Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

४० बालबालिका स्याहार्दै अविवाहिता सविता

Posted by Ram Kumar Shrestha on October 22, 2014


जीवनलाई भाग्यको खेल मान्ने या कर्मको प्रतिक, यो आम मानिसहरुको अन्तरमनमा दगुर्ने प्रश्न हो तर जीवनलाई भाग्यको खेल भन्दा पर राखेर असल कर्म मार्फत जिन्दगी बदल्ने अभियानमा सरिक हुनेहरुले नै सफलताको मिठो स्वाद चाख्छन् । एउटी अविवाहिता युवती कर्म मार्गमा यसरी नै अविचलित रुपमा लागिरहेकी छिन् ।

कोटेश्वर – काडाँघारी सडकखण्ड अन्तर्गत पुरानो सिनामंगलको सेतो घर नजिकै एउटा विशेष स्कूल छ । पहेँलो कलर पोतीएको स्कूलमा बौद्धिक अपाङ्गता तथा ‘अटिजम’ भएका बावाबालिकाहरुलाई स्याहार्दै गरेकी एक युवती भेटिन्छिन् । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर गर्दै गरेकी अविवाहीता ती युवती करिव चालिस जना अपाङ्गता भएका बालबालिकाहरुको स्याहार, सुसारकर्ता भएकी छिन् । फरक–फरक आमाहरुले उनीहरुलाई जन्म दिए पनि कर्म दिने, जिन्दगीको संघर्षपूर्ण यात्रामा जीवनको रंग सजाउँदै बाँच्न सिकाउने आमा भएकी छिन् ।

। सत्ताईस बर्षे भरभराउँदो जवानीमा तथा ‘लाऊँ लाऊँ खाऊँ खाऊँ’कै उमेरमा अति सघन मानसिक अपांगता (अटिजम) भएका बच्चा स्याहारिरहेका उनी आफ्नो पेशाप्रति लगनशिल मात्र होइनन् उत्तिकै सन्तुष्ट पनि छिन् ।  शारिरिक हिसावले अशक्त, मानसिक हिसावले अस्वभाविक, सघन बौद्धिक अपाङ्गता भएका विशेष प्रकृतिका बालबालिकाहरु परिवारको बोझ बन्ने गर्दछन् । तर, समाजमा हेपिएका तथा परिवारको बोझ ठानेका बालबालिकाहरुलाई नयाँ जीवन दिन पाएकोमा उनी सन्तुष्ट छिन् ।  उनीहरुलाई उचित किसिमको हेरचाह गर्ने, स्वास्थ्य, शिक्षामा विशेष ध्यान पुर्याउने हो भने उनीहरुको जीवन बदल्न सकिन्छ भन्नेमा पनि उनी दृढ संकल्पित छिन् ।   

अप्ठ्यारा प्रकृतिका बालबालिका स्याहार्न परेकोमा उनको अनुहारमा किञ्चित झन्झट र दुःख तथा निराशाका रेखा भेटिँदैनन् बरु फुरुङ छिन् । हँसिली देखिन्छिन् । समाजमा हेयभावले हेरिएका, परिवारको उपेक्षाको पात्र बनेका, खोटो भाग्य बोकेर जन्मेका अभागी कर्म भएका भनिएका र पारिवारिक माया ममता समेतबाट अलग्गिएर कष्टकर तथा दुःखदायी जीवन व्यतित गरिरहेका निर्दोष र निष्कपट बालबालिका सम्हाल्न र तिनको असली अभिभावकत्व निभाउन पाएकोमा उनले आफैँलाई भाग्यमानी ठानेकी छिन् ।

पाँच बर्ष अगाडी राष्ट्रिय अपाङ्ग कोषको जागिर खाँदै पढाईलाई निरन्तरता दिँदै गर्दा जीवनका लक्ष्य अनेकन थिए । अचानक एकदिन फोहोरको डङ्गुरमा अर्काले मिल्काएको पुस्तक नियाल्दै अक्षर चिन्ने कोशिस गरिरहेको एक अवोध बालकलाई देखेर उनी अचम्मित मात्र भईनन् जीवनलाई तीनै बौद्धिक अपाङ्गता भएका बालबालिकालाई ‘केही गर्ने’ र योगदान दिने सोच बनाएर जीवनको बाटो नै बदलिन् ।  उनले यस्तो कष्टकर पेशामा किन हात हालिन् र बौद्धिक अपाङ्गताको क्षेत्रमा नै केही गर्ने सोच राखिन् त भन्ने प्रश्नमा ‘समाजमा हामीले हाम्रो भूमिका खोज्ने होईन देखाउने हो, शारिरिक अपाङ्गता भएकाहरुले त जीवनमा धेरै गर्न सक्छन् भने हामी सवलाङ्गहरुले किन सक्दैनौँ ?’ भन्छिन् । उनी अझै थप्छिन् ‘हरेक चुनौतीसँग मुकाविला गर्दै अगाडि बढ्न सिक्नुपर्दो रहेछ । मानिस जन्मँदा सबै उस्तै प्रकृतिले जन्मने हो, भगवानले सबैलाई सबै चिज बरावर दिएकै छन्  तर आफुसँग भएको क्षमतालाई फरक–फरक तरिकाले उपयोग गर्नु पर्दछ, मलाई यो क्षेत्रमा लाग्न पाएकोमा गर्व अनुभुती हुन्छ ।’

आफुलाई राम्रो र उत्कृष्ट देखाउन र समाजमा अव्वल सावित हुन प्रशस्त रुपैयाँ पैसा र धन सम्पत्ति कमाउने होडबाजी चलेको र  पैसा कमाउनका लागि जे जस्तो गर्न पनि पछि नपर्ने आजको समाजमा पाएको जागीर गुमाएर समाजसेवामा होमिने विरलै मानिस भेटिएलान् तर उनी पारिवारबाट समेत उपयुक्त माया नपाएका आफ्नै घरमा साङ्लोमा बाँधिएर कैदी जस्तो अमानवीय र कष्टकर जीवन व्यतित गरिरहेका बालबालिकाहरुलाई जीवनको रङ्ग देखाँउदै बाँच्ने ढङ्ग सिकाउँने र सङ्घर्षको पाईला चाल्न ‘ताते’ गराउँछिन् । तिनको जीवनको सहारा बनेकी छिन् ।

मनकारी हातहरुले दिएको ‘मुठ्ठि चामल’ सरहको सहयोग जम्मा गरेर ‘शित उभाउँदै घैला भर्दै’ तथा कहिल्ये सहकारीबाट समेत ऋण काढेर विशेष बालबालिकाको स्याहारमा रातोदिन मरिमेट्दैछिन् उनी । दुई बर्ष अघि डि.भि भिसा मार्फत अमेरिका जान पाएको अवसर लत्याएर र सुन्दर भविष्य निर्माण गर्ने अमेरिकी भिसा चिट्ठालाई दराजमा थन्क्याएर तिनै बालबालिकाको अनुहारमा आफ्नो समृद्ध भविष्य नियाल्दै आफ्नो उद्देश्यमा दृढ निश्चयी सविता सबैका लागि उदाहरणीय पात्र बन्दैछिन्  ।

आँखामा अथाह सपना सजाउँदै पढेर समाजका सामुन्ने ‘ठूलो मान्छे’ बन्ने अठोट बोकेर चौध बर्ष अघि दोलखाको नाम्दुबाट राजधानी भित्रँदै गर्दा उनीसँग सपनाका चाङ् थिए । संघर्षका दौरानमा उनले धेरै क्षेत्रमा सफलता हात पारिन् पनि । जीवनमा कहिल्यै पछाडी फर्केर हेर्नु परेन  । सदैव अगाडि बढि नै रहिन् । केही बर्ष नीजि स्कूलमा अध्यापन गरिन् । राष्ट्रिय अपाङ्ग कोषमा अधिकृत सरहको जागीर पनि खाईन् । जीवनमा सम्भावनाकाबाटाहरु छरपष्ट भेटिए तर उनले लक्ष्य जसलाई बनाईन र पूर्तिका लागि जोखिम उठाइन् त्यसले नै जीवनमा सवैभन्दा बढि आत्म सन्तुष्टी  मिल्यो । “मरेर केही पनि लैजान नमिल्ने भन्दै” उदार तर्क राख्दै  “आफुका लागि त जो पनि बाँचेकै छ नी समाजका लागि केही गर्नुपर्छ” भन्दै युवाहरुलाई अनुकरणीय व्यक्तित्व बन्न सुझाउँछिन् ।

उप्रेती परिवारकी माईली छोरी, हुर्केबढेकी तथा पढेकी पनि ।  विहावारी गरेर आफ्नो घरसम्हाल्नुपर्ने समयमा बौद्धिक अपांगता भएका सघन प्रकृतिका बच्चा सम्हाल्ने तथा उनीहरुको जीवनलाई सहज बनाएर आफ्नो व्यक्तिगत जीवनप्रती उदासिन देखिएकीमा उनका आमावावु पनि दुःखी छैनन् । उल्टै आमा विहान देखि वेलुका सम्म सँगै बसेर सघाउँछिन् । आमाछोरी साथीसंगी जस्तै देखिन्छन् । दुवै जुटेका छन् बालबालिका स्याहार्न । दाजुभाइले पनि साथ दिएका छन् । बावाले पनि वेलावखत सरसहयोग जुटाईदिरहन्छन् । दह्रीलो पारिवारीक साथ पाएकी छिन् उनले ।

केही समय अगाडि मात्रै उनको केन्द्रमा एक जना अटिजम भएको बालक भर्ना भएको छ । ती बच्चालाई उनकी आमाले मरोस् भनेर पटक पटक भीरबाट गुल्टाउने प्रयत्न गरिछिन् । उनका काका पर्नेेले उद्धार गरेर केन्द्रमा ल्याईपुर्याए छन् । आफ्नै आमाले मार्न खोज्ने त्यस्ता बालाबालिकाको वास्तविक संरक्षणकर्ता को हो त ? त्यस्ता विशेष प्रकृतिका बालबालिका हरुलाई कसले स्याहार्ने ? तिनका पालनकर्ता को हो ? कसले हेरिदिन्छ तिनीहरुलाई ? अपाङ्गता हुनु अपराध वा पुर्वजन्मको फल नै हो त ? उनी प्रश्न गर्छिन् र उनीहरुलाई नयाँ जीवन दिन सकेको र संसार चिनाउन पाएकोमा सन्तोषको लामो श्वास फेर्छिन् । उनको गुनासो छ, अपाङ्गता भएका विशेष प्रकृतिका बालबालिकाहरुलाई परिवारले समेत उपेक्षा गरेको मा र  राज्यले पनि त्यस्ता प्रकृतिका बालबालिकाहरुलाई केही नगरेकोमा, अपाङ्गता भएर असहज जीवन बाँच्न विवश विशेष बालबालिकाहरुलाई पढाउने पाठ्यक्रम समेत नभएकोमा उनी निराश छिन् । अझै दर्दनाक र पीडादायी जीवन बाँचिरहेका छन् बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुले ।

sabita upreti2

उनले अटिजम भएका विशेष  बालबालिकाहरुलाई आवश्यक पर्ने साईकोथेरापी लगायत अन्य उपचार र स्याहार तथा आवश्यक शिक्षाका लागि भारतबाट विशेष तालिम पनि लिएकी छिन् । उनको केन्द्रमा अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई विशेष स्याहारको व्यवस्था छ ।  त्यहाँ आउने बालबालिकाहरुलाई विशेष उपचार मार्फत उनीहरुको जीवन सहज मात्र भएको छैन, पुर्नजन्म नै पाएका छन् ।  केन्द्रमा ठूला घरानीयाका देखि आधारभुत तहका एवम् अनाथहरु समेत छन् ती सवैको जीवनलाई सहज बनाउन उनी अहोरात्र प्रयत्नशील छिन् । उनले  इज्रायलको जेरुसेलममा सम्पन्न भएको विशेष शिक्षा सम्बन्धि पच्चिस दिने सेमीनार गोष्ठीमा नेपालको तर्फबाट सहभागी हुने मौका पाईन् । एसिया र अफ्रिकाका विभिन्न मुलुकका विशेष बालबालिकाहरुसँग काम गरेका प्रतिनिधिहरुसँग घुलमिल हुने र ती देशका विशेष बालबालिकाहरुको वस्तुगत अवस्था, गतिविधि र अनुभवहरुसँग साक्षात्कार हुने अवसर पनि मिल्यो तर अन्यत्र देशको तुलनामा नेपालको बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई राज्यले गर्नुपर्ने उत्तरदायित्व बहन नगरेको प्रति उनको मन कुँडियो  । उक्त सम्मेलनमा सहभागी हुन राज्यले अनुमती प्रदान गर्ने बाहेक अन्य केही सहयोग नगरेकोमा उनले दुखेसो पोखिन् । तर, पनि आफूले केही पाउन भन्दा गुमाउन नै यो क्षेत्रमा लागेको र देश÷विदेशका सहयोगी हातहरुले सहयोगको हात फैलाईदिएकोमा उनी सन्तुष्ट छिन् ।

उनको संस्था नेपालको एक मात्र अटिजम उपचार केन्द्र पनि हो । यस केन्द्रले बौद्धिक अपांगता भएर अमानवीय जीवनयापन गरिरहेका एवम् परिवारको हेय पात्रको रुपमा रहेका बालबालिकाहरुलाई नवजीवन प्रदान गर्दछ । विभिन्न उपचार पद्धती (थेरापीहरु) मार्फत उनीहरुको जीवन थप सहज बन्न सक्दछ । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुले अन्य नागरिक सरह बाँच्न पाउने अवस्थाको प्रत्याभुत गराईदिएकोमा र उनीहरुको जीवनलाई सहज बनाईदिएको सविता उप्रेतीको योगदान प्रशंसनीय मात्र छैन उहादरणीय पनि छ । स्यावास् सविता !

प्रस्तुती:  रामनाथ खनाल

@Nepalpati

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: