Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

साहित्यकार सानु घिमिरेको पहिलो कृति ” ग्रहण ” को बिमोचन

Posted by Ram Kumar Shrestha on March 25, 2013


Book Release

बिगत चार बर्षदेखि अस्ट्रेलियामा बसोबास गरिरहेकी साहित्यकार सानु घिमिरेको पहिलो कृति “ग्रहण” कविता संग्रहको लोकार्पण  गरिएको छ । अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास), एनएसडब्ल्यु, अस्ट्रेलियाले सिड्नम टाउन हल, सिड्नीमा यही मार्च २३ तारिख शनिबारका दिन आयोजना गरेको अस्ट्रेलियाव्यापी तेश्रो कविता महोत्सवमा न्यू साउथ वेल्स अस्ट्रेलियाका अबैतनिक महावाणिज्यदूत महामहिम दिपक खड्का, एनआरएन आइसीसीका सल्लाहकार इन्द्रा बन, साहित्यकारत्रय नवराज कार्की, वेद कुमारी नेउपाने र श्री भक्त अच्युत वाग्लेले संयुक्त रुपमा सो कृतिको बिमोचन गर्नु भएको थियो ।

Poet with her book

३४ वटा कविता रहेको यो संग्रहमा घिमिरेले माया, प्रेम, वात्सल्यदेखि रास्ट्रप्रेम, दर्शन र अध्यात्मसम्मलाई आफ्ना कविताहरुमा व्यक्त गरेकी छिन् ।

Poet speaking about the book

बिमोचनपछि कार्यक्रममा बोल्दै घिमिरेले यो संग्रहको प्रकाशनले आफूलाई अझ साहित्य लेख्न प्रेरणा दिएको बताउँदै आगामी दिनहरुमा अझ शसक्त कृतिहरु सहित उपस्थित हुने प्रतिबद्धता व्यक्त गरिन् ।

ग्रहणको समिक्षा गर्दै साहित्यकार जितेन्द्र मल्लले ग्रहणलाई सामान्यतया नकारात्मक बिम्बको रुपमा हेरिने भए पनि घिमिरेले यसलाई सकारात्मक बिम्बको रुपमा प्रयोग गरेको उल्लेख गरे । संग्रहका केही कविताहरुका अंशहरु पाठ गर्दै उहाँले तिनको साहित्यिक गहिराइलाई विश्लेषण गर्नु भएको थियो ।

अनेसास, एनएसडब्ल्यु अस्ट्रेलियाको पहिलो प्रकाशनको रुपमा रहेको सो कृतिको बारेमा बोल्दै अनेसास, एनएसडब्ल्यु अस्ट्रेलियाका अध्यक्ष भीमसेन सापकोटाले अनेसास अस्ट्रेलियाले आफ्नो स्थापानाको दुइ बर्षमै प्रकाशकको भूमिका निर्वाह गर्न पाएको र तीन वटा कृतिको बिमोचन गर्न पाएकोमा गौरान्वित भएको बताउनु भयो ।

न्यू साउथ वेल्स अस्ट्रेलियाका अबैतनिक महावाणिज्यदूत दिपक खड्काले प्रवासमा नेपाली भाषा र साहित्यलाई स्थापना गर्न अनेसासले खेलेको भूमिकाको प्रशंशा गर्दै सानु घिमिरेको यो पुस्तकलाई अस्ट्रेलियामा रहेका नेपाली समुदायले महत्वपूर्ण कोशेलीको रुपमा ग्रहण गर्ने कुरामा आफू ढुक्क भएको बताउनु भयो ।

अस्ट्रेलियाबाट पुस्तक बिमोचन हुने पहिलो नारी साहित्यकारको रुपमा दरिएकी सानु घिमिरे लुम्बिनी-कपिलबस्तु दिवस बिश्व अभियानका अस्ट्रेलिया संयोजक एबं अनेसास, एनएसडब्ल्यु अस्ट्रेलियाको महासचिवको जिम्मेवारी सम्हालिरहेकी छिन् ।

Leave a comment