को हो मरेपछि महान  देखाउने कृत्रिम मानवरुपी संरचना;
सपथ = जुन भाषामा खाएपनि विष नलाग्ने अनर्थ खानेकुरो;

परिशिष्ठ-१

झर्रो नेपाली उखान-टुकामा परिभाषित केहि संश्लेशनात्मक शव्दहरु :  <P>
आकाशको फल आंखा तरी मर ‍ = नयाँ नेपाल ;
धोबीको कुकुर न घरको न घाटको ‌ = एमाले;
मुखमा लोकतन्त्र ब्यबहारमा कटुवाल तन्त्र ‍ = नेपाली कांग्रेस;
मणि हराएको सर्प ‍ = एनेकपा (माओबादी); <P>
तल्लाघरको नरे माथ्ला घर सरे = मधेसबादी दलहरु;
नौ सय मुसा खाएर हज गर्न जाने बिरालाहरु = पूर्व राजा र उनका सन्तान;
ताक परे राजतन्त्र नत्र गणतन्त्र ‍ = राप्रपा (राणा);
मरेको बिरालो काखी च्यापेर ठिमी तिर जांदा बाटैमा मर्ला जस्तो = सी पी को माले ;
नखाउँ भने दिन भरिको शिकार, खाउँ भने कान्छा बाको अनुहार = गणतन्त्र खेति ;
बुद्ध हिमाल सगरमाथा – हाम्रो गौरबगाथा = भिक्षा-पात्र ;

यो सहलेखनका सहभागीहरु : मधु माधुर्य; बितृष्णा,हेमन्त परदेशी, दलवीर सिंह बराइली “घायल”, रामकुमार श्रेष्ठ, रमेश पौडेल, रामविन्दु श्रेष्ठ ,  …., ….., ….., ….., ( योगदानको आधारमा यहाँ तपाईंहरुको नाम क्रमश: थपिदै जाने छन् )

पुनश्च:
१. जनमानसमा परेको वास्तविक छापलाई मध्यनजर राख्दै संकलित शव्दको पूर्णअर्थ र तर्कपूर्ण परिभाषा जुराउन तपाईं-हाम्रो पहलमा हुने आवश्यक परिमार्जन वा संशोधनलाइ जहिले पनि खुल्ला हृदयले स्वागत गर्ने छौं ;
२. राजनैतिक शव्दकोशको संज्ञा दिइएता पनि यसमा जीवनका सबै क्षेत्रका शब्दहरुले आ-आफ्नो स्थान पाउने छन् ;
३. व्यक्तिगत आक्षेप वा अश्लिल परिभाषाहरुलाई कुनै पनि हालतमा समावेश गरिने छैन;
४. शव्दसंख्या प्रयाप्त महशुस भैसकेपछि यसलाई वर्णक्रमानुसार मिलाइनेछ;

One Response to “नयाँ नेपाली राजनैतिक शव्दकोष”

  1. Pravin said

    Dear writers,It’s a great work which will help people to realize and evaluate the real political situation of corrupted Nepalese leaders.I hope that it will be published in paper print also.
    Wish you success.Pravin

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: