Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

दिल्लीबाट फर्केकाहरूका नाममा

Posted by Ram Kumar Shrestha on August 27, 2012


कृष्णज्वाला देवकोटा

नेपालका राष्ट्रपतिले के गर्नुपर्छ भनेर दिल्लीमा सेमिनार हुन्छ र हाम्रा नेता गौरवका साथ ‘अतिथि’ बनेर जान्छन् । त्यही दिल्लीमा अखिलेश यादवले उत्तरप्रदेशमा के गर्नुपर्छ भनेरचाहिँ सेमिनार हुँदैन । कुनै पूर्वभारतीय राजदूत नेपालमा छँदा गरेको ठेक्कापट्टाको कमिसन उठाउन आउँछ र हाम्रा नेता त्यसलाई भेट्न तारे होटलका सुत्ने कोठामा पुग्छन् । दिल्लीमा उपेक्षित र दिक्क कुनै पनि पूर्वकूटनीतिज्ञलाई चाकडीको भोक जाग्यो भने त्यो सीधै काठमाडौं आए हुन्छ । त्यस्तालाई नेपालका राजनीतिज्ञको सधैँ न्यानो स्वागत छ ।

आकार, जनसंख्या, अर्थव्यवस्था, सैनिक क्षमता र अन्तर्राष्ट्रिय पहुँच सबै हिसाबले भारत दक्षिण एसियाको महाशक्ति हो । त्यसमाथि नेपालजस्तो एकढंगले भारतपरिवेष्ठित देशमा उसको दबाब र प्रभाव बुझिने कुरा हो । तर, त्यही दबाब र प्रभाव पनि कूटनीतिको नीलो
आवरणमा गर्न नसकिने होइन । तर, व्यवहार हेर्दा यस्तो लाग्छ, या भैयाहरूले पढेको डिप्लोमेसी बाँकी विश्वका लागि हो, नेपालका लागि होइन । या भारतमा नेपालका लागि डिप्लोमेसीको बेग्लै पाठ्यक्रम छ ।

नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुद प्रधानमन्त्रीसँग औपचारिक भेट गर्न चप्पल र ट्रयाकसुटमा बालुवाटार पुग्थे । नेपाल सरकारसँग परामर्श नै नगरी वा सुरक्षा दिन सक्दैनौँ भन्दाभन्दै पनि जिल्लातिर हिँडिदिन्थे र अरू जिल्लाका सुरक्षाकर्मी घटाएर उनको सवारी चलाउन पथ्र्यो । अहिलेका राजदूतको व्यवहार त्यति अशिष्ट छैन, तर लैनचौरको कार्यशैली खासै फेरिएको छैन । त्यतिखेर विधायक रहेका रामकुमार शर्मालाई धम्क्याउने सुव्रत दासलाई स्वदेश फर्काएर जयन्तप्रसादले सकारात्मक सन्देश दिन सक्थे । त्यसो भएको भए पर्सामा उनका अर्का प्रतिनिधिले नेपाल टुक्रयाउन सुझाब दिने थिएनन् । सायद भारतीय कूटनीतिज्ञलाई नेपाल भन्ने देश नै बाटोको मादलजस्तो लाग्छ, जसलाई जसले जहाँ जतिखेर पनि बजाए हुन्छ ।

भारतले नेपाललाई उपनिवेश नठानेकै भए पनि नेपालका नेताले ठानिसकेका छन् । कसैलाई मिर्गौला बिगि्रदिएर दिल्ली जान सजिलो भएको छ । तिनको मिर्गौला हरेकपटक सरकार परिवर्तन हुनेवेलामा मात्र बल्झन्छ र दिल्ली जानुपर्छ । त्यो मिर्गौलाको उपचार राष्ट्रवादी कंग्रेसका डिपी त्रिपाठीदेखि अहिले राष्ट्रपति भएका प्रणव मुखर्जीसम्मले गर्छन् र बिरामी पात्र त्रिभुवन विमानस्थलमा ओर्लेर आफैँले आफैँलाई प्रधानमन्त्री घोषणा गर्छ । त्यसो गर्ने, त्यो सुन्ने र त्यो हेर्ने यो देशमा कसैलाई लाज लाग्दैन ।

भारतीय आफूलाई ‘संसारको सबैभन्दा ठूलो लोकतन्त्र’का रूपमा व्याख्या गर्न रुचाउँछन् । तर, भारतको कूटनीतिमा केवल बनियापन छ, लोकतन्त्रसँग त्यसको गोरु बेचेको पनि साइनो छैन । म्यान्मार भुटानको तानाशाहीले सधैँ भारतको संरक्षण पायो । भुटानमा नेपालीमूलको जातीय सफाइलाई उसले सहर्ष अनुमोदन गर्यो । बंगलादेशमा लगभग डेढ दशक लामो सैनिकशासनमा पनि भारतको सहयोग र समर्थन थियो । नेपालमै पञ्चायतको पहिलो दशकमा भारतीय सहयोग त्यसअघिभन्दा दुई सय सत्तरी गुना धेरै थियो । पाकिस्तानी सैनिक शासनले जुल्पिmकर अलि भुट्टोलाई झुन्ड्याउँदै थियो, त्यतिखेर भारतका प्रधानमन्त्री मोरारजी देसाईले फाँसी नदिन अनुरोध गर्नसम्म अस्वीकार गरेका थिए ।

नेपालमा भारतको छवि एउटा यस्तो छिमेकीको छ, जसलाई न विश्वास गर्न सकिन्छ, न अविश्वास गर्न । जब कि नेपाल र भारतबीच जति समानता छ, संसारका अरू कुनै पनि दुई देशबीच छैन । हाम्रा लिपिदेखि संस्कृतिसम्म, विधिशास्त्रदेखि वास्तुशास्त्रसम्म, देवता, सामाजिक जीवन र तीर्थहरूसम्म अद्भूत समानता छ । भूगोल, इतिहास र सभ्यताका रेखाचित्रले यी दुई देशको विशिष्ट सम्बन्ध निर्माण गरेका छन् । तर, आमनेपालीमाझ भारतको छवि न विश्वसनीय छ, न आत्मीय ।

लालकृष्ण आडवाणीले केहीअघि प्रकाशित संस्मरणात्मक पुस्तक ‘मेरो देश मेरो जीवन’मा लेखेका छन्, ‘अमेरिकी विदेशनीति मिडिया र थिंक ट्यांक’ले तय गर्छन् ।’ भारतको विदेशनीतिमा पनि तिनको प्रभाव पक्कै छ, तर तिनको नेपालप्रतिको दृष्टिकोण भ्रामक, आत्ममुग्ध र पक्षपाती छ । भारतीय अखबारहरू कहिले नेपालमा चीन र भारतले संयुक्त नियन्त्रण कायम गर्नुपर्छ भन्छन्, कहिले पाकिस्तान त कहिले चीनको काल्पनिक डर देखाउँछन् । नेपाल नीतिका लागि साउथ ब्लकभन्दा नर्थ ब्लक निणर्ायक भएको छ जुन हार्डलाइनर मानिन्छ ।

भारतले कुनै वेला आफूसमेत सहभागी भएर सूत्रबद्ध गरेको पञ्चशील र गुटनिरपेक्षताको बाटो त्यागेको छ र क्षेत्रीय जर्नेलका रूपमा अमेरिकी तबेलामा पुगेको छ । उसले संसारकै उदीयमान महाशक्तिका रूपमा एकपछि अर्काे प्रमाणपत्र थापिरहेको एक दशक हुन लाग्यो । ओबामादेखि क्यामरुन र हु जिन्ताओसम्मले संसारको नेतृत्व गर्न भारतलाई खुला आमन्त्रण गरेका छन् । आफ्नो क्षमताको यति भव्य अन्तर्राष्ट्रिय स्वीकृतिले भारतलाई आत्ममुग्ध बनाउनु स्वाभाविकै हो । भारतसँग संसारकै नेतृत्व गर्ने महत्त्वाकांक्षा छ र अर्थव्यवस्थाको विस्तारले उसको महत्त्वाकांक्षालाई तार्किक आधार पनि दिएको छ । तर, विडम्बना, उदीयमान महाशक्तिका रूपमा भारतले आफ्नो कूटनीतिक र राजनीतिक योग्यताको सबैभन्दा पहिलो परीक्षा आफ्नो आँगनमै अर्थात् दक्षिण एसियामै दिनुछ । नेपालमा पनि भारतको भूमिका केवल नेपालसँग उसको सम्बन्ध होइन, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा उसको नेतृत्वदायी क्षमताको पनि परीक्षा हुनेछ ।

नेपालमा भारतको छवि राम्रो छैन भन्ने जानकारी पक्कै साउथ ब्लकलाई छ । नेपाल मात्र किन, दक्षिण एसियाका सबैजसो देशमा भारतविरोधी भावनाले आश्चर्यजनक रूपमा राष्ट्रवादको प्रतिनिधित्व गर्छ । निश्चय नै यसका पछाडि बौद्धिक, भू-राजनीतिक, आर्थिक र सैनिक कुन्ठाको ठूलो भूमिका छ । तर, यसलाई यति सजिलै खारेज गर्न सकिन्न । पाकिस्तान त परको कुरा, बंगलादेश, श्रीलंका र नेपालमा समेत ससाना आन्तरिक समस्यामा पनि भारतलाई दोष दिइन्छ । दक्षिण एसियामा सबैलाई भारतसँग भय छ । कतिसम्म भने भारतीय सेनाको सशस्त्र हस्तक्षेपछि बनेको, अर्को मानेमा भारतले निर्माण गरिदिएको बंगलादेशमा समेत भारतविरोधी भावना राष्ट्रवादको पर्याय भएको छ । भारत यसलाई कुन्ठा भनेर पन्छाइरहन सक्दैन । निश्चय नै यीमध्ये कतिपय प्रकरण हास्यास्पद पनि छन्, तर छिमेकमै छविको यति ठूलो संकट हुँदासम्म भारतले ‘संसारकै नेतृत्व गर्ने’ सपना कसरी पत्यारिलो हुन सक्छ ?

भनिन्छ, कुनै पनि देशको क्षमता छिमेकीसँग उसको व्यवहारबाट व्यक्त हुन्छ । यस क्षेत्रका अधिकांश देशको गुनासो छ, भारतले मित्र होइन, ठूल्दाइको व्यवहार गर्छ । दुई सम्प्रभु देशका बीचमा दाइ र भाइको व्यवहार हुन सक्दैन, केवल बराबरीको व्यवहार हुनसक्छ । तर, सीमा विवाद, व्यपार असन्तुलन, राजनीतिक हस्तक्षेप, असमान सन्धिहरू र भूराजनीतिक विवशताले सबै जसो छिमेकीमा भारतप्रति असन्तोष र कुन्ठालाई जन्म दिएको छ ।

नेपाल मामिलामा सामान्यतः तटस्थ चीन अब दर्शकको कक्षबाट खेलाडीको कक्षमा अघि बढिसकेको छ भने त्यसमा पनि साउथ ब्लकको बनियाँ प्रवृत्तिको आत्ममुग्ध र दम्भी ब्युरोक्रेसीेको अतिसक्रियता दोषी छ । भारतसँगका भूराजनीतिक बाध्यता र साउथ ब्लकको हेपाहा व्यवहारले नेपालमा विवश राष्ट्रवादलाई जन्म दिएको छ । नेताहरूका दासतापूर्ण व्यवहारले त्यो विवशतामा मट्टतिेल थपेको छ । भारत मामिलामा उत्तेजनापूर्ण वाक्युद्ध जति घातक छ, दासतापूर्ण याचना अझ घातक छ । भूअवस्थिति र भूराजनीतिक बाध्यताले नेपालमा कसैलाई भारतविरोधी बन्न अनुमति छैन, तर नेपाली बन्न जरुरी छ । दिल्लीबाट फर्केपछि चम्केका हरेक उज्याला अनुहार राष्ट्रिय सम्मानमाथि पोतिएका मोसो हुन् ।

Facebook link

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: