Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

सुरक्षित घर: पालपछि अब प्रिफेबको पालो, आठ लाखमा तयार

Posted by Ram Kumar Shrestha on May 13, 2015


रविराज बराल/बिजमाण्डू
काठमाडौं । नेपालमा महाभूकम्प गएको पाँच दिनपछि ३० अप्रिल (बैशाख १८ गते) मा बेलायती पत्रिका गार्डियनले नेपालको उत्तरी छिमेकी चीनका बारेमा एउटा समाचार लेख्यो- ५७ तले गगनचुम्बी भवन १९ दिनमा निर्माण। त्यसको १९ दिनअघि नै बेलायती ट्याब्लोइड पत्रिका डेलीमेलले खबरको हेडलाइन राखेको थियो- १९ दिनमा गगनचुम्बी भवन कसरी बनाउने?

समाचारमा निर्माणकर्ताले दाबी गरेका छन्- १९ ठूला हल, ८०० अपार्टमेन्ट र चार हजार मानिसले काम गर्ने अफिससहितको यो ‘मिनी स्काइ सिटी’ ले जस्तोसुकै भूकम्पलाई सजिलै सहन सक्छ।

अन्तर्राष्ट्रिय मिडियामा ‘बिकाउ’ खबर बनेको ५७ तले भवन निर्माण गर्ने कम्पनी अहिले विश्वकै अग्लो गगनचुम्बी भवन बनाउन जुटेको छ। नयाँ रेकर्ड बनाउने यो महत्वकांक्षी योजना पूरा गर्न उक्त निर्माण कम्पनीलाई तीन महिना लाग्नेछ। स्वभाविक रुपमा प्रश्न उठ्छ- तीन महिनामा २२० तले भवन?

यति छोटो समयमा कसरी सम्भव छ त संसारकै अग्लो गगनचुम्बी भवन निर्माण गर्न? प्रश्नको उत्तर सजिलो छ- निर्माणमा प्रयोग हुने प्रविधि। के हो त यो प्रविधि? समाचारमा उत्तर छ- प्रिफेब।

के हो त प्रिफेब?

अंग्रेजीमा प्रिफेब्रिकेटेड भन्नाले नेपालीमा ‘पूर्वनिर्मित संरचना’ भन्ने बुझिन्छ (पैरवी कम्प्रिहेन्सिभ डिक्सनरी, २०१०)। छोटकरीमा यसैलाई प्रिफेब भनिन्छ। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबै खालका घर तथा भवन निर्माणका लागि आवश्यक सामान पहिले नै फ्याक्ट्रीमा उत्पादन गर्ने र पछि जडान गरि छोटो समयमा नै तयार पारिएको पूर्ण संरचना नै प्रिफेब हो। यस्ता घर एउटा कोठादेखि गगनचुम्बी भवनसम्म हुनसक्छन्। घर, पसल, विद्यालय तथा कार्यालय निर्माणमा प्रिफेब प्रयोग गर्न सकिन्छ।

बहसको केन्द्रमा घर

महाभूकम्पपछि बिस्तारै सामान्य बन्दै गएको राष्ट्रिय जीवनमा एउटा नयाँ विषयले जबरजस्त स्थान लिएको छ। त्यो हो- घर।

हुन पनि २०७२ वैशाख १२ गते गएको महाभूकम्पले ठूलो जनधनको क्षति गर्‍यो। मृतकको संख्या सात हजार कटेको छ भने त्यो भन्दा दोब्बर मान्छे घाइते छन्। भूकम्पबाट हजारौँ घरमा पनि क्षति भयो। प्रारम्भिक तथ्यांकअनुसार दुई लाख पाँच सय ५२ ओटा घर ध्वस्त छन् भने अन्य एक लाख ८६ हजार दुई सय ८५ ओटा घरमा क्षति पुगेको छ। घरबारविहिन हजारौँ मानिस पालमुनि रात काट्न बाध्य छन्।

आपतकालीन अवस्थामा पाल पाउनु नै ठूलो भए पनि यो समस्याको दीर्घकालीन समाधान होइन। के हो त दीर्घकालीन समाधान? उत्तर सहज छ- घर।

मृतकमध्ये को कस्तो अवस्थामा थिए भन्ने प्रस्ट नभए पनि घर तथा भवन भत्किएर पुरिँदा नै अधिकांश मान्छे मारिएको सहज अनुमान लगाउन सकिन्छ। भूकम्प दिनमा गयो नत्र रातमा हुन्थ्यो भने दसौँ गुणा बढि क्षति हुन सक्थ्यो। वासस्थान कति महत्वपूर्ण रहेछ भनेर धेरैले महसुस गरेका छन्।

त्यसैले होला नेपाल राष्ट्र बैंकले पनि यसमा अग्रसरता देखाएको छ। उसले दुई प्रतिशतसम्ममा भूकम्प पीडितलाई आवास कर्जा दिन वाणिज्य बैंकहरुलाई पैसा उपलब्ध गराउने भएको छ। उपत्यका भित्र २५ लाख रुपैयाँसम्म र गाउँमा १५ लाख रुपैयाँसम्म दिने भनिएको यो कर्जा लिन घर भूकम्पले क्षति पुगेको हुनुपर्ने छ।

बासस्थानका अस्थायी/स्थायी विकल्पबारे भर्खर बहस सुरु भैरहेको सन्दर्भमा ‘प्रिफेब घर’ सबै भन्दा राम्रो विकल्प भएको यसको निर्माणमा संलग्नहरुको दाबी छ।

किन हो त प्रिफेब विकल्प?

करिब ५० वर्षदेखि निर्माणमा संलग्न भई हाल प्रिफेबमा समेत काम गरिरहेको बिरा फर्निचरका कर्पोरेट निर्देशक महेश मल्ल भन्छन्- किनभने हामीसँग समय कम छ। कंक्रिट घर बनाउने समय ८० प्रतिशत बचत हुन्छ। भूकम्प लगायत प्राकृतिक विपत्तिमा हुने क्षति कम गर्न सकिन्छ। यसको मूल्य पनि अन्य घरभन्दा कम हुन्छ।

नेपालमा प्रिफेब

अंग्रेजी साप्ताहिक नेपालीटाइम्समा ११ वर्षअघि अर्थात सन् २००४ मा प्रकाशित एक समाचारमा प्रिफेबलाई विदेशी अनुकरण मान्ने चिन्तन नेपाली समाजमा रहेको उल्लेख छ।

यो त्यति अस्वभाविक होइन किनभने नेपालमा प्रिफेब भित्र्याउने श्रेय विदेशीहरुलाई नै जान्छ। ‘मर्स्याङदी जलविद्युत आयोजना निर्माणका बेलामा विदेशीले उतैबाट प्रफेब ल्याएर बसेका थिए’, आरती एन्ड कम्पनीका बिजनेस डेभलपमेन्ट म्यानेजर नरेन्द्र महर्जन भन्छन्।

नेपालमा पहिलोपटक व्यवसायिक रुपमा प्रिफेब भित्र्याएको दाबी गर्ने प्रिफेब निर्माण कम्पनी हो आरती एन्ड कम्पनी। कम्पनीका बिजनेस डेभलपमेन्ट म्यानेजर नरेन्द्र महर्जन बुधबार दिनभर व्यस्त थिए किनभने कस्तो घर निर्माण गर्ने भन्ने विषयमा बुझ्न तथा सल्लाह लिन आउनेको उनको अफिसमा चाप थियो।

पहिलोपोस्ट सम्वाददाता प्रिफेबबारे बुझ्न बुधबार बिहान काठमाडौं लाजिम्पाटस्थित हिमालयन प्रिफेब प्रालिमा पुगेको थियो। सन् २००८ मा निर्माण कम्पनीका रुपमा स्थापना भएको हिमालयन प्रिफेब अहिले प्रिफेब प्रविधिका घर निर्माणमा केन्द्रित रहेछ। यहाँ पनि सस्तो र छोटो समयमा घर निर्माणका सम्भावना बारे जिज्ञासा लिएर आउनेहरु थिए। भूकम्पबाट घर भत्किएर क्षति पुगेकालाई हिमालयन प्रिफेबका प्राविधिक निर्देशकसमेत रहेका मेकानिकल इन्जिनियर नीलमणि सापकोटा एक तल्लाको प्रिफेब अफिसमा बसेर एक तले घरको नमूना देखाउँदै थिए।

विदेशीहरुले भित्र्याएको प्रिफेब प्रविधि सन् २००४ सालतिर नेपालमा व्यवसायिक रुपमा भित्रियो। आरती एन्ड कम्पनीका बिजनेस डेभलपमेन्ट म्यानेजर नरेन्द्र महर्जनका अनुसार काठमाडौं रत्नपार्कको सार्वजनिक शौचालय नै नेपालको पहिलो प्रिफेब प्रोजेक्ट हो। ‘आरती एन्ड कम्पनीले नै १० वर्ष चलाउने अनि महानगरपालिकालाई दिने गरि बनाइएको थियो’, महर्जनले भने, ‘तत्कालीन नगरप्रमुख केशव स्थापितको पहलमा त्यतिबेला निर्माण भएको त्यो शौचालय अहिले पनि चलिरहेकै छ।’

मूल्यः घर अल्पकालीन कि दीर्घकालीन?

घर कस्तो बनाउने? दीर्घकालीन कि अल्पकालीन? हिमालयन प्रिफेबका प्राविधिक निर्देशक समेत रहेका मेकानिकल इन्जिनियर नीलमणि सापकोटा मानिसको बसोबासलाई प्रविधिको गतिशीलतासँग तुलना गर्छन्।

‘प्रविधि नयाँ नयाँ आइरहेका छन्। अहिले प्रयोग गरेको प्रविधि भोलि पुरानो हुन्छ, यो भन्दा सुरक्षित प्रविधि आउन सक्छ’, उनी भन्छन्, ‘इन्जिनियरिङको ट्रेन्ड नै ‘लाइट’ तिर उन्मुख छ। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन जस्तो बासस्थान बनाए पनि त्यो हलुका हुनुपर्‍यो तर यो यति नै वर्ष चलिरहन्छ भन्न सकिन्न।’ संरचना निर्माणमा हलुका प्रयोग गर्ने ट्रेन्ड विश्वभर नै रहेको तर्क सापकोटा गर्छन्।

आरती एन्ड कम्पनीका बिजनेस डेभलपमेन्ट म्यानेजर नरेन्द्र महर्जनका अनुसार नेपालमा करिब दुई खालका प्रिफेब घर बनाउन सकिन्छ। पहिलो, सिमेन्टको पर्खाल भएको। मध्यकालीन यो घर २० देखि ३० वर्ष चल्छ। दोश्रो, एलजीएस (लाइट गेज स्ट्रक्चर)। यो चार तल्लासम्म बनाउन सकिन्छ जुन ५० वर्षसम्म ढुक्कले प्रयोग गर्न सकिन्छ। यसमा स्टिलको बढि प्रयोग हुन्छ।

भान्छाकोठा, दुईओटा सुत्ने कोठा, एउटा बैठक कोठा र एउटा बाथरुम सहितको एक तल्ले घर बनाउन कति खर्च लाग्ला?

‘एक आना जग्गामा एउटा परिवार बस्न मिल्ने खालको एक तल्ले घर बनाउन करिब ८ लाख लाग्छ’, महर्जन भन्छन्।

अर्को निर्माण कम्पनीको मूल्य पनि यसैसँग मिल्दोजुल्दो छ। हिमालयन प्रफेबले घरको जग निर्माण बाहेकको मूल्य साढे ५ लाख राखिएको छ।

प्रिफेब घर निर्माणमा संलग्न अर्को कम्पनी बिरा फर्निचरका कर्पोरेट निर्देशक महेश मल्ल पनि पहिलोपोस्टले दिएको स्याम्पलको मूल्य करिब ८ देखि ९ लाख पर्ने बताउँछन्।

निर्माणमा संलग्न सबैजसो कम्पनीको एउटै कुरा छ- सस्तोमा घर दिन सकिन्छ तर मूल्य त्यहाँको भौगोलिक अवस्था, बाटो र बिजुलीले निर्धारण गर्छ। विपत व्यवस्थापनका लागि सरकारले पहल लिएमा सस्तोमा घर बनाउन सकिने प्रिफेब संरचना निर्माणमा संलग्न कम्पनीको दाबी छ। कसरी सम्भव छ त?

हिमालयन प्रफेबका सापकोटाका अनुसार महँगो हुनु यसको पहिलो बेफाइदा हो। उनका अनुसार घर निर्माणका लागि सामान ल्याउँदा सिआइएस शूल्क तिर्दा नै करिब ४० देखि ४५ प्रतिशत मूल्य बढ्छ। सिआइएस अर्थात कस्ट (मूल्य), इन्सुरेन्स (वीमा) र फ्रेट (ढुवानी)। ‘विपद् व्यवस्थापन गरि घरबारविहीनलाई घर बनाउने योजना सरकारले ल्याउने हो भने निश्चित समयका लागि मापदण्ड तोकेर यस्ता सामान ल्याउँदा कर, भ्याट र भन्सार खुकुलो बनाउनुपर्छ’, सापकोटा भन्छन्, ‘यसमा सरकार अग्रसर हुने हो भने करिब साढे तीन लाख/चार लाखमा एउटा परिवार बस्ने घर बनाउन सकिन्छ।’

आरती एन्ड कम्पनीका श्रेष्ठ पनि १० प्रतिशत भ्याट र करिब ३० प्रतिशतसम्म लाग्ने भन्सारले गर्दा घर बनाउनेले ४० प्रतिशत भन्दा बढि शूल्क तिर्नुपर्ने भएकोले यतिबेला सरकारले अग्रसरता देखाए धेरै घरबारबिहीनलाई न्यानो दिन सकिने बताउँछन्। ‘यो गाउँसहर पुनर्निर्माणको बेला हो। हटाउ भन्न त हामीले नमिल्ला तर घटाउन भने अवश्य सकिन्छ’, उनी भन्छन्।

यद्यपि बिरा फर्निचरका कर्पोरेट निर्देशक महेश श्रेष्ठको धारणा भने आरती एन्ड कम्पनी र हिमालयन प्रिफेबका प्रतिनिधिको भन्दा फरक छ। ‘हामी २० प्रतिशत निर्माण सामग्री मात्र बाहिरबाट ल्याउँछौँ’, उनी भन्छन्, ‘धेरै सामान नेपाली नै प्रयोग गर्न सकिन्छ।’

प्रिफेब घर निर्माणको सबैभन्दा ठूलो समस्या नै कानुनी समस्या भएको उनी बताउँछन्। ‘यो हलुका प्रकारको घर हो। बनाउन समय लाग्दैन तर नक्सा पासमा धेरै समय अल्झिन्छ।’

आरती एन्ड कम्पनी, हिमालयन प्रिफेब र बिरा फर्निचर। यी तीनओटा कम्पनी नै नेपाली प्रिफेब बजारका मुख्य प्रतिस्पर्धी भएको तीनओटै कम्पनी स्वीकार्छन्।

भूकम्पमा सुरक्षित

अहिले मान्छेहरुलाई सबैभन्दा ठूलो डर नै भूकम्प गएर घर ढल्दा पुरिन्छ कि भन्ने देखिन्छ। यसलाई जनमानसमा आएको चेतनाका रुपमा हेर्छन् आरतीका बिजनेस डेभलपमेन्ट अफिसर। ‘जोखिम नआइकन चेत पनि नआउने रहेछ’, उनी भन्छन्, ‘बल्ल मान्छेहरुले घर भनेको सुरक्षित चाहिँदो रहेछ भन्ने बुझेका छन्।’

मुलुकका ५० भन्दा बढी स्थानमा प्रिफेब घर बनाएको हिमालयन प्रिफेबका सापकोटा वैशाख १२ को महाभूकम्पमा आफूले निर्माण गरेका घर धेरै मान्छेका लागि आश्रयस्थल बनेको बताउँछन्। ‘सयौँ मान्छेले त्यहाँ आश्रय लिए, कसैलाई केही भएन’, उनी भन्छन्, ‘सबै भवन सुरक्षित छन्।’

नियन्त्रित वातावरणमा राखेर फ्याक्ट्रीमा घरका विभिन्न भाग बनाइन्छ। त्यसपछि निर्माणस्थलमा लगेर जोडिन्छ। एउटा घर बनाउन पाँच सय भन्दा बढी भाग जोड्नुपर्ने पनि हुन्छ। विदेशमा त झन् घर नै निर्माण गरेर ल्याएर थपक्क राख्ने पनि चलन हुन्छ। यसको एउटा फाइदा भनेको चिसोमा अति चिसो हुँदैन भने गर्मीमा पनि अति गर्मी हुँदैन। तर केही ‘नराम्रा पक्ष’ पनि छन्।

पहिलो प्रिफेबका बारेमा रहेको (गलत) सोच। राम्रो हुँदाहुँदै पनि प्रिफेब घरलाई सुरक्षाका दृष्टिकोणले त्यति अब्बल नमान्ने चलन छ। यसको मुख्य कारण विद्यमान कानुन पनि हो। ‘कानुनले यसलाई स्थायी घर मान्दैन। टहरोको मात्र मान्यता दिन्छ’, सापकोटा भन्छन्, ‘यो पनि घर नै हो भन्ने सोच राज्यमा आइसकेको छैन।’

त्यसो त बिस्तारै सरकारले पनि प्रिफेबको महत्व बुझ्न थालेको जस्तो देखिन्छ। सिंहदरबारभित्र सरकारले दुईओटा भवन निर्माण गर्दैछ। एउटा नेसनल आइडेन्टिटी भवन र अर्को सेनाको भवन। सहरी विकास मन्त्रालयले यी भवन बनाइरहेको छ।

राजधानी काठमाडौंमा भने जग्गा महँगो भएका कारण यस्ता घर बनाउन समस्या देख्छन् सापकोटा। ‘मानिसहरु जग्गा लिने भन्ने बित्तिकै आकास लिने भन्ठान्छन्’, उनी भन्छन्, ‘सानो कुरामा आँखा लाग्दैन।’

प्रिफेबको अर्को फाइदा भनेको यो वातावरणमैत्री छ। यो घर निर्माण गर्न धेरै पानी चाहिन्न, वन विनास हुँदैन र आयु सकिएपछि पनि यसका धेरै निर्माण सामग्री पुनः प्रयोग गर्न सकिन्छ।

आयु र सुरक्षा

१० वर्षदेखि ५०/६० वर्षसम्म टिक्ने प्रिफेब घर बनाउन सकिन्छ। तौत कम हुने हुँदा यसको जग पनि कंक्रिटका घरजस्तो खर्चिलो हुँदैन।
एउटा घर २० देखि ३० वर्ष टिक्ने खालको हुन्छ भने अर्को एलजीएस (लाइट गेज स्ट्रक्चर) घर ५० वर्षसम्म ढुक्कले प्रयोग गर्न सकिन्छ। पछिल्लो खालको घरमा तल्ला पनि थप्न सकिन्छ। यस्ता घर वातावरणअनुसरा निर्माण गर्न सकिन्छ। हावाको तीब्रता, त्यहाँको तापक्रम आदि विचार गरेर त्यसलाई सहन सक्ने निर्माण सामग्री प्रयोग गर्न सकिन्छ।

त्यसो त प्रिफेब निर्माण गर्ने कम्पनीका चुनौति पनि कम छैनन। एकातिर सरकारको नीति के परिवर्नत होला भन्ने चिन्ता त अर्कोतिर सप्लायरले गुणस्तरहीन सामान देला भन्ने डर। सामान महँगो होला भन्ने डर एकातिर छँदैछ अर्कोतिर ढुवानीको समस्या। फेरि निर्माणका बेला टेक्निसियनले गल्ती गर्देलान् भन्ने पनि डर। निर्माणमा कमजोरी भएमा घर ‘लिक’ होला भन्ने डर।

अबको योजनाः त्रिपालबाट मुक्ति

अहिले लाखौँ मानिसलाई त्रिपाल चाहिएको छ। तर वर्षाको बेला त्रिपालले समाधान दिन सक्दैन भन्ने प्रष्ट छ। त्रिपालबाट मुक्तिका लागि घरबारविहीन मानिसलाई घर चाहिन्छ। भूकम्पजस्ता प्राकृतिक प्रकोप व्यवस्थापनका लागि सरकारले नै सुरक्षित घर निर्माणसम्बन्धि मध्यकालीन योजना ल्याउनुपर्ने देखिन्छ। भर नभत्किए पनि गाउँका अधिकांश संरचना वर्षौँदेखि ‘काम चलिरहेका’ मात्र छन्। यसरी नभत्केर काम चलिरहेका संरचनाको ठाउँमा नयाँ संरचना बनाउन नागरिकलाई प्रेरित नगरे फेरि आउनसक्ने विपत्तिबाट जोगिन मुस्किल पर्न सक्छ।

भूकम्पले होइन, हाम्रो कमजोर भौतिक संरचनाले जनधनको क्षति भएको हो- धेरैको मत यही छ। यस्तो अवस्थामा बसोबासको संस्कृति पुनर्संरचना गर्न सरकार तथा निजी क्षेत्रले लिने अग्रसरता नै भविष्यमा आउनसक्ने विपत्ति न्युनीकरणमा प्रधान बन्ने देखिन्छ।

@bizmandu

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: