मलेसियामा लुम्बिनी र बौद्धस्थलको पहिचानवारे फोटो प्रदर्शनी
Posted by Ram Kumar Shrestha on October 8, 2013
रामचन्द्र नेपाल, क्वालालम्पुर । भारतका केही संचार माध्यमले तथा केही पुस्तकहरुमा बुद्धको जन्म भारतमा भएको भन्ने भ्रम छरिरहेका बेला लुम्बिनी र बौद्धस्थलहरुको पहिचानका बारेमा मलेशियामा बृहत फोटो तथा बृत्तचित्र प्रदर्शनी गरेको छ । बुद्धको जन्म लुम्बिनी नेपालमा भएको भन्ने सन्देश दिन राजधानी क्वालाम्पुरको महावौद्ध विहार व्रेकफिलमा आइतवार बृहत फोटो तथा बृतचित्र प्रदर्शनी गरिएको हो ।
निजी खर्चमा ७६ वटा लुम्बिनी कपिलबस्तु लगायत बौद्ध तिर्थस्थलका फोटो बोकेर आएका रुपन्देहीका संचारकर्मी चेतन पन्तको सहयोगमा एनआरएन मलेशियाले यस्तो बृहत प्रदर्शनी आयोजना गरेको हो । बिश्व शान्तिको मुहान तथा दया एव करुणाका पात्र भगवान बुद्ध जन्मस्थल लुम्बिनी हो तथा बुद्धले २९ बर्ष राजकुमार जिवन बिताएको शाक्य राजधानी कपिलबस्तु नेपालमा पर्दछ भन्ने बिश्व सामु छर्लड. पार्न एनआरएनले प्रदर्शनीको आयोजना गरेको बताएको छ । संसारभरीका नेपालीहरुले लुम्बिनी नेपालमा पर्दछ भन्ने अभियान चलाईरहँदा, आफ्नो पनि नेपालीसंगै मिलेर यो अभियानलाई सफल पार्न बिभिन्न देशमा हिडिँरहेका फोटो संग्रहकर्ता एवं संचारकर्मी चेतन पन्तले बताए । उनले यस अघि हडकड, थाइल्याण्ड र अमेरिकामा पनि यस्तै अभियान चलाएको जानकारी गराए ।
प्रदर्शनीमा फोटोसंगै २६ मिनेट लामो अग्रेजी भाषामा तयार गरिएको लुम्बिनी सम्बन्धी बृत्तचित्र समेत देखाइएको थियो । फोटो तथा बृतचित्र संचारकर्मी पन्त तथा उनका भाई शम्भु पन्तले छायांकन गरको हुन् । पन्तसंगै लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी किशोर जोशी, अभिनाश श्रेष्ठ र निराकार पन्त पनि मलेशिया आएका छन् ।प्रदर्शनी हेर्न मलेशियामा रहेका विभिन्न बौद्ध संघ सस्थाका प्रतिनिधी नेपाली समुदाय लगायत सयौँको संख्यामा आएका थिए ।
‘हाम्रा सस्कृति तथा सम्पदाको पहिचान नेपालीले नै गर्नु पर्दछ, अरुले हैन’ भन्ने भावनाको जागरण गराउन मलेशियामा रहेका गैरआवासिय नेपाली संघले अभियानलाई अगाडी बढाएको एन आर एन मलेसियाका अध्यक्ष शंकर बहादुर पौडेलले जानकारी गराए । प्रदर्शनीबाट लुम्बिनीको पहिचान मात्रै होईन पर्यटन प्रबर्धनमा पनि निकै सघाउ पुगेको अभियान समन्वयकर्ता राजु शर्माको भनाई छ । कार्यक्रम सफल गराउन सहयोग पुर्याउनेहरुलाई सो अवसरमा ढाका टोपि दिएर सम्मान समेत गरिएको थियो ।
Leave a Reply