गोरखाली छोरीको यस्तो ‘पुरुषार्थ’
Posted by Ram Kumar Shrestha on January 24, 2015
शिवप्रसाद उप्रेती: गोरखाको छेकम्पार-५, बुर्जी गाउँकी फुन्जो लामालाई समाजमा छोरीको पुरुषार्थ देखाउने ठूलो रहर छ। त्यसैले उनी दुर्घटनामा परेकालाई हेलिकोप्टरमा झुन्डिएर उद्धार गर्ने काम सिक्न थालेकी छन्। ‘हेलिकोप्टरमा झुन्डिएर आठ हजार मिटरभन्दा अग्लो हिमालको आकाशमुनि पुग्दा पनि मनमा कत्ति डर लाग्दैन। बरु अवसर पाए छोरीले पनि साहसी काम गर्न सक्छन् भन्ने सोचिरहेकी हुन्छु’, फुन्जो भन्छिन्।
२७ वर्षीया फुन्जो अहिले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनासलु क्षेत्रमा हेलिकोप्टरमा झुन्डिर हिमालको चुचुरा, खोँच, ग्ल्यासिएरसम्म पुग्ने, मान्छेलाई प्राथमिक उपचार गर्ने, डोरीमा झुन्ड्याएर हेलिकोप्टरभित्र राखेर उद्धार गर्ने सीप (लङ लाइन ट्रेनिङ) सिकिरहेकी छन्। उनको त्यो साहसिक कामलाई सिम्रिक एअरलाइन्सले सघाइरहेको छ।
सदरमुकामबाट उनको गाउँ ५२ कोस टाढा तिब्बतको सीमामा पर्छ। पिछडिएको गाउँ। गाउँमा छोरालाई सहरमा पढ्न पठाउँछन् तर छोरीलाई घरछेउकै स्कुल पनि पठाउँदैनन्। ‘छोरीले पनि छोराले जत्तिकै ठूलो काम गर्न सक्छन् भनेर देखाउन यो काम गर्ने हिम्मत गरेकी हुँ’, उनी भन्छिन्।
अहिले उनी काठमाडौंको बौद्धमा बस्छिन्। मण्डिखाटारको एए एकेडेमीकी टेनिस खेलाडीसमेत रहेकी उनी जावलाखेल क्लबकी भलिबल खेलाडी पनि हुन्। १२ कक्षासम्म पढेकी उनी चुमभ्याली होमस्टे र एसिया खामसाङ टे्रकिङ एजेन्सीसँग सम्बद्ध माउन्टेन गाइड पनि हुन्।
पर्वतारोहण गर्दा हिमालमा दुर्घटनामा परेकालाई उनले उद्धार गर्ने (स्लिङ) सीप सिकेकी हुन्। यस्तो सीप जान्ने नेपालमा मुख्य तीन जना र अरू केही गरी करिब १० जना छन्। महिला भने उनीमात्र हुन्।
‘हिमालमा हुने दुर्घटनामा उद्धार गर्न जान्ने नेपालमा मुख्य (प्रोफेसनल) तीन जना छन्। अरू सामान्य सीप जानेका नौ जना छन्। ती सबै पुरुषमात्र हुन्’, फुन्जो भन्छिन्, ‘महिला पर्वतारोही पनि हुन्छन्। उनीहरूको उद्धार गर्न महिलालाई सहज हुन्छ। त्यसैले मैले सिकेकी हुँ। फेरि यस्तो सीप जान्ने खुम्बु क्षेत्रका शेर्पामात्र छन्। शेर्पाबाहेक अरूले पनि यस्तो सीप जान्नुपर्छ भनेर पनि मैले सिकेको हुँ।’
हेलिकोप्टरमा झुन्डिर आकाशमुनि उडिरहँदा डरभन्दा एउटा मान्छेलाई कसरी बचाउने भन्ने सोचिरहने उनी बताउँछिन्। ‘उड्नु त ठूलो कुरा लाग्दैन’, भन्छिन्, ‘एउटा मान्छेको जीवन कसरी बचाउने भनेर सोच्छु र उनीहरूलाई बचाउँदा गर्व लाग्छ।’
डोरीमा झुन्डिएर उड्नुअघि हिउँभित्रका घाइतेलाई भेट्टाउनु, उनीहरूको प्राथमिक उपचार गर्नु र सकुशल अस्पताल पर्याउनु महत्त्वपूर्ण भएको उनी बताउँछिन्।
उनीसँगै अन्य १५ जना पुरुषले उद्धार सिकिरहेका छन्। पुरुषसँग एउटी महिलाले तालिम लिँदा पनि आफूलाई कुनै समस्या नभएको उनको भनाई छ। ‘मेरा श्रीमान् र दाइले पूरापूर सहयोग र समर्थन गरिरहनुभएको छ।
त्यसैले १४/१५ जना पुरुषका बीचमा काम गर्दा पनि मलाई कुनै समस्या छैन’, उनी भन्छिन्, ‘कहिले हेलिकोप्टरले हिमालको चुचुरोमा छाडेर एकदुई दिनपछि मात्र लिन आउँछ। त्यस्तो बेलामा पुरुषसँगै बस्नुपर्छ। महिला र पुरुष भन्दैमा राम्रो काम गर्नेलाई छेकबार गर्नु हुँदैन।’
तालिममा उनले रक क्लाइम्बिङ गर्ने तरिका, पाइलटसँगको संवाद, प्राथमिक स्वास्थ्य उपचार, डोरीमा बाँध्ने तरिका, हेलिकोप्टरमा झुन्डिएर उड्ने तरिकालगायतका तालिम सिकेकी छन्।
‘यहाँ तालिम लिइसकेपछि स्विट्जरल्यान्ड गएर थप तालिम लिनेछु। त्यहाँ पनि नि:शुल्क तालिम लिने व्यवस्था मिलिसकेको छ। उता त गाईबस्तुलाई पनि हेलिकोप्टरबाट उद्धार गर्छन्।’ नेपालमा काम र आम्दानी कम हुनसक्छ। यही काम गरेर खान सकिन्छ भन्ने लाग्दैन तर पनि नेपालमै काम गर्ने इच्छा उनको छ।
@annapurnapost
Leave a Reply