Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

दलाई लामाका बोली र नेपाली जनमानसको प्रश्न

Posted by Ram Kumar Shrestha on July 15, 2012


गुरुमाथि प्रश्नै राख्न हुन्न भन्ने कहीँ छैन । अझ बौद्ध धर्ममा त छँदैछैन । बुद्धले गुरुहरु माथि नै वेदको प्रमाणिकतामा प्रश्न उठाएर प्रमाणिक बुद्ध धर्मको परिशिलन गरेका थिए । गुरुहरुकै अलौकिक शक्तिमाथिको अन्धविश्वासमा प्रश्न उठाएर नै लौकिक धर्मको स्थापना गरेका थिए । गुरूहरूकै हिंसापूर्ण यज्ञसंस्कृतिको विरोधमा प्रश्न उठाएर अहिंसापूर्ण धर्मको प्रतिपादन गरेका थिए । गुरुमाथि नै ब्राह्मणहरुको जन्मजात वर्चश्वमाथि प्रश्न उठाएर समावेशी धर्मको प्रतिपादन गरेका थिए । गुरुको शीक्षामा अन्धभक्त भएर अनुयायी नबन्न नै बुद्धको शिक्षा छ । त्यसैले बौद्ध चरित्र अनुरुप पनि गुरुमाथि प्रमाणका आधारमा प्रश्न राख्नु कुनै अपराध होइन, तार्किक र धर्मसम्मत नै छ । बुद्ध भन्छन् “अप्प दीपो भव” अर्थात आफै बत्ती बन । यो शीक्षा गुरुलाई मात्र होइन शिष्यलाई पनि हो । आफैमा प्राज्ञ हुनुपर्यो । त्यस प्रकाशले अन्धकारलाई नामेट गर्न पर्यो । बत्ती बनेका शिष्य प्रज्ञा जगतमा प्रश्न राख्छन् – के अँधेरोमा उज्यालोको लागि प्रश्न राख्न धर्मसम्मत छैन ? त्यस जनमानसको चाहना हो दलाई लामा स्वयंले बत्ती बनेर सही प्रकाश छर्दै यसको समाधान गर्न पर्छ ।

डा कविताराम श्रेष्ठ

दलाई लामाले बोलेका प्रशंगलाई लिएर धेरै कुराहरु मिडियामा आइरहे । उनले जे भनेपनि धर्मगुरुले भनेका हुन यसै शिरोधार्य गर्न पर्छ भनी कोही चुपचाप रहने देखिए भने कोही सही कुरा बोल्न वा चित्त नबुझेका कुरामा बोल्न पर्छ भन्ने पनि उत्तिकै देखिए । दुबै खालेका उग्र सम्बादले मिडिया निक्कै नै अप्रिय ढंगमा गरम रहन गयो ।

मिडियामार्फत थाहा भयो दलाई लामाले, “बुद्धमार्गको सुरुवात भारतबाट भएको हो । कोहीकोही बुद्धलाई नेपाली भन्छन् केहीले भारतीय तर यसबाट केही फरक पर्दैन” भनेका रहेछन् । तर यसको ठीक विपरित बुद्धको जन्मभूमी नेपालमा पर्नुले नेपाल र नेपालीलाई धार्मिक, राजनीतिक, आर्थिक र साँस्कृतिक हिसाबले धेरै फरक पर्छ भन्ने नेपालीहरू देखिए र यी मान्य धर्मगुरु अनुयायीहरुलाई चित्तै दुख्ने हिसाबमा प्रश्नका दायरामा पर्न पुगे ।

त्यहाँ गएर सुन्ने धेरैले मानेका छन्, त्यसदिन दलाई लामाले बुद्धका जन्मस्थानबारे उच्चारणै नगरेको भए पनि उनको प्रवचनमा कमी रहने थिएन । अनि बुद्ध जन्मेका त नेपाली भूमी लुम्बिनीमै हो भन्ने सत्य बोल्दा पनि त्यस प्रवचनमा कमी वा कुनै चारचाँद पनि लागिहाल्ने थिएन । तर बुद्ध भारतीय राजकुमार हुन् भन्ने भ्रम विश्वमा फैलिरहेको र भारतले त्यसैमा कुत्सित ढंगमा हावा दिइरहेको अनि नेपालीहरु भने ज्यान फालेर बुद्धजन्मस्थल लुम्बिनीको प्रतिष्ठालाई उचाल्न खोजिरहेको बेलामा धर्मगुरुले त्यो विषय नै महत्वपूर्ण होइन भन्न पुग्दा गुरूले सत्य कुरामा प्रकाश पार्न जीब्रो चपाएको मात्र होइन अझ झुठलाई नै साथ दिएको आभासमा नेपाली जनमानस झस्कन पुगे । बिचारणीय यो छ यो भनाई यस्तो सभामा भनियो जसको आयोजक लुम्बिनीको प्रतिष्ठालाई उचाल्न लागिपर्ने सक्रिय नेपालीहरु नै थिए ।

दलाई लामाका उक्तिलाई बुद्धका राष्ट्रीयता “नेपाली” वा “भारतीय” भन्ने विवाद्लाई सान्दर्भिक बनाइएको छ . तर शब्द चयन त्यस्तै भएपनि बुझिन्छ राष्ट्रीयताको कुरा यसमा पक्कै उनले उठाएका होइनन. २६०० वर्ष अघि न नेपाल थियो न भारत. उबेलाका कुरालाई आजको राजनीतिक भूगोलको दायरामा कुनै अज्ञानीले राख्छन होला तर दलाई लामाजस्ता धर्मगुरूले पक्कै राखेका होइनन । कुरा के हो र पक्कै के हो भने दलाई लामाले नेपालीहरूको ‘बुद्ध जन्मस्थल आजको दिनमा लुम्बिनी नेपालमा पर्छ’ भन्ने सत्याग्रह र भारतीयहरूको ‘बुद्धधर्मं भारतबाट सुरु भएको’ भन्दै गोलमटोलमा बुद्धलाई भारतीय बनाउने प्रयाशको सन्दर्भमा बोलेका हुन । त्यसैमा नेपाली जनमानसले बुझ्नपुग्यो कि दलाई लामा नेपालीहरुको सत्याग्रहलाई धर्म र गुरूबचनको आडमा निरुत्साहित गर्दैछन र घुमाई फिराई भारतीयहरुको कुत्सित प्रयाशलाई पक्षपोषण गर्दैछन ।

केहीले भनेका छन कि दलाई लामालको उक्तिबाट कुनैपनि नेपालीले मन दुखाउन पर्दैन किनभने उनले बुद्ध जता जन्मेपनि धार्मिक हिसाबमा कुनै फरक पर्दैन भनेका हुन लुम्बिनिलाई हेपेर भनेका होइनन । उनी लुम्बिनीलाई चार सम्बेजनीय स्थान मध्यको एक मान्छन र केही पहिले उनी लुम्बिनिमा तीर्थ समेत गर्न आएका थिए. त्यस्बखत नेपाल सरकारले चीन रिसाउछ भनी सहज यात्रा गर्न दिएका थिएनन र पनि उनी सामान्य तीर्थयात्रीसरह यहाँ आएका थिए । उनले यसलाई महत्व दिंदैन भन्ने त हुँदै होइन । तर त्यसै आधारमा उनैका बोळी केलाउदै नेपालीहरू भन्छन- त्यसैले त नेपालको महत्तालाई छायाँमा पार्दै भारतीय हितको पक्षपोषण गर्ने उनी दाऊ गर्छन ।

बुद्धको जन्मस्थल भएको हुँदा लुम्बिनी बौद्धहरुको लागि चार संवेजनीस्थल ( जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको स्थान बोधगया, प्रथम धर्म प्रचार गरेको स्थान सारनाथ र निर्वाण प्राप्त गरेको कुशीनगर ) मध्ये एक मानिएको छ । जापान वा तिब्बत वा चीन वा श्रीलंकाकf आदि स्थानका बौद्धहरूलाइ लुम्बिनी भारत वा नेपालमा पर्दा केही फरक नपर्ला किनभने उनीहरूले नेपाल व भारत भन्दा पनि बुद्धको जन्मस्थललाई महत्व दिने हो तर नेपालीहरू र भारतीयहरुलाई त फरक पर्छ र धुम्धामले पारिरहेको छ । त्यो गौरवशाली भूमी नेपालमा परेको छ र नेपालीको गर्व आकाशमा चुलिएको छ । लाखौँ करोडौँ पर्यटकहरु आउँदा यहाँको सम्मान र आर्थिक स्थिति युगौँयुगसम्म चुल्लिएको चुल्लियै हुने स्थिति छ । त्यसैले नै नेपालीहरू लुम्बिनीको प्रतिष्ठालाई प्रवद्धन गर्न ज्यान फलेर उद्दत छन् र भारतीयहरू आफ्नो पक्षमा झुठको खेति गर्न मरिमेट्दै छन ।

यतिखेर सम्झना भइरहेछ सदा बुद्धलाई भारतीय राजकुमार भन्दै हिँडने वा पुस्तकै छपाउने रामदेवले काठमाडौँमा आएका बेला बुद्धको जन्मस्थल नेपाली भूमी लुम्बिनी भएको कुरा २३ सय वर्ष पुरानो अशोकस्तम्भले प्रमाणित गरेको छ त्यसैले बुद्ध कहाँ जन्मे भन्ने कुरा विवादको कुरै होइन भन्दा काठमाडौँको आकाश नेपाली तालीले गुन्जायमान भएथ्यो । रामदेव त बौद्धमार्गी पनि होइनन्, लुम्बिनीलाई छायाँमा पार्ने भारतीय खेलका कारक भारतकै एक चरम राष्ट्रवादी नागरिक हुन् । उनले भारतीय स्वार्थमा हाँमा हाँ नमिलाई सत्यको वकालत गरे । उनले पक्का सन्तको परिचय दिए र त्यसरी पूज्य भए । प्रमाणिक सत्यनै धर्मको आधार मान्ने बुद्धधर्मका यी धर्मगुरुलाई त्यही प्रमाणिक सत्य बोल्न केले विचलित गर्यो ? शंका उब्जियो नेपाली मानसमा ।

जुन धर्मको दलाइ लामा धर्मगुरु बनेका छन् जुनधर्मका प्रवर्तकका उनी कुनै सम्प्रदायमा अवतारी पुरुष नै बनेका छन् उनै धर्मका प्रवर्तक महात्मा बुद्धका जन्मस्थल कहाँ हो भन्ने कुरा धर्म वा एक गुरूलाई कसरी महत्वपूर्ण हुन्न ? जुन स्थानको हावापानी माटो र आकशले बुद्धलाई बुद्ध हुने सम्मको देह प्रदान गर्यो, जुन स्थानको संस्कृति, संस्कार, शीक्षा र परिवेशका प्राज्ञिक आधारहरुले बुद्धलाई बुद्ध बनाउने बौद्धिक मानस प्रदान गर्यो त्यो कारक भूमी कसरी महत्वपूर्ण भएन भन्न पुगे ? बुद्ध स्वयम नै बुद्धत्व प्राप्त गरेपछि आफूलाई त्यहाँसम्मको स्थितिमा पुर्याउने यस महान भूमीलाई सम्मान दिन नतमस्तक भएर यहाँ आएका थिए । “हरेक कार्यको जड नै कारण हो र विनाकारण कुनै परिणति हुन्न” भन्ने सिद्धान्त प्रतिपादन गर्ने बुद्ध धर्ममा “कारण” भनेको “चार आर्य सत्य” मा एक “आर्य सत्य” मानिन्छ । बुद्धलाई बुद्ध बनाउने कारणका तत्वलाई यसै धर्मका धर्मंगुरूले नेपाल वा भारतमा कतै पनि पर्दा केही फरक पर्दैन भनी कसरी भन्न पुगे ? यहाँ नेपालीलाई काहानिर दुख्न पुग्यो भने त्यो भूमी आज नेपालमा पर्छ भन्ने कुराकै महत्तालाई उनले छायाँमा पार्न खोजे . यहाँ नेपालीलाई अझ बढ़ी काहानिर दुख्न पुग्यो भने भारतले बुद्ध भारतीय राजकुमार हो भनी भ्रम फैलाउँदै जन्मस्थल लुम्बिनिको उच्चारण नै नगरी बुद्धमार्ग भारतबाट सुरू भएको भन्ने संसारभर डंका पिटी रहेको बेलामा त्यही बोळी उनले बोल्न पुगे ।

विवादमा उत्रनेहरु सोच्दछन् दलाईलामा भारतको शरणमा बसेर “फ्रि तिब्बत” को राजनीति गर्दैछन् र भारतको सहयोगबिना उनको राजनीति चल्नेवाला छैन त्यसैले उनी भारतीय बोली बोल्छन् । उन्को यो बोली कदाचित धर्मसम्मत छैन राजनीतिसम्मत छ । बुद्धले त धर्मको लागि राज्य त्यागेका थिए तर दलाइ लामा भने राज्यप्राप्तिको लागि धर्मको उपयोग गर्दै देखिन्छन् । अझ फ्रि तिब्बतको पक्षमा समस्त चीनविरोधी विश्व समुदाय दलाइृलामाकै पक्षमा राजनीतिक हिसाबमै एकैतिर ध्रुविकृत छन् र यहाँ वेलायतमै पनि चीन रिसाउछ कि भन्ने राजनीतिक सम्वेदनशीलतामा साथ उन्लाई गरिने यसै कार्यक्रमलाई लो प्रोफइलमा संचालन गर्न स्थानीय सरकारले आदेशै दिएको हल्ला समेत् व्यापक थियो । उहिले दलाई लामा स्वयम नै लुम्बिनी दर्शनार्थ नेपाल आउन खोज्दा नेपाल सरकारले पनि चीन रिसाउने सन्त्राशमा उन्लाई सामान्य लामासरह आउन वाध्द्य पारेको कुरोसमेत यहाँ मननयोग्य छ । उनको धार्मिक छवि राजनीतिक छविमा दबिएको छ । यो राजनीतिक छवी कसैले यसै प्रेषण गरेको नभई उनैका गतिविधीको कारणले बनेको हो । विश्व कुट्नीतिक समुदाय नै दलाई लामालाई बौद्धवश्त्रमा राजनीतिकर्मी देख्दछन भने नेपाली समुदायमात्र अपबाद कसरी हुनसक्छ । त्यसैले हामीहरु कसैले माने पनि नमाने पनि र चाहे पनि र नचाहे पनि नेपाली जनमानसले राजनीतिक हिसाबमा उनका यस उक्तिलाई उनका आफ्ना शरणदाता भारतको हितमा बोलेका अपगाल लगाए, जाँतोलाई भन्दा हातोलाई सकसक भएको भन्ने राजनीतिक गाली दिए ।

अर्थात नेपाली जनमानसले दलाइ लामाको “बुद्धमार्गको सुरुवात भारतबाट भएको हो, कोहीकोही बुद्धलाई नेपाली भन्छन् केहीले भारतिय, तर यसबाट केही फरक पर्दैन” भन्ने उक्ति भारतपरस्त राजनीतिक कारणको परिणति हो भन्ने सोचे । धेरैले भनेका छन् राजनीति गर्न लागियो भने प्रतिपक्षीहरुको मार त खप्नै पर्ने हुन्छ । यसै सन्दर्भमा मलाई संझना भइरहेछ अलि पहिले मदन भण्डारीले राजा विरेन्द्रलाई हाँक दिएका थिए – राजनीति नै गर्छौ भने आऊ फिल्डमा । अर्थात भिडन्त नचाहने हो भने र प्रश्नको दाँयारामा नाउने हो भने लो प्रोफायलमा बस्नपर्छ, राजनीति गर्न लागियो भने हाँकहरु आउँछन् र प्रश्नको दायरामा जो कोही पर्छ नै । दलाई लामा पनि यसरी नै परे ।

यति बुझ्ने हामी सवैको निष्ठाले प्रश्न राख्दछ प्रमाणिक सत्यनै धर्मको आधार मान्ने बौद्धधर्मको धर्मगुरुलाई त्यही प्रमाणिक सत्य बोल्नबाट यदि धर्म होइन र राजनीतिक पनि होइन भने अरु के कारणले विचलित गर्यो ? प्रश्न छ र जटिल छ । गुरुमाथि प्रश्नै राख्न हुन्न भन्ने कहीँ छैन । अझ बौद्ध धर्ममा त छँदैछैन । बुद्धले गुरुहरु माथि नै वेदको प्रमाणिकतामा प्रश्न उठाएर प्रमाणिक बुद्ध धर्मको परिशिलन गरेका थिए । गुरुहरुकै अलौकिक शक्तिमाथिको अन्धविश्वासमा प्रश्न उठाएर नै लौकिक धर्मको स्थापना गरेका थिए । गुरूहरूकै हिंसापूर्ण यज्ञसंस्कृतिको विरोधमा प्रश्न उठाएर अहिंसापूर्ण धर्मको प्रतिपादन गरेका थिए । गुरुमाथि नै ब्राह्मणहरुको जन्मजात वर्चश्वमाथि प्रश्न उठाएर समावेशी धर्मको प्रतिपादन गरेका थिए । गुरुको शीक्षामा अन्धभक्त भएर अनुयायी नबन्न नै बुद्धको शिक्षा छ । त्यसैले बौद्ध चरित्र अनुरुप पनि गुरुमाथि प्रमाणका आधारमा प्रश्न राख्नु कुनै अपराध होइन, तार्किक र धर्मसम्मत नै छ । बुद्ध भन्छन् “अप्प दीपो भव” अर्थात आफै बत्ती बन । यो शीक्षा गुरुलाई मात्र होइन शिष्यलाई पनि हो । आफैमा प्राज्ञ हुनुपर्यो । त्यस प्रकाशले अन्धकारलाई नामेट गर्न पर्यो । बत्ती बनेका शिष्य प्रज्ञा जगतमा प्रश्न राख्छन् – के अँधेरोमा उज्यालोको लागि प्रश्न राख्न धर्मसम्मत छैन ? त्यस जनमानसको चाहना हो दलाई लामा स्वयंले बत्ती बनेर सही प्रकाश छर्दै यसको समाधान गर्न पर्छ ।

बुद्धले पीडाका कारणहरु हुन्छन्, तीनलाई नामेट गर्न सकिन्छ र सम्यक चरित्रबाट त्यसलाई नामेट गर्न सकिन्छ भनेर उपदेश दिएका छन । हामीले देख्दा यस पीडाका कारण गुरुकै विवादास्पद सम्बाद भएकोले त्यसैलाई सम्यक उपायबाट समाधान गर्न पर्ने हुन्छ । त्यो भनेको धर्मगुरुबाटै आफ्ना सबै तुष (तृष्णा) लाई त्याग (महान् अभिनिष्क्रमण) गरेर बुद्धको जन्म नेपाली भूमी लुम्बिनीमा भएको प्रमाणिक सम्वेजनीय सत्यलाई मान्यता दिनुमै छ । कारण जीउँदो रहेसम्म परिणाम यथावत रहिनै रहने छ, बुद्धले यही भनेका छन् । अनि यता म पनि भन्छु हामी अनुयायीहरुका भीडन्तले मात्र केही फरक पर्नेवाला छैन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: