Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

के यो महाभूकम्प नेपालका लागि अवसर बन्न सक्छ? भट्टराईले प्रस्तुत गरे नवनिर्माणको मोडेल

Posted by Ram Kumar Shrestha on May 12, 2015


baburam smiley
हामीले अहिले पनि प्रत्येक वर्ष खर्च नहुने र कटाउन सक्ने बजेटबाट झण्डै १५० अर्ब रुपैयाँ निकाल्न सक्छौं। आन्तरिक ऋण उठाएर दुई/अढाई सय अर्ब रुपैयाँ पुर्‍याउन सक्छौं। ऋणपत्र जारी गरेर विशेष ढंगले अभियान चलाउने हो भने ५/६ सय अर्ब रुपैयाँ हामी आफैं जुटाउन सक्छौं। सस्तो दरमा बाह्य ऋण लिएर भए पनि हामीले कमसेकम एक हजार अर्ब अथवा १० खर्ब बराबरको कोष खडा गर्न सक्ने हो भने नमूनायोग्य नयाँ नेपाल बन्न सक्छ। त्यसको म पूरै सम्भावना देख्छु। 
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले महाभूकम्पले सिर्जना गरेको विनासलाई नवनिर्माणको अवसरका रुपमा उपयोग गर्नुपर्ने बताएका छन् । व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै डा. भट्टराईले विनाशबाट माथि उठेर नयाँ ढंगले राष्ट्र निर्माण गरेका उदाहरण दिँदै राष्ट्र निर्माणका लागि नयाँ संयन्त्रहरुको निर्माण गर्नुपर्ने बताएका छन्।

‘अब केही दशकको राजनीति परम्परागत ढंगले हिँडेर अगाडि बढ्न सक्दैन’, भट्टराईले भने, ‘राजनीतिमा पनि अब एक ढंगको क्रमभंगता नभइकन, राजनीतिक ‘डिस्कोर्स’लाई नयाँ ढंगले नउठाइकन; जनतालाई ‘डेलिभरी’ गर्न सक्ने, तत्काल समस्या समाधान गर्न सक्ने, जुन पैदा भएको नयाँ अन्तरविरोध छ त्यसको हल गर्न सक्ने नीति, कार्यक्रम र नेतृत्व नभइकन अबको राजनीति अगाडि बढ्न सक्दैन।’

आफ्ना विचार, पार्टी, समूहभन्दा माथि उठेर राजनीतिलाई नयाँ दिशा दिने प्रयत्न र संकल्प गर्न भट्टराईले आग्रह गरे। के छ त नवनिर्माणका लागि भट्टराईको मोडल? पूर्वप्रधानमन्त्री तथा एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले व्यवस्थापिका संसद्को बैठकलाई गरेको सम्बोधनको पूर्णपाठ:

सम्माननीय सभामुख महोदय,

हाम्रो पुस्ताको सबभन्दा त्रासदीपूर्ण र विनाशकारी भूकम्प हामीले ब्यहोरेका छौं। त्यसबारेमा छलफल गर्नका निम्ति यस गरिमामय व्यवस्थापिका संसद्को यस सभालाई केही कुरा राख्न अवसर दिनुभएकोमा सम्माननीय सभामुखज्यूलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हामीले भन्दा–भन्दै, आशंका गर्दा–गर्दै ठूलो भूकम्प आयो र महाविनाश गर्‍यो। यसक्रममा ज्यान गुमाउनुभएका सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्छु। यस क्रममा यो विपद्को घडीमा धैर्य नगुमाइकन उद्दार तथा राहत कार्यमा संलग्न रहनुभएका राजनीतिक दलका विभिन्न तह र तप्काका कार्यकर्ताहरु, आम जनताहरु, निजामति कर्मचारीहरु, सुरक्षा अंगका पदाधिकारी/सदस्यहरु र देशी/विदेशी मित्रहरुले जुन ढंगले सहयोग गर्नुभयो त्यसको निम्ति म आफ्नो तर्फबाट र पार्टीको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

सम्माननीय सभामुख महोदय,

यो भूकम्प वास्तवमा प्रकृतिले हामीमाथि प्रहार गरेको एउटा ठूलो झापड थियो र हामीलाई एउटा चेतावनी थियो। यो भूकम्प शनिबार दिउसो नभइकन रातको समयमा वा अरु कुनै दिनमा भएको भए के हुँदो हो ? कति मानिसको ज्यान जाँदो हो ? त्यो कल्पना गर्दा पनि कहालीलाग्दो दृश्य आउँछ। हाम्रो भूखण्ड अत्यन्त जोखिमपूर्ण स्थानमा छ, दक्षिणको भारतीय–अष्ट्रेलियन प्लेट र उत्तरको युरो–एशियन प्लेटको बीचमा रहेको यो हिमाली भूखण्डमा प्रत्येक १०० वर्षको आसपासमा महाविनाशकारी भूकम्प आएको तथ्य हामीसँग थियो। त्यसैले कुनै पनि बेला आउन सक्छ भन्ने पूर्वअनुमान पनि थियो। ८२ वर्षपछि यो भूकम्प आयो र यो आउँदाखेरि हामीमा जुनप्रकारको तयारी र तत्परता हुनुपर्दथ्यो त्यो हामीले सायद देखाउन सकेनौं।

यतिबेला हामीले कसैलाई आरोप–प्रत्यारोप गर्ने बेला छैन तर आफ्नो समीक्षा गर्ने बेला चाहिँ हो। हामी सबैले सामूहिकरुपमा यो असफलताको जिम्मेवारी लिनुपर्छ। हो, सरकार र सत्तामा हुनेले अलि बढी लिनुपर्ला, विपक्षमा हुनेहरुले अलि कम लिनुपर्ला, नागरिकस्तरमा रहनेले अझै कम लिनुपर्ला। तर सामूहिकरुपमा हामीले यति विनाशकारी भूकम्पको आशंका गर्दागर्दै त्यसको पूर्वतयारी जुन ढंगले गर्न सकेनौं, त्यो आइसकेपछि तत्कालै जसरी हामी उद्धारकार्यमा खट्न सकेनौं र कैयौं दिनसम्म दूरदराजका जनताहरु सामान्य उद्धारको प्रतिक्षा गर्दै कतिले ज्यान अर्पण गरे त्यसको निम्ति हामीले सामूहिक आत्मसमीक्षा र आत्मालोचना गर्नैपर्छ। आफ्नो तर्फबाट आफ्नो हिस्साको त्यो दोष म कबुल गर्दछु।

म विगत १५ दिनमा धेरै ठाउँहरुमा, तल्लो तहसम्म, जनस्तरसम्म पुगेको छु। जनता अत्यन्त आक्रान्त छन्। हामीले कल्पना गरेभन्दा धेरै बढी विनाश भएको छ, धेरै नोक्सान भएको छ। जनतामाथि धेरै चोट पुगेको छ। तर त्यसमा हामीले जुन ढंगको मल्हम लगाउन सक्नुपर्दथ्यो, जुन खालको राहत पुर्‍याउन सक्नुपर्दथ्यो, उद्धार गर्न सक्नुपर्दथ्यो त्यो हामीले गर्न सकेनौं। त्यसैले यसबाट पाठ लिऔं। यो नै अहिलेको भूकम्पले हामीलाई दिएको सबभन्दा ठूलो अवसर हो भन्ने म ठान्दछु। तर, हाम्रो सोच, हाम्रा छलफलहरु सुन्दा म कसैप्रति आलोचना गर्न चाहन्नँ, म आफैंप्रति आत्मालोचित छु। तर, हामीले यसको जुन खालको गम्भीरता बोध गर्नु पर्दथ्यो त्यो सायद अझै हामीले गर्न सकिराखेका छैनौं। सामान्य प्रकृतिको घटना हो, यसोउसो गर्दा–गर्दै भइहाल्छ भन्ने हामी धेरैजसोको सोच भएको मैले बुझिराखेको छु। म आफैं पनि त्योभन्दा माथि सायद उठ्न सकिराखेको छैन।

महान् बैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए ‘नो प्रोब्लेल क्यान बि सल्भ्ड फ्रम द सेम लेभल अफ कन्ससनेस द्याट क्रियटेड इट’ अर्थात कुनै पनि समस्या तत्काल विद्यमान चेतना र भौतिक परिवेशभन्दा माथि नउठिकन समाधान हुन सक्दैन। भूकम्पले विनाश त गरिसक्यो, अब भूकम्पभन्दा अगाडिको चेतना, सोच र परिस्थितिले यसको समाधान हुँदैन। नयाँ परिस्थितिमा नयाँ ढंगले हामीले आफूलाई उठाउन सक्नुपर्छ। त्यसैले म भन्न चाहन्छु – यो एउटा प्राकृतिक भूकम्प मात्रै नभएर एक ढंगले राजनीतिक, सामाजिक, आर्थिक भूकम्प पनि हो। नेपाली राजनीतिमा पनि र हाम्रो सामाजिक–आर्थिक निर्माणको अवसरमा पनि, विकासको स्थितिमा पनि एक प्रकारको क्रमभंगता हो। तर, हाम्रो चेतना त्यही ढंगको क्रमभंगतामा माथि उठेन र त्यही ढंगले प्रतिक्रिया गर्न सकेनौं भने अर्को विपद् आउँदा फेरि यही गल्ती दोहोरिनेछ र हाम्रो भावि पुस्ताले हामीलाई धिक्कार्नेछ। त्यसैले सबभन्दा पहिले म आग्रह गर्न चाहन्छु – हामी सबैले आत्मसमीक्षा गरौं, सामूहिक आत्मसमीक्षा गरौं।

पुन:निर्माणको कुरा गर्दा सबभन्दा पहिले हामीमाथि उठेको जुन आशंका छ, टुटेको जुन विश्वास छ, आस्था छ त्यसको पहिले पुन:निर्माण गरौं। राजनीतिक दलहरुलाई, नेताहरुलाई जनताले गाली गरे, कमजोर बनाउन खोजे भनेर मात्रै पुग्दैन। हामी आफैं कमजोर बन्छौं, हामीले आफ्नो क्षमता, दूरदृष्टि देखाउन सक्दैनौं भने जनताले विश्वास गर्न सक्दैनन्। जनताले यस्तो दु:खको बेलामा हामीबाट अपेक्षा गर्नु, हामीबाट अभिभावकत्वको आश गर्नु स्वाभाविक कुरा हो। राज्य भनेकै यस्तै दु:ख कष्टको बेलामा, विपत्तिको बेलामा अभिभावकत्व दिने संस्था हो। राजनीतिक दलहरु, नेताहरु भनेका त्यसका सञ्चालक हुन्। त्यसैले हामी चुकिसकेपछि हामीप्रति अनास्था हुनु ठूलो कुरा हुँदैन। हामीबाट कमजोरी भयो भने हाम्रा दुश्मनहरुले, बैरीहरुले खेल्न अवस्य खोज्छन्। त्यो सामान्य नियम हो। त्यसैले हामीले यतिबेला अरुलाई दोष दिएर होइन आफैंपट्टि फर्केर कमीकमजोरी सच्याउँ र आगामी दिनमा अगाडि बढौं। त्यसको निम्ति हामीप्रति जुन आशा र विश्वास टुटेको छ त्यसको पुन:निर्माण पहिले गरौं भन्ने म आग्रह गर्न चाहन्छु।

अब केही दशकको राजनीति पनि उही परम्परागत ढंगले हिँडेर अगाडि बढ्न सक्दैन। राजनीतिमा पनि अब एक ढंगको क्रमभंगता नभइकन, राजनीतिक ‘डिस्कोर्स’लाई नयाँ ढंगले नउठाइकन; जनतालाई ‘डेलिभरी’ गर्न सक्ने, तत्काल समस्या समाधान गर्न सक्ने, जुन पैदा भएको नयाँ अन्तरविरोध छ त्यसको हल गर्न सक्ने नीति, कार्यक्रम र नेतृत्व नभइकन अबको राजनीति अगाडि बढ्न सक्दैन। त्यसैले हामी सबैले आफ्ना विचार, पार्टी, समूहभन्दा माथि उठेर यो तथ्यलाई ध्यानमा राखौं, राजनीतिलाई नयाँ दिशा दिने प्रयत्न र संकल्प हामीले गरौं भन्ने पनि म आग्रह गर्न चाहन्छु।

तत्काल ध्यान दिनुपर्ने तीन क्षेत्र

अब हामीले तत्काल ध्यान दिनुपर्ने तीनवटा क्षेत्र छन् भन्ने मलाई लाग्छ। पहिलो, उद्धार र प्रारम्भिक राहतको चरण हो त्यो करिब–करिब पूरा हुँदैछ तर त्यो अझै पूरा हुन सकिराखेको छैन। हिजोमात्रै गृहमन्त्रीजीले प्रस्तुत गर्नुभएको तथ्यांकअनुसार हामीलाई झण्डै ६ लाख बराबरका पालहरु तत्काल चाहिएको छ तर आधामात्रै (उहाँले भन्नुभयो २ लाख ६६ हजार) पनि हामीले पुर्‍याउन सकिराखेका छैनौं। कैयौं दूरदराजका ठाउँहरुमा अहिले पनि हेलिकोप्टर पुग्न सकिराखेको छैन। गोरखादेखि लिएर रसुवा, नुवाकोट, सिन्धुपाल्चोकसम्मका दूरदराजका पहाडी बस्तीहरुमा अहिले पनि सरकारको पहूँच पुग्न सकिराखेको छैन। त्यसैले उद्धार र राहतको प्रारम्भिक चरणको काम पूरा भइसक्यो भनेर सोच्नु हुँदैन। त्यतापट्टि आवश्यक ध्यान पुगोस्।

दोस्रो, अल्पकालीन योजना र राहतकै प्रश्न हो। त्यो भनेको अस्थायी आवास नै प्रमुख कुरा हो। झण्डै ६ लाखबराबरका घरहरु पूर्ण या आंशिकरुपले ध्वंश भएको प्रारम्भिक अनुमान छ। अब १ महिनाभित्र वर्षायाम सुरु हुँदैछ। हामीले अस्थायी प्रकृतिका आवास तुरुन्त प्रदान गर्न सकेनौं भने जनताले भयंकर दु:खकष्ट व्यहोनुपर्ने स्थिति आउन सक्छ, ठूलो महामारी फैलन सक्छ। त्यसैले त्यसको दिशामा हामी युद्धस्तरमा खट्नुपर्‍यो। तर हामीले सामान्य ढंगले राहत वितरण गरेर मात्रै पार पाउने ढंगले जसरी सोचेका छौं त्यसरी म सम्भव देखिराखेको छैन। त्यसैले सरकारले न्युनतम जिम्मेवारी अब लिनुपर्छ। कमसेकम एक वर्षको निम्ति सम्पूर्ण ढंगले, आवास, खाद्यान्न, शिक्षा, स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी राज्यले लिन्छ भन्ने प्रत्याभूति हामीले दिन सक्नुपर्छ। यतिबेला हामीले जनताले आफ्नो घर आफैं बनाउँछन्, आफैंले आफ्नो व्यवस्था गर्छन् भन्ने सोच्नु हुँदैन। लोककल्याणकारी राज्यले त्यसो भनेर उम्कन मिल्दैन। त्यसहिसाबले हामीलाई कति खर्च चाहिने हो त्यसको जोहो गरेर युद्धस्तरमा हामी खट्नुपर्छ। त्यसका निम्ति राज्यका संयन्त्रले मात्रै पुग्दैन भने हामीले दशौं लाख स्वयंसेवकहरु परिचालन गरेर तत्काल अस्थायी प्रकृतिका आवासहरु निर्माण गर्ने, त्यसको निम्ति निश्चित रकम जनतालाई दिने र जस्तापाता, काठ लगायतका निर्माण सामग्री तुरुन्त वितरण गर्ने र सँगसँगै प्राविधिज्ञहरु (कमसेकम एक जना जिओलोजिष्ट, एक जना इन्जिनियर र एक जना ओभरसियर) प्रत्येक गाविसमा पुर्‍याउने काम हामीले तुरुन्त गरिहाल्नुपर्छ। नापनक्सा सहित दशौं लाख स्वयंसेवकहरु परिचालन गरिदिने हो भने एक महिनाभित्र अस्थायी आवासको व्यवस्था हुन सक्छ। त्यसको साथसाथै जुन स्कुलहरु पूरै भत्किएका छन् त्यसलाई पुन:निर्माण गर्ने र मुख्य सहरहरु जोड्ने मुख्य सडकहरु जुन भत्किएका छन् त्यसलाई खोल्नेमा हाम्रो प्राथमिकता हुनुपर्छ।

तेस्रो भनेको दीर्घकालीन पुन:स्थापना र पुन:निर्माणकै कुरा हो। यो विनाश हाम्रो निम्ति अवसर हुन सक्छ। संसारमा यस्ता देशहरु छन् जसले यस्ता विनाशबाट माथि उठेर देशलाई नयाँ ढंगले निर्माण गरेका छन्। त्यसैले अब पुन:निर्माण मात्रै नभनिकन नवनिर्माणको चरणमा हामी जान सक्नुपर्छ। त्यसको निम्ति हाम्रा जुन संयन्त्र छन् त्यसले मात्रै पुग्दैन। म यहाँ देखिराखेको छु, हामीमध्ये कतिलाई लाग्छ – म भएपछि त गरिहाल्छु। आफूलाई ‘एटलस’ ठान्ने र मेरै काँधमा पृथ्वी अडेको छ भन्ने ठानेर अरु संयन्त्र किन चाहियो भनेर हामीले सोच्नु हुँदैन। हाम्रा परम्परागत संरचनाहरुले मात्रै पुग्दैन। यसको निम्ति विशेष संयन्त्र चाहिन्छ। इतिहासका यस्ता कालखण्डमा विभिन्न देशहरुले, चाहे त्यो जापान होस्, चाहे इन्डोनेशिया होस्, चाहे पाकिस्तान होस्, चाहे अन्य देशहरु हुन्, विशेष संयन्त्र बनाएर उनीहरुले काम अगाडि बढाउने गरेका छन्। त्यसको निम्ति ‘राष्ट्रिय नवनिर्माण प्राधिकरण’ निर्माण गरेर शक्तिसम्पन्न, अधिकारसम्पन्न प्राधिकरण हामीले निर्माण गर्नुपर्छ। नयाँ कानुन बनाएर त्यसलाई प्रधानमन्त्रीकै नेतृत्वमा संसारभरका हाम्रा नेपालीहरु जो विज्ञताप्राप्तहरु छन् उनीहरुलाई बोलाएर र देशभित्रका पनि विज्ञहरुलाई राखेर हामीले त्यो अधिकारसम्पन्न उच्चस्तरीय प्राधिकरण निर्माण गर्नैपर्छ। त्यसअन्तरगत नै दीर्घकालीन प्रकृतिको नीति, योजना र कार्यक्रम बनाउने र त्यसअन्तरगत ‘फन्ड’ केन्द्रित गर्ने र त्यही निकायमार्फत कार्यान्वयन गराउने ढंगले गयौं भने मात्रै हामीले कमसेकम ५ वर्षभित्र यो क्षतिको पूर्ति गर्न सक्छौं। १० वर्षमा नयाँ नेपालको निर्माण गर्न सक्छौं। अहिले झट्ट हेर्दा मस्र्याङ्दीदेखि दुधकोशीसम्मको पहाडी र हिमाली भेगमा यो भूकम्पले बढी असर गरेको छ त्यसलाई पुन:निर्माण गर्ने एउटा खाका हामीले तुरुन्त निर्माण गर्न सक्नुपर्छ।

नमूनायोग्य नयाँ नेपाल

म आर्टिटेक्ट इन्जिनियर र ‘अरबान रिजनल प्लानिङ’को विद्यार्थी भएको नाताले गर्दा पनि मैले प्राविधिक ढंगले पनि भन्न सक्छु हामीले तत्काल योजना बनाएर त्यो गर्न सक्छौं र त्यो सम्भव छ। त्यसको निम्ति रकमको समस्या आउन सक्छ भन्ने कुरा आउँछ। तर त्यसो होइन।
हामीले अहिले पनि प्रत्येक वर्ष खर्च नहुने र कटाउन सक्ने बजेटबाट झण्डै १५० अर्ब रुपैयाँ निकाल्न सक्छौं। आन्तरिक ऋण उठाएर दुई/अढाई सय अर्ब रुपैयाँ पुर्‍याउन सक्छौं। ऋणपत्र जारी गरेर विशेष ढंगले अभियान चलाउने हो भने ५/६ सय अर्ब रुपैयाँ हामी आफैं जुटाउन सक्छौं।

सस्तो दरमा बाह्य ऋण लिएर भए पनि हामीले कमसेकम एक हजार अर्ब अथवा १० खर्ब बराबरको कोष खडा गर्न सक्ने हो भने नमूनायोग्य नयाँ नेपाल बन्न सक्छ। त्यसको म पूरै सम्भावना देख्छु। त्यसको निम्ति हाम्रो जुन परम्परागत बस्ती प्रणाली छ त्यसलाई नयाँ ढंगले प्लानिङ गरौं। ‘जिओलोजिस्ट’मार्फत राम्रो भूमि मापन गरेर भूउपयोग नीति निर्माण गरौं। खास–खास ठाउँहरुमा नयाँ ढंगले बस्तीहरु बसालौं। काठमाडौं लगायत जुन सहरी क्षेत्रहरु छन् जहाँ पहिले नै घनत्व बढी भइसकेको छ त्यसलाई खोल्नको निम्ति फास्ट ट्रयाक छिटो निर्माण गरौं, अन्तर्राष्ट्रिय विमानस्थल छिटो निर्माण गरौं। दुधकोशीदेखि मस्र्याङ्दीसम्म अहिलेको निम्ति खास–खास ठाउँमा मध्य पहाडी लोकमार्ग छ त्यसलाई चार लेनमा तुरुन्तै विस्तार गरेर खास–खास ठाउँमा सहरहरु निर्माण गर्ने योजना हामीले बनाउन सक्छौं।

रुम्जाटारदेखि लिएर पाँचखाल, बुट्टार, सल्यानटार, पालुङटार जस्ता ठाउँहरुमा हामीले नगरहरु विकास गर्ने र त्यहाँ साधन–स्रोत केन्द्रित गरेर जनतालाई नयाँ नेपालको प्रत्याभूति गराउन सक्छौं। साथैं गाउँ–गाउँमा हाम्रा जुन छरिएका बस्तीहरु छन् त्यहाँ कमसेकम एउटा अभियान हामीले चलाउन सक्छौं – प्रत्येक वडामा एउटा बस्ती। वडाभरि छरिने होइन, अब एउटा बस्तीको एउटा वडा बन्ने ढंगले प्रत्येक गाविसका छरिएका बस्तीहरुलाई एउटा वडामा केन्द्रित गरेर त्यहाँ शिक्षा, स्वास्थ्य लगायतका भौतिक पूर्वाधार केन्द्रित गर्ने र सामूहिक ढंगले जनताले आवास निर्माण गर्नको निम्ति राज्यले सहयोग गर्ने। त्यस्तो भयो भने नयाँ बस्ती प्रणाली तुरुन्त नै निर्माण हुन सक्छ। हामीले त्यो ढंगले सोचौं।

भिजनरी नेतृत्वको परिकल्पना

यी सबैका निम्ति मूल राजनीतिक नेतृत्व नै प्रमुख कुरा हो। यतिबेला आफूलाई मात्र केन्द्रमा राखेर म छँदैछु, मैले सबैथोक गर्छु, मेरै पार्टीले सबैथोक गर्छ भन्ने सोचियो भने पुग्दैन। बृहत् राष्ट्रिय एकता आजको खाँचो हो। त्यसको निम्ति हामीले कुन ढंगले हुन्छ सोचौं। भिजन सहितको दह्रो नेतृत्व अगाडि आएर अथवा हामीमध्ये नै को हुनसक्छ, हामी पुरानाले लोभ नगरौं नयाँ व्यक्तिलाई अगाडि सारेर त्यस्तो प्रकारको राष्ट्रिय सरकार, कमसेकम केही वर्ष, केही दशक राष्ट्रिय सरकार बनाएर अगाडि जाने, भिजनरी नेतृत्वको परिकल्पना हामीले गरौं। त्यसको मातहतमा राष्ट्रिय नवनिर्माण प्राधिकरण बनाऔं। त्यसको अनुगमन गर्नको निम्ति तीन तहको निर्देशनकारी र अनुगमनकारी सर्वदलीय संयन्त्र निर्माण गरौं। जुन केन्द्रमा होस्, जिल्लामा होस् र गाउँगाउँमा होस्। त्यसको साथसाथै दशौं लाख युवा स्वयंसेवक छन्, विदेशमा गएका नेपालीहरु छन् उनीहरुलाई आह्वान गरेर ‘भोलेन्टियर फोर्स’ निर्माण गरौं। राष्ट्रिय निर्माण ‘भोलेन्टियर’ भनेर जुन ‘पिस कोर्प भोलेन्टियर’ अमेरिकामा बनाइएको थियो त्यस्तै पुन:निर्माण भोलेन्टियर दशौं लाखको संख्यामा हामीले बनाऔं। यसरी अभियान चलाएर दशौं खर्ब रुपैयाँ उठाएर नयाँ नेपालको अभियान सुरु गर्न सक्छौं। त्यसैले यो चुनौतिलाई नयाँ अवसरको रुपमा प्रयोग गरौं।

यो भूकम्पले हामीलाई जुन पाठ दिएको छ, यसलाई बेलैमा सिकौं। जसले यो पाठ सिक्न सक्छ उसले नै नयाँ नेपालको नेतृत्व गर्छ। हामीभित्र रहेको एउटा क्षुद्र संकीर्ण प्रवृत्ति छ, त्यसमाथि हामीभित्र रहेको अर्को साधु दैवी प्रवृत्ति छ त्यसलाई हावि गरौं र सामूहिक ढंगले राष्ट्रिय एकता कायम गरेर अगाडि बढौं। यो नै आजको आवश्यकता हो। यसको निम्ति हामी सबैले संकल्प गरौं।

म पूर्वप्रधानमन्त्री पनि भएको नाताले प्रतिवद्धता गर्न चाहन्छु र अरुलाई पनि आग्रह गर्न चाहन्छु – हामीलाई यो देशले धेरै दियो, सामान्य मान्छेलाई प्रमुख कार्यकारी हुने हैसियतसम्म हामीलाई पुर्‍याइसक्यो, अब हामीले व्यक्तिगत रुपमा लोभलालच गर्नु हुँदैन। जो सक्षम छ ऊ अगाडि आओस्, त्यसको निम्ति मार्गप्रसस्त गरौं। म आफ्नो तर्फबाट त्यो प्रतिवद्धता व्यक्त गर्दै विदा हुन चाहन्छु।

धन्यवाद।
२०७२ बैशाख २६

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: