Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

काँक्रेविहार आफ्नो सही नामको खोजीमा छ

Posted by Ram Kumar Shrestha on June 8, 2013


डा. कविताराम श्रेष्ठ

kavitaram-shrestha[कांक्रे बिहारको सम्बन्धमा अहिले सिर्जित अनाबस्यक बिबादबारे धेरै अनभिज्ञ छन र यस्को महत्वबारे पनि । तसर्थ यसै सन्दर्भमा लेखिएको लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समितिका सल्लाहकार एबं बरिस्ठ साहित्यकार डा कबिताराम श्रेष्ठको यो आलेख जानकारीको लागि प्रकाशित गरिएको छ जुना ‘के किन भनियो ?’ भन्ने उहाँको पुस्तकमा प्रकाशित छ । यस पुस्तकको लागि उहाँले ‘नेपाल कल्चर सेन्टर’ लन्डनबाट ‘इन्नोभेटिव अन्तराष्ट्रिय अवार्ड’ २००८ मा पाउनु भएको थियो – सं]

सुर्खेत आउँदा थाहा थिएन कि याहाँ विरेन्द्रनगरको किनारैमा काँक्रेविहार जस्तो ऐतिहासिक साँस्कृतिक दृष्टिकोणले महत्वपूर्ण जीउँदो भग्नावशेष पनि छ । जीउँदो यस कारणले कि यो भग्नावशेष जस्तो मात्र नदेखिई भग्नअवस्थाको कुनै निर्माण जस्तो मात्र देखिन्छ जसलाई सजिलै पुनद्र्धार गर्न सकिन्छ । यसमा प्रयोग भएका मुर्तिहरू तथा कलाकृतिहरूले यो निर्माण बौद्धसम्प्रदायको थियो भन्ने सम्म स्पष्ट हुन्छ । तर यो विहार थियो वा मन्दिर, स्पष्ट हुँदैन । नाम भने विहार मानेर दिइएको छ – काँक्रेविहार । तर विडम्बना यो छ कि यो के थियो ? कसले बनायो ? कहिले बनायो ? किन बनायो ? कसैलाई थाहा छैन । तीन किलोमिटरकै दुरीमा रहेको पुरातत्व विभागको क्षत्रीय संग्रहालयलाई समेत थाहा छैन । यो नाम नै नितान्त नयाँ प्रतित हुन्छ । यी सवैको विश्लेषण प्राप्त लोकोक्तिहरू इतिहास तथा ऐतिहासिक सामाग्रीहरूको आधारमा निम्नानुसार गरिन्छ ।

मलाई यसबारे पहिलोचोटि बताउने व्यक्तिबाट सुन्दा लागेको थियो – त्यहाँ कुनै मध्यकालीन दुर्ग हुनसक्थ्यो जसलाई साधरणतः कुनै पुरानो दरवारको भग्नावशेष भन्ने गरिन्छ । तर त्यहाँ पुगेपछि म त पुरै आश्चर्यचकित नै भएं । त्यस्तो दुर्ग भनिनसक्ने खण्डहर रहेन छ त्यो । कुनै एक भव्य निर्माणको लागि प्रयोग भएका कलापूर्ण ढंगमा कुँदिएका ठूलाठूला ढुंगाका ब्लकहरू (टुक्राहरू) एकै ठाउँ थुप्रिएर रहेका रहेछन् त्याहाँ । ती ब्लकहरूमा खम्बा, तोरण, गजुर, दलिन, पेटी आदिका छेउ, टुप्पा, फेद, र बीचबीचका भागहरू स्पष्टै चिनिने देखिन्छन् । बनौटको कारणले पनि यो याहाँको भाग हो भनेर चिन्न सकिने । कुनैपनि भागलाई सकेसम्म एउटै ढुंगाको प्रयोग भएको । चेप्टै हुनुपर्ने सामग्री बाहेक लम्बा चौडा हुनपर्ने सामग्रीहरूका चौडाई र उचाई ३/४ फिटका छन् भने लम्बाई पनि ३/४ फिटदेखि १२ फिटसम्मका देखिन्छन् । हरेक भाग कलात्मक तथा आकर्षक ढंगले कुँदिएका देखिन्छन् ।

Kakre Bihar

त्यसमा काठहरूको पनि प्रयोग भएको थिएन भन्ने कुरा काठहरू प्रयोग हुनसक्ने दलिन, ढोका आदिका भागहरू स्पष्टै ढुंगाहरूबाटै बनेकाबाट स्पष्ट हुन्छ । यतिका गह«ौं ढुंगाहरू प्रयोग हुने निर्माणमा काठको प्रयोग हुन पनि त सक्दैन । त्यस्तै जुन हिसावमा यी ब्लकहरू बनेका छन् त्यसबाट स्पष्ट हुन्छ कि यसको जडानको लागि चुना वा माटोको प्रयोग भएको थिएन । अर्थात यी हेर्दैमा पनि जोड्न सजिलो नै लाग्ने ठूलठूला ब्लकहरू छन् । प्रत्येक ब्लकमा जडानको लागि ट्याप्प मिल्ने खाप, चुकुल र दुलाहरू बनाइएका देखिन्छन् । चुनाको अंश कत्तिपनि भेटिन्न । त्यस्तै यस थुप्रोमा माटो पनि उल्लेख्यरूपमा छैन । सैयूँ बर्षसम्म ढलेको अवस्थामा रहेको हुँदा हावाले ल्याएका माटो वा त्यसमा उम्रेका झारपातहरू कुहिएर बनेको माटो मात्र हुन् कि जस्ता देखिन्छन् ।

यी ब्लकहरूमा धम्मचक्र तथा बुद्धका मुर्तिहरू खोदिएका पाइएकाले यो निर्माण बौद्धसम्प्रदायको थियो भन्ने स्पष्ट हुन्छ । तर बिहार नै यो थियो भन्ने चाहिं मलाई लागेको छैन । विहार भनेको बौद्धभिक्षुहरू वा तीर्थयात्रीहरू बस्न हुने एउटा धार्मिक प्रयोजनका भवन भएकोले यसमा प्रयुक्त सामाग्रीलाई हेर्दा यो विहार लाग्दैन । ढुंगा मात्रको प्रयोग भएको हुनाले यो मन्दिर मात्र हुन सक्ने सम्भावना छ । विहार हुँदो हो ता मान्छे बस्नेगरी बनाउन पर्दा यसमा माटो तथा काठहरूको जडान हुन्थ्यो नै । यसको आकार हेर्दा पनि यो विहार लाग्दैन । यस्तो भव्यताका साथ बनाइएका विहारमा कमसेकम वीस तीसवटा कोठाको लागि ठाउँ हुनु पर्ने हो । यो त एउटा सानो क्षेत्रमा मात्र सिमित छ जुन बढीमा तीन आना भरिका मात्र होलान् । मान्छे बस्नकै लागि मात्र यत्रो खर्च सजधज वा मेहनत हुने थिएन । यो निश्चय नै मन्दिर नै थियो । यसका वरीपरी विहारहरू बनेका हुन सक्छन् जसको यो प्रमूखमन्दिर थियो ।

छरिएका ब्लकहरू हेर्दा र काठ वा जोडनहरू नभएको वास्तविकतालाई नियाल्दा यो मन्दिरको वास्तुकला झण्डै पाटनको कृष्णमन्दिरको जस्तो शीखरशैलीको थियो भन्ने लाग्दछ । जमीन माथि नै देखिने बडेमानका टुक्राहरूमा छ सातवटा त गजुरकै कलात्मक टुप्पाहरू छन् । मुनि कतिवटा पुरिएका होलान् भन्न सकिन्न । यस्तो लाग्छ यो मन्दिरका चारकुनामा तीनतीनवटा वा चारचारवटा गजुरका पुञ्जहरू थिए । यदि त्यसै हो भने त्यस मन्दिरमा बीचको मूख्य गजुरसमेत गरी जम्मा तेह्रवटा वा सत्रवटा गजुरहरू थिए भन्ने मेरो सोच छ । बाँकी गजुरहरू पनि मन्दिरको माथिल्लो भाग भएको हिसावमा तल नथिचिएर माथि नै हुनु पर्ने हो । चोरी भयो वा तोडफोड भयो खोजको विषय हुन आउँछ ।

यत्तिसम्मको यत्रो कलात्मक निर्माण कस्ले कहिले बनायो कसैलाई थाहा छैन । कसरी ढल्यो थाहाछैन । सुर्खेतको यो वसोबास नै औलो मासिएर ०१८ साल यता सुरु भएकोले स्थानीय आदिबासी थारु जातीमा नै यसबारेका तथ्यहरू संरक्षित हुनुपर्ने हो । त्यसवारे उत्तरदायी ढंगले खोज नभएको स्थिति छ । यतिसम्म कि यसलाई काँक्रेविहार किन भनियो भनेर सोध्दा सही उत्तर दिनेसम्म कोही भेटिएनन् । रामेछापबाट २००७ सालमा आएर यही गाउँमा बस्दै आउनुभएका बालकृष्ण मानन्धरले भन्नुभयो कि यो विहार स्थापना भएको डाडाँ काँक्राको स्वरूपमा भएकोले यसलाई काँक्रे डाडाँ भनियो र यस डाडाँमा अवस्थित विहारलाई काँक्रेविहार भनिएको होला । “होला” अर्थात यो उहाँको अड्कल हो जो सही पनि नहुन सक्छ ।

कसैकसैले यसलाई पाण्डवहरूका दरवार भन्ने गरेको पनि पाइयो । स्पष्टै बौद्धसाम्प्रदायका कलाहरू कुँदिएका यस निर्माणलाई कसरी भहाभारतका पात्रहरूसंग जोडियो कसैले भन्न सकेका छैनन् । बडेमानका ढुंगाहरूलाई देखेर बलशाली भीमसेनले मात्र यस्तो उठाउने काम गर्नसक्छन् भन्ने साधरण जनमानसको यो उपज हुनसक्छ ।

कसैकसैले भने यसलाई देवताको दरवार पनि भन्दछन् अरे । सुर्खेतको समस्त उपत्यका चौधौं शताव्दीतिर ‘सुरक्षेत्र’ अर्थात देवहरूको पूण्यभूमीको रूपमा चिनिइन्थ््यो भन्ने कुरा भोटको एउटा मठमा सुरक्षित “अभिसमयालंकार” भन्ने ग्रन्थले बुझाउँदछ । यो ग्रन्थ यसै भेगका राजा रीपुमल्लले रचेका थिए ।१ यो सुरक्षेत्र कालान्तरमा प्राकृतबोलीको ‘सुर्खेत’ हुन पुगेको कुरा विद्वानहरूले भन्ने गरेका छन् । यसै परम्पराले निर्देश गरे बामोजिम जनमानसले यसलाई देवताको दरवार भने होलान् भन्ने ठाउँ रहेको छ ।

देवताहरूको वासस्थानको रूपमा जोड्ने एउटा चल्तीको लोककथाले भन्दछ कि यो उपत्यका पहिले एउटा ठूलो तालको रूपमा थियो र पछि देवताहरू आई दक्षिणको पर्वत काटी यसको पानी निकास गरेर रातभरीमा खेत बनाए । मध्येभागमा रहेको एउटा उच्च भाग सम्याउन बाँकी रहँदैमा कुखुरा बासिहालेकोले देवताले खेत बनाउने काम छोडे र आज त्यसैले यो सम्मपरेको उपत्यकाको माझमा एउटा डाडाँ देखिन्छ भन्ने गरिन्छ । यही डाडाँ नै काँक्रेविहारको डाँडाँ हो । यस कथाले यो निर्माणलाई कुनैपनि तरिकाले सम्बन्धित बनाएको छैन तापनि पछि देखिन आएको यो कौतुहलमय निर्माणलाई यसै देवताको दरवार भनेर स्वीकार गरेको भान हुन्छ । अर्थात यो साधरण मानवीय घर वा मन्दिरहरूमा प्रयोग नहुने तथा मान्छेको बल भन्दा परका अभूतपूर्व ठूलाठूला प्रस्तरका सामग्रीहरूको उपस्थिति नै यो सोचको कारक हो भन्न सकिने ठाउँ छ ।

यसको निर्माण कसले कहिले ग¥यो भन्ने प्रश्नमा रोचक कथाहरू सुनिन्छन् । यो कथाले लाटीकोइलीको ४०० बर्ष पुरानो मन्दिरसंग सम्बन्धित बनाएको छ । भनिन्छ कि लाटालाटी र सालीभेना बीच मन्दिर कसले छिटो बनाउने भनेर होड चलेछ । त्यसपछि लाटालाटीले शीव मन्दिर र सालीभेनाले यो भव्य कलात्मक निर्माण बनाउन लागेछन् । लाटालाटीले सानो मन्दिर बनाएकोले भाले बास्न अघि नै मन्दिरको निर्माण सिध्याएछन् । तर सालीभेनाले भने कलात्मक तथा ठूलै निर्माण गर्न खोज्दा भाले बास्न अघि यसको निर्माण सिध्याउन सकेनछन् । उनीहरूलाई बीचैमा छोडेर जान परेछ । त्यसैले अहिलेको यो सामग्री थुपारिएको स्थितिमा मात्र रहनप¥यो । हार्ने सालीभेनाको पैतालाको छाप अझै देखिन्छ भन्दै द्यौतीबज्यैको परिशरमा पूजिएर राखिएका एउटा झण्डै डेढ फिट बर्गाकारको चप्लेटी परेको एक इन्च जति बाक्लो ढुंगामा दुइजोडी पाइतालाको छाप देखाइन्छन् । तर ती हेर्दैमा कुँदिएका देखिन्छन् ।

लाटीकोइलीको शीवमन्दिरको दैलोमा स्पष्टै वाराणासीबाट आएका आत्मनाथ र लंगननाथले वि.सं. १६९६ मा बनाएका भनेर उल्लेख भएको शिलालेख भएबाट स्थानीय लाटालाटीले बनाएको भन्ने लोकआहान सत्य देखिन्न । एउटा कथाले उल्लेख गर्दछ कि त्यो मन्दिरमा कुनैवेला एउटी लाटी पसेकी थिइन् रे र बाहिर निस्कँदा त्यसले बोलेको मात्र होइन त्यसको स्वर कोइलीको जस्तो मीठो थियो रे । त्यसैले यसलाई लाटीकोइलीको मन्दिर भनियो । यसबाट स्पष्ट हुन्छ कि लाटीकोइलीले यो मन्दिर बनाएर होइन कि त्याहाँ पस्दा तिनले बोल्न सकेको आश्चर्यपूर्ण घटनाको कारणले जनमानसले यसलाई लाटीकोइलीको मन्दिर भन्यो । यसै घटनाबाट प्रभावित भएका जनमानस आजसम्म लाटो बच्चालाई बोल्न सक्ने आशासाथ त्यस मन्दिरमा भिœयाउने गर्दैनैछ । यस्तो लाग्छ यही कथा भन्दाभन्दै जनमानसले यो कसले बनाएको हो भन्ने कुरा नै बिर्सिई लाटीकोइलीलाई नै यसको निर्माणको श्रेय दिएर नयाँ कथा सिर्जना गरेथे ।

जे होस् यो निर्माताको प्रशंग सत्यको नजीक नपुगेपनि यस कथाले यी दुवै मन्दिर एकै समयमा बनेका हुन् कि भनेर सोच्ने ठाउँ भने दिएको छ । तर यी दुवैमा प्रयोग भएका वास्तुकला, कला र सामाग्रीको तुलना गरेर हेर्दा त्यसरी तुलना गर्नपर्ने विषयनै यो लाग्दैन । लाटीकोइलीको शीवमन्दिर तुलनात्मक हिसावमा अति नै साधारण छ । ढुंगाबाट बनेका उस्तै लाग्ने मन्दिर भएकाले मात्र साधरण जनमानसले यस्ता कथा सिर्जेका हुन् । तै यसमा उल्लेखनीय संकेत यो छ कि देउताहरूबाट बनाइएका दरवार वा विहार भन्ने सोचको भने यसले खण्डन गरिरहेछ र यी मानव निर्मित हुन् भन्ने संकेत दिइरहेछ । साथै हामी कसैलाई पनि झस्काउने संकेत यो पनि छ कि कुनै कारणवश यो र्काक्रेविहारको निर्माण पुरा भएकै थिएन त्यसैले यो सामाग्री थुपारिएको अवस्थामा मात्र देखिन्छ ।

यसको निर्माण पुरा भयो वा भएन त्यसको विवाद आफ्नै ठाउँमा छँदैछ । निर्माण पुरा भएको भएपनि नभएको भएपनि उपलव्ध सामाग्रीहरूले भनिरहेछ याहाँ निर्माणकार्य भयो नै । त्यो कसले ग¥यो ? कुनै व्यक्ति वा गैह्रसरकारी संस्थाले यो बनाउन सकिने कुरा होइन भन्ने यसका एक दुई टुक्रा हेर्दैमा जोकोहीलाई पनि लाग्दछ । कुनै राज्यसत्ता र राज्यकोषको हात नभई यो बनेन नै । त्यो कुन राज्य वा राजा थियो जो यसको निर्माणमा संलग्न भयो ? । याहाँ प्रयोग भएका प्रस्तरको आकार प्रकार र कलाको गुणस्तरलाई हेर्दा सामान्य राज्य वा स्थायित्व नभएको राज्यले यो गर्न सक्ने कुरो अवश्यै लाग्दैन । तथा यो पनि लाग्छ कि एउटा राजाको राज्यकालमै वनिसक्ने कुरो पनि यो थिएन । अर्को उल्लेखनीय पक्ष यो पनि छ कि यसमा भएका कलात्मकता र वास्तुकला नेपालका कुनैपनि मन्दिर वा वास्तुकलासंग मिल्ने खालका छैनन् । नेपालीे भूभागमा पाइने नेवारी शैलीका कला र वास्तुकलाको यसमा छनकसम्म पनि छैन । साथै यी नेवारी कलाकृतिहरू भन्दा अवश्य नै कम गुणस्तरका छैनन् । अझ बढेर भन्ने हो भने सक्दोमात्रमा ठूलै ढुंगाहरूको प्रयोग गर्ने यसमा देखिएका प्रयासले बुझाउँछ कि नेवारी वास्तुकलामा नपाइएका विशिष्ठता यसमा छ । कलापक्षमै पनि यसमा पाइएका केही आकृतिहरू नेपालमा कतै प्रयोग नभएकाहरू पाइएका छन् ।

त यसलाई कसले बनाएको हो ? यसै क्षेत्रको विकास होकि भनेर शंकासम्म गर्ने ठाउँ छैन । किनभने यो बाहेक यस्ता अरू यत्तिनै उच्च मानिने स्तरका कला, वास्तुकला वा निर्माणहरू यस्ता शैलीमा यता पाइएकै छैन । यत्रो भव्य मन्दिर भएको ठाउँमा यता कतै सम्बृद्धीशाली शहर वा बस्ती वा राज्य हुनुपथ्र्यो । त्यो पनि कहीँ कतै आजसम्म पाइएको छैन । न त त्यस्ता शहरको भग्नावशेष नै पाइएको छ । केही ठाउँहरूमा भग्नावेष भएको कथा सुन्नमा आउँछन् । यस्ता ठाउँहरूमा फलानाले बारी खन्दा सुनको गाग्री नै भेट्यो । ढीस्कानाले कलात्मक प्रस्तर कलाकृतिहरू पाए, आदि । तर यी कुराहरूको पुष्टी हुन भने पाएको छैन । यस्ता केही ठाउँलाई पुरातत्व विभागले तारबारले घेरेर समेत राखेका छन् । तर उत्खनन् कार्य याहाँ भएको नै छैन । त्यसले त्यो ठाउँको निक्र्यौल भएछ नै भने पनि यसै स्तरको कलाकृतिको विरासत तिनले बोकेका छन् कि छैन भनेर थाहा हुने कुरा त अहिले असम्भव नै भयो । यस्ता जोडीका वास्तुकला यसै नेपालमा कतैपनि नदेखिंदा यो मन्दिर कतै भारतीय शासकहरूले बनाएका ता होइनन् ? भन्ने शंका गर्ने ठाउँ पनि रहेकोछ । तर त्यो अलि परकै कुरा हो । राज्यसत्ताले मात्र बनाउन सम्भव मानिने यस्तो भव्य निर्माणको लागि भारतीयहरूको यता राज्यविस्तार हुँदै नभएको सन्दर्भमा यो शंका पूर्णतः निराधार नै हुन पुग्छ ।

कर्णालीसंस्कृतिमा यत्तिसम्म बनाउन सक्ने संस्कृतिको विकास नै नभएको कुरा यता पाइने समस्त वास्तुकलाहरूले नै बताउँछ तापनि एउटा शंका गर्ने ठाउँ भने छँदै छ – के यताका राजाले भारतीय वास्तुवीद र कलाकारहरूलाई ल्याएर यसको सृजना ता गरेनन् ? यसको संभावना भने प्रचुर छ नै ।

सिंजाली खसराजाहरू बौद्धधर्मका अन्यन्य उपासक थिए । खसराजाहरूमा क्राचल्लको छोरा अशोकचल्लले वोधगयामा बौद्धविहार निर्माण गराएका कुरा त्याहाँनै प्राप्त अभिलेखमा वर्णन गरिएको छ ।२ अन्यत्र यस्ता निर्माण गरि हिंडने राजामहाराजाले आफ्नै राज्यभित्रका पूण्यभूमीमा झनै बनाउन सक्छन् भन्ने एउटा मान्यता बनाउन सकिन्छ नै । उनका पिताबाट ठूलै राज्य र राज्यकोष उसलाई प्राप्त थियो । साथै बोधगयामा विहार बनाएको अनुभव त थियो नै उनै कारिगरहरूलाई यता ल्याएर यो मन्दिर सहितको विहार बनाउन सजिलो पनि थियो । तर यदि उनले यो बनाएका भए निश्चय नै आफ्नै राज्य भित्र बनाएका यस्तो भव्य मन्दिरको निकै प्रशंसाका साथ कहीँ न कहीँ उल्लेख गरेका हुन्थे र वास्तवमा यस्तो उल्लेख कहीँ कतै आजसम्म पाइएको नै छैन । यस हिसावमा यस्तो शंका हुन्छ कि यसको सुरुवात त उनीबाट भयो तर पूर्णताको जिम्मा उनका उत्तराधिकारीहरूमा गयो ।

नेपालको इतिहास हेर्दा यस्तो देखिन्छ कि अशोकचल्ल पछिका उनका उत्तराधिकारी जितारिमल्लदेखि आदित्यमल्लसम्म जम्मा ४ पुस्ताका राजाहरूले ५१ वर्षसम्म नेपालमा ७ पल्ट (जितारीमल्लले वि.सं. वि.सं. १३४४३, १३४५४ र १३४६५ मा ३ पल्टसम्म, रिपुमल्ल, पून्यमल्ल र अदित्यमल्लले वि.सं. १३७८६, १३८४७, १३९१८, १३९४९ मा जम्मा ४ पल्ट) आक्रमण गरे । यी आक्रमणहरूको विशेषता यही रह्यो कि उनीहरूले प्रत्येकपल्ट आगो लाउने, शहरवासीलाई बनतिर धपाउने र रित्तो शहरमा लुटपाट मच्चाएर फर्कने तथा पछिल्ला पटकका आक्रमणहरूमा करदमा पारेर फर्कने गरे । अर्थात राज्य हत्याउने प्रयत्न यी थिएनन् । धनसम्पति जुटाउने प्रयत्न थिए । ठूलै नोक्सानीहरू सहेर गरिएका यस्ता आक्रमणहरू सीर्फ धनकैलागि गरिन्छ भने त्यस्तो के आवश्यकता थियो यी राजाहरूलाई ? विशेष एउटा स्थीर र सम्बृद्धीशाली राज्यमा ? के यही मन्दिर बनाउने पुख्र्यौली जिम्मालाई पुरा गर्न यस्तो गरेका त थिएनन् ? यो बलियो सम्भावना छ ।

यो भवनको भव्यतालाई हेर्दा र एकै राजाको राज्यकालमा यस्तो निर्माण हुन सक्दैन भन्ने मान्यता राख्ने हो भने निश्चय नै यसको शिलान्यास गर्ने वा बनाउने सोचको पहिलो राजा अशोकचल्ल नै थिए । उनले बोधगयाको विहार बनाइसकेपछि त्यताकै कारीगढहरूलाई ल्याएर यो कार्य याहाँ शुरु गराएका हुन सक्छन् । पछि उनका सन्तानहरूलाई त्यो पूर्ण गर्न वाध्यता थियो र वेलावेलामा आक्रमण गर्दै करमा पारेर कर उठाउने नत्र आगो लगाएर भगाएर भएपनि लुट्ने उनीहरूले कामहरू गरे । तर यी सव पनि अड्कलै मात्र भए । यदि यसै हो भने यो कुराको संकेत अशोकचल्लको शिलालेखमा नभए उनी पछिका राजाहरूमा त हुनु पर्ने ? ती कुराहरूको संकेत तीनमा पाइएका छैनन् ।

हामी यसलाई काँक्रेविहार भनेर मात्र चिन्दर्छौं यसका वास्तविक अर्कै नाम हुन पनि सक्छन् र त्यो हामीलाई आजसम्म थाहाछैन । आजसम्म त्यस्ता शंका गर्न सकिने सम्भावित नामहरू हाम्रा अघाडी प्राप्त छैनन् सिवाय यो कि रिपुमल्लले ‘सुरक्षेत्र’ भन्ने नाम आफ्ना रचना ‘अभिसमयालंकार’ मा उल्लेख गरेका छन् । सुरक्षेत्र भनेको सुर्खेत उपत्यका पुरै हुदाँहुदै पनि त्यसको मुटु स्थान यही काँक्रेविहार डाँडो हो भन्नलाई लोकोक्तिहरूले यसलाई दिएका महत्ताहरूबाट नै प्रयाप्त छ । रिपुमल्लले कुन ठाउँ वा गाउँ वा शहर वा विहार वा दरवारमा बसेर यो कृतिको रचना गरे ? त्यस्तो स्थान आजसम्म भेटिएको छैन । सम्राट सरहको राजा बसेर लेख्ने ठाउँ निकै नै भव्य नै हुनुपर्छ । स्थान पनि काँक्रेविहारजस्तै नै महत्ताले भरिपूर्ण हुनपर्छ । मलाई लाग्छ त्यो स्थान यतै यो भव्य निर्माण वरपरकै क्षत्रमा उत्खनन् पर्खेर बसिरहेको छ । एउटा बलियो सम्भावना याहाँ छ – के रिपुमल्लले यो निर्माणकै रेखदेख गर्ने क्रममा यो रचना गरेका ता होइनन् ? त्यसै हो भने यतै यसै क्षेत्रमा उनले बस्ने गरेका दरवार वा कोठी याहाँ थिए ।

सुरक्षेत्रको अर्थ हुन्छ देवताहरूको स्थान । किमवन्तिहरूले भनेका देवताहरूको क्षेत्र, अनि यीनै भग्नावशेषलाई देवताको दरवार भन्नु के यसैको संकेत त होइन ? यता सुरक्षेत्र जस्ता राजाहरू बसेर रचना गर्ने पूण्यभूमी कतै भेटिएका छैनन् । र याहाँ नै आजको आश्चर्यकै सीमाको भव्य निर्माणको अवशेषले नामसम्म पाएको छैन । यसको अर्थ के लाग्छ ? म विश्वस्त छु यस मन्दिरको पुनर्रुद्धार कार्य गरेमा तल कसैको नभएपनि रिपुमल्लका शिलालेख वा केहीनकेही संकेत अवश्यै भेटिनेछन् । रिपुमल्ल भनेको आफ्ना किर्ति राख्न अत्यन्तै सचेत राजा थिए । उनले अरूकै स्तम्भमा समेत आफ्ना नाम खुदाउन पछि नपरेका प्रमाण छँदैनै छ ।’उनले निग्लिहवा र लुम्विनीका अशोकस्तम्भहरूमा क्रमशः “ॐ मणी पद्मे हुँ श्री रिपुमल्लश्चिर जयतु” र “ॐ मणी पद्मे हुँ श्री रिपुमल्लश्चिरञ्जयतु संग्राम (म) ल्ल जयः” भन्ने अक्षरहरू खुदाएका छन् ।१०”

यो मन्दिरको पतनको बारेमा खालखालका अड्कलहरू काटिएका छन् । धेरैले बुद्धधर्मको विरोधी शंकराचार्यले यो भत्काएको हो भन्ने सोच राख्दछन् । शंकराचार्यले उनका समय आठौं शताव्दीतिर यस्ता धेरै भवनहरू ठाउँठाउँमा ढालेका पनि हुन् । तर यो मन्दिरनै अशोकचल्लले वि.सं १३३२ देखि बनाउन सुरु गरेको भन्ने मान्यता राख्ने मेरो लागि दुवैको समयलाई ध्यानमा राख्दा फिट खाने कुरा लागेन । दुल्लुदैलेख निवासी डिलबहादुर जिसीले आफ्नो लेख “काँक्रे विहारको ऐतिहासिक पक्ष ः खस राज्यहरूको सन्दर्भमा” मा यसको पतनको लागि तीन कुराहरूमाथि अड्ल काटेर विवेचना गर्नु भएको छ । त्यसैको सन्दर्भमा विवेचना गरी हेरौं ।

जि.सि.जीको पहिलो अडकल यो छ कि यो मन्दिरलाई दिल्लीसम्राट गयासुद्दीन तुगलकले वि.सं. १३८१ (यो १३८२ हनुपर्छ) मा वंगालको विद्रोह दवाएर यही बाटो गरी फर्कने क्रममा सिम्रौनगढ धोस्त पारेपछि यसलाई पनि यता पसेर धोस्त पारेका हुन सक्छन् । गोपालराज वंशावली अनुशार वि.सं. १३८२ मा गयासुद्दिन सिम्रौनगढतिर आउँदा राजा हरिसिंहदेवले उनीसंग युद्ध गरेर हारेको र आफै भागेको भन्ने देखिन्छ । तर गयासुद्दीन त्यताबाट कता गए भन्ने कुरा यसमा उल्लेख छैन ।११ यसमा पहिलो ता गयासुद्दीन यही बाटो फर्के होलान् भन्ने एउटा अडकलै मात्र देखिन्छ । दोश्रो, उनले यही बाटोबाट फर्केर यसलाई ध्वस्त पारेका भए निश्चयनै त्यस काल वा त्यसपछिका राजाहरू आदित्यमल्ल, कल्याणमल्ल, पुन्यमल्ल र पृथ्वीमल्लका वि.सं. १३९५ सम्मका शिलालेख, कनकपत्र, ताम्रपत्र आदिमा कतै न कतै यसको वर्णन पर्नपर्ने थियो ।१२ यत्रो ठूलो घटनाको कहीँ कतै वर्णन भेटिएको छैन । यो घटना अलि पछि नै घटेको हुनसक्छ । बरू वि.सं. १४०६ मा शमसुद्दीनले नेपालमा आक्रमण गरेको बेलामा१३ यता पसेर विध्वंश ग¥यो होला भन्ने सोच अलि बलियो प्रतित हुन्छ ।

शमसुद्दीन यता आयो होलान् भन्ने कुरा मेरो पनि अड्कलै मात्र हो तापनि मुसलमानहरूको हिन्दु तथा बौद्धधर्मका केन्द्रहरूमा आक्रमण गर्ने इतिहासलाई हेर्दा यत्रो सम्पदा नष्ट गर्ने कुनै जमात छ भने मुसलमाननै हुनुपर्छ भन्ने सोच मेरो पनि छ । वि.सं. १४०६ सम्ममा यो निर्माणले वि.सं. १३८१ को तुलनामा निकै आकार लिइसकेको हुनपर्छ र यसको ख्याति टाढाटाढासम्म पुगेको हुनुपर्छ जसलाई समसुद्दीनले नेपालमा हुँदाखेरि नै सुने होलान् ।

त्यसवेलातिर खसहरूका राज्य अन्त हुने स्थितितिर आइपुगेका थिए १४ यस्तो अवस्थामा ठूला घटनाहरूको अभिलेख राख्ने मनस्थितिको ता कुरै भएन राज्य जोगाउनै हम्मे परिरहेको थियो । त्यो राज्य समसुद्दीन जस्ता आततायीको प्रतिकार गर्ने अवस्थामा निश्चयनै थिएन । त्यसैकारण समसुद्दीनको आक्रमण त्यो पनि राज्यको दक्षिणी भागमा भएकोलाई खसराजाले नीच मारेर ध्यान दिएनन् । हुनसक्छ आक्रमण पछि झनै टाउको उठाउने स्थितिमै उनीहरू रहेनन् र निमार्णको उद्धार गर्ने त कुरा परै रह्यो यसलाई पुरै विर्सन नै कर प¥यो । अथवा हुनसक्छ त्यसवेलासम्ममा दक्षिणतिरकै सामन्तहरूले यो भेग आफ्ना हातमा पारिसकेका थिए र उनीहरूले पनि यसलाई जोगाउन सकेनन् र यो धारासायी भयो । अन्ततः यसको लेखा राख्ने नै कोही नभएर वेवारिसे ढंगमा पतन भयो ।

जि.सी.जी दोश्रो अड्कलमा भन्नुहुन्छ कि यसलाई सत्रौं शताव्दीतिर शैवहरूले ढालेका हुनसक्छन् । यो सोचलाई एक किलोमीटरको दुरीमा रहेको वि.सं. १६९६ बनेको शिवमन्दिरसंग सम्बन्धित बनाइएको छ । उहाँको सोच अनुसार यस मन्दिर बनाउने शैवहरूले यो बौद्धविहार भत्काएर त्यसैका प्रस्तरहरूले यो मन्दिर बनाएका हुन् । तर ढुंगाहरूको आकार र प्रकार हेर्दा त्यस्तो कत्तिपनि प्रतित हुदैन । नीकै साना छन् यसमा प्रयोग भएका ढुंगाहरू र साथै यीनमा बुट्टाहरू पनि देखिन्न् । कमसेकम सामान्य बुट्टाहरू ता हुनुपथ्र्यो नै । त्यो निर्माणलाई उनै शैवहरूले ढालेका हुन सक्छन् । तर त्यसैका ढुंगाहरू यसमा प्रयोग गरियो भन्ने सोच युक्तिसंगत देखिन्न ।

जि.सि.जीको तेश्रो र अन्तिम सोच खस राजाहरूको पतन पछि यसको उचित संरक्षण हुन सकेन भन्नेछ । अँैलोको प्रकोपको कारणले यो उपत्यका नीर्जन बन्यो र कुनै ठूलै भूकम्पले यो ढल्यो होला भन्ने अड्कल छ । खस राजाहरूको पतन राजा अभयमल्ल को पालामा वि.सं. १४३३ पछि केही बर्षमै सामन्तहरूको हातमा गएपछि भएको देखिन्छ । खसहरूको राज्यपतनसंग यसको पतनको सम्बन्ध छ भने त्यो यो हो कि यो निर्माण पूरा नहुँदैमा नै राज्यको पतन भइसकेको हुनुपर्छ । चाहे त्यहाँ समसुद्दीनको आक्रमण होस् वा न होस् । यदि समसुद्दीनको आक्रमण यता भएको थिएन भने यही भन्न पर्ने हुन्छ कि जव सामन्तहरूले टाउको उठाउन लागे तवदेखि नै पृथ्वीमल्ल र उनका उत्तराधिकारी अभयमल्लले राज्यको दुरावस्थालाई नियन्त्रित गर्न नसकेको अवस्थामा यसको निर्माण कार्यलाई नै छोडिदिए होलान् । खसराज्यको पतनपछि सुरखेतको भेग एउटा सामन्तको हातमा प¥यो र उसले यसको निर्माण कार्य पुरा गर्ने कुरै रहेन र यो पूर्णतः त्यक्त र वेवारिस हुन पुग्यो होला । याहाँ भन्दा बढी सम्भावाहरू आँक्न नसकिने स्थिति छ ।

यसको सवै पूर्वसोच भनेको निर्माण कार्य पूरा नहुँदैमा यसको अन्त पनि भयो भन्ने हो । नत्र राजबंशको पतन हुँदैमा बनिबनाउ धार्मिक स्थलको पतन भयो होला भन्न अलि नपच्ने नै कुरा लाग्दछ । धार्मिक आस्थाहरू राजाले काँध थापेर मात्र निरन्तरित भइरहने होइन । त्यो आस्था त जनताका मनमा हुन्छ । जनता आस्थावान रहेसम्म त्यसको पतन हुनुपर्ने कुनै कारण छैन । ढलेकै मन्दिरहरूमा पनि जनता पुज्न पुग्दछन् । यहाँ त त्यस्तो पूज्ने परम्पराको त कुरै भएन । यो के थियो भन्नेसम्म विर्सिएको स्थितिमा त्यो जनताको आस्थाको केन्द्र नै थियो भन्ने कुरामै शंका भइरहेको छ । बुद्धधर्म भनेको राम्रै स्थापित धर्म थियो त्यस भेगमा । मुसलमानहरूको ताडनाबाट भागेर आउने भारतिय भिक्षुहरू यतै पसेको तथ्य इतिहासले दिइरहेछ । त्यस्तो स्थितिमा राज्यको पतनै भएपनि त्यो परम्परामा ह्रास नआउनु पर्ने हो । अझ राज्य स्वयंले कुनै पनि मठ वा मन्दिरहरूको संचालन गर्दैन नै । त्यसको संचालन तथा संरक्षणको लागि गुठीहरू राखिदिएका हुन्छन् । राज्य पतन हुँदैमा त्यसको पतन हुनु पर्ने कुनै कारण छैन । गुठीहरू रहेसम्म त्यसको पतन हुनै सक्दैन । गुठीको परम्परा भनेको निरन्तरित भइनै रहने कुरा हो । इतिहासै मासिएपनि त्यो गुठी निरन्तरित भइरहने हुँदा कमसेकम गुठी मासिने कुरै रहँदैन । त्यस्तो गुठी थियो भने त्यो अद्यापि कतै हुनुपर्ने हो । त्यस्ता गुठीहरूको कतै उल्लेख पाइएको छैन नै । अतः राज्य पतनसंग यसको पतनको कुरा होइन निर्माण कार्य नै पुरा नभएर यो स्थिति भयो भन्ने मेरो जिकिर छ ।

माथिका विवेचना गर्दा जताबाट पनि यस्तो महत्वपूर्ण लाग्ने भग्नावशेषलाई चिनाउने कहीँ कतै लौकिक प्रमाण नपाएको स्थितिले यही निस्कर्ष दिन्छ कि यो मन्दिर पूर्णरूपले बनीनसक्दै कुनैपनि कारणवश् यसमा व्यवधान आयो र पुरा गरिएन । ती व्यवधानमा समसुद्दीनको आक्रमण पनि हुन सक्दछ र खसराज्यको पतन पनि कारक हुन सक्दछ । पुरा हुन नपाएको त्यस निर्माणलाई पुरा गर्न कसैलाई आँट आएन र त्यसलाई त्यतिकै छाडे ।

युगौं विते । आउने पुस्ताहरूलाई यसको हेक्कै रहेन र यो यत्तिकै अनजानकै गर्भमा रह्यो । जव फेरि युगौं पछि यसलाई कसैले भेटे, यसका विशेषता अनुरूप थरीथरीका किमवदन्तिहरू सीर्जना भए । यो कुरा सम्भव नहोला भन्ने ठाउँ छैन । भारतका अजन्ता र एलोराका गुफा र लुम्विनीकै अशोकस्तम्भ पनि यसरी नै धेरै समयसम्म गुमनाम रही पछि पत्ता लागेका हुन् । यदि त्यसै हो भने स्थानीय आदिवासी थारुहरूमा यसको बारेमा केही सूचनाहरू छन् कि खोजी गरेमा केही न केही संकेत मिल्नेछ ।

यस निर्माणका सवै भागहरू त्यहाँ नै सुरक्षित छन् । माथिल्लो भाग मात्र ढलेर तलका भागहरू यथावत रहने राम्रै सम्भावना छ । माथिका भागहरूलाई पन्छाएमा तलका अंशलाई अवश्यै देख्न सकिने छ । तर यदि अन्य सम्प्रदायका शत्रुहरूले यसलाई ढालेका हुन् भने फेदैलाएर ढालेका हुनसक्ने हुँदा तलका अंशहरू जस्ताको तस्तै नरहेका पनि हुन सक्छन् । तथापि तल हेर्ने कार्य फलदायक नै हुन सक्ने मेरो सोच छ । यस प्रयाशले यसमा तलका भाग देखिने मात्र होइन कि त्यहाँ मूलमूर्ति तथा अन्य धेरैखाले मूर्तिहरू हुनसक्ने साथै शिलालेखहरू पाइनसक्ने ठूलै सम्भावनाहरू छन् । अझ त्यसताका प्रयोग हुने सरसमानहरू, पूजाका सरदाम, सिक्का, हातहतियारहरू आदि हुनसक्ने सम्भावनाहरू पनि उत्तिकै छन् । माटोको जडान नभएको मन्दिर भएको हुँदा तल पाइने सामग्रीहरूको वास्तविक स्वरूप नविग्रेका हुनसक्छ । वा विग्रेको भएपनि उनका स्वरूपलाई हेर्न बुझ्न वा अध्ययन गर्न सजिलो पर्ने छ । त्यति मात्र होइन भवितव्य परेर यो मन्दिर ढलेको रहेछ भने नरकंकालहरू समेत हुनसक्ने सम्भावना छँदैछ । विजातीहरूले ढालेका रहेछन् भने ढाल्ने औजारहरू पाइनेछन् । विजातिहरूसंग संघर्ष भएको रहेछ भने हातहतियार समेत पाइनेछन् । मन्दिर भित्र पाइने सामग्रीहरूको अध्ययन गरेर यो मन्दिरको पतन कसरी भयो भन्ने कुराको अध्ययन सजिलै गर्न सकिनेछ । उत्खनन् कार्यले यसको पतन मात्र होइन कि यसका सम्पूर्ण इतिहास कोर्न नै सधाउ पु¥याउने छ । निर्विवादैछ ।

राष्ट्रको यत्रो नीधि यसै वेवारिसे पडिरहेछ । कसैलाई मतलव छैन यत्रो नीधि के थियो ? र कसरी यसको पतन भयो ? यस्तो लाग्छ – यो नीधिले आफ्नो दुर्दशा देखाइरहेको छैन अपितु राज्यको गैह्रजिम्मेवारी र नालायकपना यसले प्र्रदर्शित गरिरहेछ ।

अस्तु ⁄

सन्दर्भ सामग्रीहरू

1. Medieval Nepal – Part I, .Dr. DR. Regmi
२. साभार इतिहास– संसोधनको प्रमाण प्रमेय
३. कर्णाली प्रदेशको ऐतिहासिक रूपरेखा – धनबज्र बज्राचार्य
४. जनमञ्च – ०५० माघ, ७–१७, काठमाण्डौं
५. काँक्रीविहार (स्मारिका) – ०५३, काठमाण्डौ
६. वालकृष्ण मानन्धरसंगको अन्तरवार्ता
7. प्रेममानसंगको अन्तरवार्ता

सुर्खेत, ०५५, चैत्र १४

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: