Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

हकिङको ‘द ग्रान्ड डिजाइन’

Posted by Ram Kumar Shrestha on January 20, 2011


By दयानन्द बज्राचार्य

एकताक नेपालमा ‘ग्रान्ड डिजाइन’ भन्ने शब्दको अत्यधिक प्रयोग गर्ने व्यक्ति थिए स्वर्गीय गिरिजाप्रसाद कोइराला। दरबार हत्याकाण्ड, प्रतिनिधिसभाको विघटन र ज्ञानेन्द्रको शासनदेखि त्यति बेला देशमा भएका हरेक राजनीतिक घटना एक ‘ग्रान्ड डिजाइन’अन्तर्गत हुने गरेको कोइरालाको दाबी हुन्थ्यो। ‘ग्रान्ड डिजाइन’ का परिकल्पनाकार को थिए? कोइरालाले कहिल्यै स्पष्ट पारेनन्।

संयोगवश विश्वविख्यात भौतिकशास्त्री स्टिफन हकिङ तथा उनका सहकर्मी लिओनार्द म्लोदिनोबद्वारा हालै प्रकाशित पुस्तकको शीर्षक पनि ‘द ग्रान्ड डिजाइन’ छ। सन् २०१० सेप्टेम्बर २७ मा प्रकाशित यो पुस्तक धेरै दिनदेखि बेस्टसेलर सूचीमा लगातार अग्रस्थानमा छ। ‘द ग्रान्ड डिजाइन’ स्टिफन हकिङको सन् १९८८ मा प्रकाशित विश्वचर्चित पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’पछि ब्रह्माण्डको निर्माणबारे लेखिएको दोस्रो महत्वपूर्ण पुस्तक हो। यस पुस्तकमा लेखकद्वयले ब्रह्माण्डसम्बन्धी महत्वपूर्ण केही प्रश्नको जबाफ दिने प्रयास गरेका छन्। ती हुन् ब्रह्माण्डको आरम्भ कहिले, कसरी र किन भयो? हामी यहाँ किन छौँ? यहाँ किन शून्यता होइन, केही छ? प्रकृतिका नियमहरू किन यसरी बनेका छन्? किन हामीजस्ता जीवको यहाँ अस्तित्व छ? ब्रह्माण्ड कुनै महान् परिकल्पना (‘ग्रान्ड डिजाइन’)अनुसार निर्माण भएको हो? ब्रह्माण्ड निर्माणका लागि कुनै अलौकिक शक्ति वा ईश्वरको आवश्यकता छ वा विज्ञान नै ब्रह्माण्डसम्बन्धी सबै महत्वपूर्ण प्रश्नको जबाफ दिन पर्याप्त छ?

यी प्रश्नहरू ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’मा अनुत्तरित थिए। त्यति बेला यी प्रश्नको जबाफ दिन पर्याप्त वैज्ञानिक खोज भइसकेका थिएनन्। तर, भौतिकशास्त्रको क्षेत्रमा विगत दुई दशकमा भएका केही थप वैज्ञानिक खोज र उपलब्धिले वैज्ञानिकहरू यी प्रश्नको जबाफ दिने अवस्थामा आइपुगेको हकिङ विश्वास गर्छन्।

आइन्स्टाइनले कुनै दिन ब्रह्माण्डको महान् परिकल्पना (ग्रान्ड डिजाइन)बारे यथार्थ पत्ता लगाउने ठूलो सपना देखेका थिए। उनी एक यस्तो एकीकृत सिद्धान्त (युनिफाइड थ्योरी)को खोजमा थिए, जसले अहिलेसम्मका भौतिकशास्त्रसँग सम्बन्धित सबै सिद्धान्तलाई एकीकृत गरोस् र ब्रह्माण्डको उत्पत्तिलगायत प्रकृतिका सम्पूर्ण घटनालाई सफलतासाथ व्याख्या गर्न सकियोस्। तर, आइन्स्टाइनको समयमा भौतिकशास्त्रमा पर्याप्त विकास भएको थिएन र आइन्स्टाइनको लक्ष्य प्राप्त गर्न सम्भव भएन। हकिङले ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ लेख्दासम्म पनि यस प्रकारको एकीकृत सिद्धान्त प्रतिपादन गर्न आवश्यक खोजको उचित विकास भौतिकशास्त्रमा भएको थिएन। अहिले भौतिकशास्त्रीहरू आइन्स्टाइनले परिकल्पना गरेको एकीकृत सिद्धान्तको निकै नजिक आइपुगेको हकिङको विचार छ। ‘एम-थ्योरी’ नामले चिनिने नयाँ सिद्धान्त आजसम्मका सबै भौतिक सिद्धान्तमध्ये आइन्स्टाइनले परिकल्पना गरेका ‘युनिफाइड थ्योरी’सँग सबैभन्दा नजिक भएको हकिङको ठहर छ। यस सिद्धान्तले ब्रह्माण्डसम्बन्धी धेरै प्रश्नको सन्तोषजनक जबाफ दिन सकिने उनको सोच छ।

‘एम-थ्योरी’अनुसार हामी बसोबास गर्दै आएको ब्रह्माण्ड एकमात्र ब्रह्माण्ड होइन। अन्य असंख्य ब्रह्माण्ड पनि अस्तित्वमा भएको भविष्यवाणी गर्न सकिन्छ। यी बहुसंख्यक ब्रह्माण्ड (मल्टिभर्स) विज्ञान र भौतिक नियमका स्वाभाविक परिणाम हुन्। यस्ता प्रत्येक ब्रह्माण्डका आफ्नै प्राकृतिक नियमहरू हुन्छन् र असंख्य ब्रह्माण्डमध्ये कुनैमा मात्र त्यस्ता उपयुक्त प्राकृतिक नियमहरू विद्यमान हुन्छन्, जसका कारण हामीजस्ता जीवको अस्तित्व सम्भव हुन्छ। संयोगले पृथ्वी हाम्रो ब्रह्माण्डको यस्तो स्थानमा अवस्थित छ, जहाँ जीवको विकास सम्भव छ। पृथ्वी सूर्यको ठीक यस्तो दूरीमा अवस्थित छ, जसका कारण यहाँ जीवहरू बाँच्न सक्छन्। सूर्यबाट पृथ्वीको दूरी अलिकतिमात्र पनि थपघट भएको भए पृथ्वीमा कि त निकै चिसो हुने थियो कि निकै गर्मी। दुवै अवस्थामा पृथ्वीमा जीवको विकास सम्भव थिएन। ब्रह्माण्डको विशालतामा तुच्छ र नगन्य भए पनि हामी एक प्रकारले सृष्टिका अनुपम परिणाम बनेका छौँ।

प्राचीन कालमा प्रकृतिमा हुने प्रक्रियाबारे अनभिज्ञ भएकाले मानिसहरू यी सबै घटनाका लागि कुनै देउतालाई जिम्मेवार ठान्थे। यहाँ प्रेम, युद्ध, सूर्य, पृथ्वी र आकाश, नदीनाला र समुद्र, वर्षा, बाढी, पहिरो, चट्याङ, भूकम्प अनि पहाड र ज्वालामुखीका कयौँ देउता छन्। हरेक मानव सभ्यतामा यस्ता थुप्रै देवीदेउताको परिकल्पना पाइन्छ। सायद हिन्दू सभ्यतामा यस्ता देवीदेउताको संख्या सर्वाधिक छ। हिन्दू धर्ममा देवीदेउताको संख्या ३३ करोड (तेत्तीस कोटी) छन्। देवीदेउता मानिसकै परिकल्पनाका उपज हुन्। विज्ञानको विकासपछि प्रकृतिमा घटनाहरू कुनै देवीदेउताको शक्ति वा इच्छाबमोजिम होइन, प्रकृतिको नियमअनुसार भएका हुन् भन्ने तथ्य स्थापित भएको छ। तथापि आज पनि प्रकृतिमा हुने गरेका घटना विज्ञानको नियमानुसार नभई दैवी इच्छानुसार हुन्छ भन्नेको संख्या विश्वमा कम छैन।

विगतमा ठूल्ठूला वैज्ञानिकसमेत प्राकृतिक घटनाका लागि ईश्वरलाई जिम्मेवार ठान्थे। केप्लर, ग्यालिलियो, देकार्त तथा न्युटनजस्ता महान् वैज्ञानिक प्राकृतिक घटना प्राकृतिक नियमानुसार चल्छन् भन्ने तथ्यमा विश्वास त गर्थे, तर उनीहरू पनि प्राकृतिक नियम ईश्वरले नै बनाएको विश्वास गर्थे। सोह्रौँ शताब्दीको अन्त्यमा केप्लर ईश्वरले ब्रह्माण्ड कुनै उत्कृष्ट गणितीय सिद्धान्तअनुसार निर्माण गरेकोमा विश्वस्त थिए। अठारौँ शताब्दीसम्म पनि ईश्वर एक गणितिज्ञ थिए भन्ने विश्वास गर्ने वैज्ञानिकहरू धेरै थिए। बीसौँ शताब्दीमा आइन्स्टाइनले पनि ईश्वरको भूमिकालाई ठाडै अस्वीकार गरेका थिएनन्।

युगौँसम्म प्रकृतिको सुन्दरता र जटिल प्रक्रियाका लागि ईश्वरलाई जिम्मेवार ठहर्‍याउने गरिन्थ्यो। आज पनि ब्रह्माण्डको सृष्टि ईश्वरले गरेका हुन् र यहाँ जे भइरहेको छ, उनैले निर्माण गरेको नियमानुसार भइरहेको छ भन्नेमा धेरै मानिसहरू विश्वास गर्छन्। हकिङका अनुसार ब्रह्माण्डको सृष्टि कसले गर्‍यो भनेर सोध्नु जायज होला, तर यसको सही जबाफ ईश्वर हो भने यसले अर्को स्वाभाविक प्रश्न उठाउँछ। त्यो हो, ईश्वरको सृष्टि कसले गर्‍यो त? ईश्वरको कुनै सृष्टिकर्ता थिएन भन्ने तर्क स्विकार्ने हो भने कुनै सृष्टिकर्ताबिना पनि सृष्टि सम्भव छ भन्ने तर्र्क स्वीकार्नुपर्ने हुन्छ। यसै तर्कलाई अगाडि सार्दै हकिङ भन्छन्, ब्रह्माण्ड सृष्टिका लागि कुनै सृष्टिकर्ता वा ईश्वरको आवश्यकता छैन। न्युटन र आइन्स्टाइन स्तरका भौतिकशास्त्री मानिने हकिङ त्यस्ता पहिलो विश्वप्रसिद्ध ब्रह्माण्डशास्त्री हुन् जसले ब्रह्माण्डको सृष्टिमा ईश्वरको कुनै भूमिका नरहेको विचार स्पष्ट भाषामा व्यक्त गरेका छन्। यसअघि डार्विनले उन्नाइसौँ शताब्दीमा नै पृथ्वीमा पाइने जटिलतम एवं विविध जीवको उत्पत्तिमा ईश्वरको कुनै भूमिका छैन भन्ने तार्किक व्याख्या (थ्योरी अफ् इभोलुसन) प्रस्तुत गरिसकेका थिए।

हकिङका अनुसार सबै ब्रह्माण्डहरू शून्यताबाट स्वउत्पत्ति भएका हुन्। यो विशुद्ध विज्ञान र भौतिक नियमको परिणाम हो। ब्रह्माण्डको स्वउत्पत्ति भएकै कारण यहाँ शून्यता होइन, केही छ, हामी अस्तित्वमा छौँ र प्रकृतिका नियमहरू यस्ता छन्, जस्ता ती छन्। ब्रह्माण्डको सृष्टिसम्बन्धी प्रश्न हजारौँ वर्षदेखि दर्शन र विज्ञानको संयुक्त चासोको विषय बन्दै आएकोमा अब पुरानो दर्शन असान्दर्भिक बनिसकेको छ। हकिङ भन्छन्, ‘फिलोसफी इज डेड’। हकिङ र म्लोदिनोबले आफ्नो नयाँ पुस्तक ‘द ग्रान्ड डिजाइन’मा निकालेका प्रमुख निष्कर्ष यिनै हुन्।

हकिङले यसअघि लेखेको पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ निकै लोकप्रिय र प्रशंसित भएको थियो। तर, कतिपय वैज्ञानिक तथा दार्शनिकले ‘द ग्रान्ड डिजाइन’मा ब्रह्माण्डको सृष्टिमा ईश्वर र दर्शनको भूमिकामाथि हकिङको केही विचारको कडा आलोचना गरेका छन्।

केही वैज्ञानिकले हकिङले ‘द ग्रान्ड डिजाइन’मा प्रस्तुत गरेका तर्कहरू बढी महत्वाकांक्षी, विवादित एवं उत्तेजक भएको बताएका छन्। केही धर्मगुरुले ईश्वर छ वा छैन भनेर विज्ञानले आजसम्म प्रमाणित गर्न नसकेकाले यसबारे हकिङले पनि केही नबोल्नु राम्रो हुने राय व्यक्त गरेका छन्। केहीले हकिङलाई ‘एम-थ्योरी’लाई हतियार बनाएर विज्ञान र धर्मबीच अनावश्यक लडाइँ छेड्ने प्रयास गरेको आरोपसमेत लगाएका छन्। यस्ता टिप्पणीप्रति प्रतिक्रिया दिँदै हकिङ भन्छन्, ‘कसैले पनि ईश्वर छैन भनेर प्रमाणित गर्न सक्दैन, तर विज्ञानले ईश्वरलाई अनावश्यक बनाइदिएको छ।’

प्रतिष्ठित अंग्रेज वैज्ञानिक बैरोनेस ग्रिनफिल्डले बीबीसी रेडियोलाई अन्तर्वार्तामा पुस्तकको आलोचना गर्दै भनेकी थिइन्, ‘हकिङले आफूलाई जे ठीक लाग्छ, त्यो भन्न पाउँछन्। तर जब उनी तालिवान शैलीमा सबै थाहा भएजस्तो गरी आफ्नो विचार अरूमा लाद्न खोज्छन्, त्यो आपत्तिजनक हुनेछ। यसको अर्थ हकिङलाई तालिवानसँग तुलना गर्न खोजिएको भने होइन।’ यसैगरी ब्रह्माण्डको उत्पत्तिबारे छलफल गर्दा आज परम्परागत दर्शन असार्न्दभिक भइसकेको छ (फिलोसफी इज डेड) भन्ने हकिङको टिप्पणीप्रति पनि धेरैको आपत्ति छ। त्यतिमात्र होइन, नयाँ सिद्धान्त ‘एम-थ्योरी’को विश्वसनीयतामा अझै प्रश्न उठाउने थुप्रै ठाउँहरू छन् जसको आधारमा पुस्तकमा ब्रह्माण्डबारे नयाँ निष्कर्षहरू निकालिएका छन्। यति हुँदाहुँदै पनि ‘द ग्रान्ड डिजाइन’ अधिकांश वैज्ञानिक र सर्वसाधारण पाठकबीच उत्कृष्ट पुस्तकका रूपमा प्रशंसित छ।

हकिङको विचार सही प्रमाणित भए लगभग तीन हजार वर्षदेखि गरिँदै आएको ब्रह्माण्डसम्बन्धी एक महत्वपूर्ण खोजको सफल अन्त्य हुनेछ र कुन महान् परिकल्पना (ग्रान्ड डिजाइन)अनुसार ब्रह्माण्डको निर्माण भएको थियो? त्यसको सही जबाफ प्राप्त हुनेछ।

@Nagariknews

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: