Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

मनपरि गर्ने भारतीय विद्यालयबारे सरकारले छानबिन गर्ने

Posted by Ram Kumar Shrestha on January 31, 2013


-प्रकाश सिलवाल

Indian school१७ माघ, काठमाडौँ । नेपालमा भारतीय सम्बन्धनबाट सञ्चालित कतिपय विद्यालयले भारतीय राष्ट्रियतामा आधारित पाठ्यपुस्तक पढाइरहेको भन्ने गुनासो आएपछि शिक्षा मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ ।

नेपालको विद्यमान कानुनी व्यवस्थाअनुसार विद्यालय तहसम्म कुनै पनि विदेशी शिक्षण संस्थाको सम्बन्धनबाट विद्यालय सञ्चालन गर्न मिल्दैन । ललितपुरस्थित डिएभी सुशील केडिया विश्व भारती उमाविले कक्षा ६ को ‘इन्टि्रगेटेड सोसल स्टडी’ विषयमा भारतको राष्ट्रियगान जन गण मन, राष्ट्रिय जनावर बाघ, लुम्बिनी भारतमा पर्ने र गौतम बुद्ध भारतमा जन्मेको जस्तो आपत्तिजनक पाठ्यपुस्तक पढाइरहेकोे भनी अखिल नेपाल शिक्षक सङ्गठनले आन्दोलन प्रारम्भ गरेपछि सो विषय नेपाल र भारतबीचको उपल्लो तहमा पुगेको छ ।

भारतीय दूतावासले हालै शिक्षा मन्त्रालयमा पत्राचार गरी भारतीय शैक्षिक बोर्डअन्तर्गत चार विद्यालयको विधिवत् मान्यताका लागि आवश्यक समन्वय गर्न आग्रह गरेको मन्त्रालयका सहप्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँले सो विषयको किनारा लगाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको बुझिएको छ ।

हाल नेपालमा सिबिएसई बोर्डलगायतबाट भारतीय केन्द्रीय विद्यालय, मोडर्न इन्डिएन, चाँदवाग, आलोक विद्याश्रम, राय स्कुल तथा पोखरा र धरानमा गरी १४ शिक्षण संस्था सञ्चालित छन् । ती विद्यालयले नेपाल र भारत दुवैबाट सम्बन्धन लिए पनि नेपाल सरकारले कुनै अनुगमन वा निर्देशन दिएको पाइएको छैन ।

सहप्रवक्ता डा पाण्डेले अनुमति लिएर सञ्चालित भए पनि भारतीय वा कुनै देशको सम्बन्धनका विद्यालयले नेपाल सरकारबाट स्वीकृतिप्राप्त पाठ्यक्रम मात्रै लागू गर्नुपर्ने बताउनुभयो । विद्यमान शिक्षा ऐनको दफा ८ मा नेपालबाट स्वीकृति नलिई लागू गरेका पाठ्यपुस्तक प्रयोगमा ल्याउन पाइँदैन ।

शिक्षक सङ्गठनले भारतीय पाठ्यक्रम पढाउने विद्यालयलाई कारबाही गराउन भन्दै थप आन्दोलन गर्ने घोषणा गरेको छ । नेपालको शिक्षा क्षेत्रमा भारतीय पक्षले पाठ्यक्रममा आफ्नो राष्ट्रियता लाद्ने, आफ्नो शैक्षिक विज्ञापन र मेला गर्ने तथा आफूखुसी विद्यालयलाई सहयोग गर्ने कार्य गरेर विस्तारवाद फैलाएको आरोप सङ्गठनका अध्यक्ष गुणराज लोहनीले लगाउनुभयो । उहाँले आफूहरु अब सडक आन्दोलनमा जाने चेतावनी पनि दिनुभयो ।

अध्यक्ष लोहनीले डिएभीमा भारतीय पाठ्युस्तक पढाइ नगर्न र शिक्षकमाथि शोषण नगर्न आफूहरुले माग पेस गर्दा कुनै सुनुवाइ नगरी उल्टै आफूहरुलाई धम्की दिने कार्य गरिएकाले अब थप कडा आन्दोलन गर्ने बताउनुभयो । “आन्दोलन भड्काउन हामीलाई पैसाको बार्गेनिङ गर्ने, नेता र सुरक्षा निकायको हवालाबाट ज्यानको धम्की दिने कार्य भएको छ ” लोहनीले भन्नुभयो, “तर भारतीय पाठ्क्रम पढाउने विद्यालयका सञ्चालक जेल नगएसम्म हामीहरु पछि हट्दैनौँ, सक्ने भए हामीलाई गिरफ्तार गरुन् ।”

उहाँले डिएभीबाट निस्काशित आफ्नो सङ्गठननिकटका शिक्षक राजेन्द्र मानन्धरलाई आजै मात्र ललितपुर जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकृतले मोबाइलबाट फोन गरी धम्की दिएको जानकारी दिनुभयो । डिएभीका अभिभावक तथा पत्रकार देवप्रकाश त्रिपाठी सो विद्यालयमा भारतीय पाठ्यपुस्तक पढाइएको सुनेपछि आफूले व्यवस्थापनसँग कुरा गर्दा गल्ती सच्याउने आश्वासन दिएको बताउनुहुन्छ ।

अध्यक्ष लोहनीले गल्ती सच्याइए पनि अहिलेसम्म गरेको राष्ट्रघातबापत सञ्चालकलाई कारबाही हुनुपर्ने जिकिर गर्नुभयो । अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले भारतीय पाठ्यक्रम पढाइएको पाइएमा त्यसको विरोधमा हुने आन्दोलनमा ऐक्यबद्धता हुने तर विद्यालयको पठनपाठनलाई बाधा पुग्ने गरी शिक्षण संस्थामा तालाबन्दी र अवरोध गर्न नहुने जनाउनुभयो ।

डिएभी विद्यालयमा गत पुस २२ गतेदेखि शिक्षक सङ्गठनले लगाएको तालाबन्दी यही माघ १५ गते विद्यालयका अभिभावकको एक समूहले एकतर्फीरुपमा तोडाएको थियो । रासस

Facebook Upshot:

Ram Kumar Shrestha December 2012 · 

यस्ता संबेदनशील बिषयबस्तुलाई देखे पनि नदेखे झैं सुने पनि नसुने झैं गरेर अकबर र बिरबलको कथाका अन्धा प्रमाणित गर्दै कतिन्जेल बस्ने होला हामी नेपालीहरु Photo Rohit Subba — with Frenzdiary PatrioticKedar ShakyaSubas Dutrajand 46 others.

Unlike ·  · Share

Leave a comment