Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

बुद्धको जन्मस्थलबारे मोदीको स्वीकारोक्तिको अर्थ

Posted by Ram Kumar Shrestha on August 14, 2014


– रामकुमार श्रेष्ठ

Profile Pictureएकासौं शताब्दीको आजको इन्टरनेटको जमानामा नियतबस गलत जानकारी प्रबाहले अन्तराष्ट्रिय दृष्टिकोण नकारात्मक बन्ने भएकाले सत्यका पर्यायबाची बुद्धको जन्मस्थल विषयमा साँचो कुरा गरेर बुद्धप्रति साँचो अर्थमा आदर गर्नु नै उपयुक्त देखिन्छ । नेपालले त आखिर ढिलो चाँडो समस्या समाधान गर्ने नै भएकोले शक्तिसम्पन्न राष्ट्रको सूचिमा पर्न अग्रसर भारतले यस किसिमका समस्याका कारण विश्व रंगमन्चमा आफ्नो छबि धमिलिन नदिन समयमा नै अग्रसरता दर्शाउनु नेपालभन्दा भारतकै लागि बढी हितकर हुने देखिन्छ ।

नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा आइतबार नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा “विश्वलाई चकित गर्ने बुद्ध जन्मेको देश”भनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनले भारतीय संचार माध्यमद्धारा बेलाबखतमा बुद्ध जन्मस्थल विषयमा सिर्जना गरिने अनावश्यक बिबाद अब टुंगिने हो कि भन्ने संकेत मिलेको छ । यस्ले लाखौं नेपालीको मन जित्ने मात्रै नभएर थुप्रै अन्तराष्ट्रिय संचार माध्यमको समेत ध्यानाकर्षण गरेको देखिन्छ ।

जसरी योगगुरु रामदेबले आफ्नो पुस्तकमा वुद्ध भारतमा जन्मेको कुरा उल्लेख गरे तापनि नेपाल आएर बुद्ध नेपालमा जन्मेको कुरा गरे त्यसरी नै केही समय अघि मात्रै ‘जुन बेला बिहारलाई वुद्धको आवश्यकता परेको थियो बिहारले बुद्ध दियो’ भनेका कारण बिबाद र आलोचनाका पात्र बनेका मोदी भारतको प्रधानमन्त्रीको हैसियतमा नेपाल आउँदा नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा बुद्ध नेपालमा जन्मेको भन्दै नेपाललाई बुद्धको देशको रुपमा चिनाउन धेरै पटक दोहोर्याए ।

नेपालबारे अत्यन्तै साना कुराहरु समेत जानकारी राख्न सक्ने खुबी भएकाका रुपमा आफूलाई प्रमाणित गर्न सक्षम मोदीले आफूले बिहारले बुद्ध दिएको भनी बोलेको, नक्कली कपिलवस्तु निर्माण, वुद्ध फिल्ममा कबिर बेदीले बोलेका आदि बिषयमा भएका बिरोध र नेपालीहरुले यस बिषयमा भारतको नियतका बिरुद्ध विस्वब्यापी रुपमा दर्शाएको बिरोधबारे अनभिज्ञ छन भन्न सकिन्न । त्यसरी नै प्रो कनिङ्हामको नेतृत्वमा युनेस्कोमार्फत लुम्बिनीमा भैरहेको अनुसन्धानद्धारा बुद्धको जन्मस्थल र समय समेतको नयाँ जानकारी र वैज्ञानिक पुनर्पुष्टि महत्वपूर्ण अन्तराष्ट्रिय संचार माध्यमहरुको प्राथमिकतामा परेबाट भारतले सामना गर्न परेको असहज लज्जाबोधलाई पनि बुझेका छैनन भन्न सकिन्न । र, अर्को कुटनितिक पक्ष भनेको भारतले राष्ट्र संघको सुरक्षा परिषदमा अस्थायी सदस्यको रुपमा पुन: उम्मेदवारी दिंदैछ । मोदीले वुद्ध जन्मस्थल बिषयमा जे बोले त्यस्लाई यी सबैबाट अलग राखेर हेर्न सकिन्न ।

मोदीको यो स्वीकारोक्तिका सम्बन्धमा तीन फरक धार नेपालीहरुका बीच देखा परे: पहिलो, मोदीले जे बोले त्यो नै सबैभन्दा महत्वपूर्ण हो र भारतले नै बुद्धको जन्मस्थल बिषयमा अनाबस्यक बिबाद सिर्जना गरेकोले अब कुनै बिबाद रहने छैन याने कि बिबाद टुङियो; दोश्रो, नेपालबाट आफ्नो स्वार्थ पुरा गर्ने कुटिल चालबाजी भएकोले उन्को कुरोमा विश्वाश गरिनु हुन्न र तेश्रो, वाध्यताबस होस अथवा चालबाजीको रुपमा होस भारती प्रधानमन्त्रीका हैसियतमा मोदीले वुद्ध जन्मस्थल बिषयमा नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा बोलेका कुराले भारती पक्षबाट बेला बखतमा निकालिने अनाबस्यक बखेडामा निस्चित रुपमा कमी आउनेछ र समस्याको जरोको रुपमा रहेको बिभिन्न देशको पाठ्य पुस्तकमा नै भएको गलत जानकारी सच्याउने क्रममा कोरिया र स्वीडेनमा प्राप्त भएको सफलतालाई अरु देशमा निरन्तरता दिन यस्का कारण कुनै न कुनै हदसम्म सहज बातावरण सिर्जना हुन सक्नेछ ।

एकाध ब्यक्तिहरु वुद्ध जन्मस्थलको बिषयमा उठेको समस्यालाई गोल मटोल गर्ने अभिप्रायले बिषयबस्तुलाई कपिलवस्तुतिर मोडेर भ्रम सिर्जना गर्नेतिर पनि लागिरहेका छन । संसारभरी प्रश्न र समस्या वुद्ध जन्मेको बिषयमा छ उनीहरु वुद्धले २९ बर्ष ब्यतित गरेको कपिलवस्तुको असान्दर्भिक प्रसंग ल्याएर मानिसको ध्यान अन्यत्रै मोडने दुस्प्रयास गरिरहेका छन ।

मोदीको यो स्वीकारोक्तिका कारण अब वुद्धको जन्मथलोको बिषयमा सिर्जना गरिएको समस्या समाधानार्थ जनस्तरबाट शुरु गरिएको विस्वब्यापी अभियानको कुनै औचित्य नभएको कुरा केहीले उठाएका छन । उनीहरुले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भने यो समस्या भारत र नेपालमा मात्रै सीमित नभएर थुप्रै देशको पाठ्य पुस्तकमा नै बुद्ध जन्मस्थलबारे गलत जानकारी राखिएको कारण संसारभरिका करोडौं मानिसले गलत जानकारी प्राप्त गरिरहेकाले अभियानले यो समस्यालाई समस्याको जरोको रुपमा लिएको छ । मोदीको यो स्वीकारोक्तिले अभियानको कार्यमा सिर्जना हुने ब्यबधानमा कमी आउने कुरालाई नकार्न सकिन्न जस्ले अभियानको औचित्य समाप्त हुने दिन नजिकिन सक्छ । अब हाम्रो दायित्व भनेको कोरिया र स्वीडेनकै कामको निरन्तरताको रुपमा विभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी सच्याउनेतर्फ नै बढी मात्रामा केन्द्रित हुनुपर्ने हुन्छ । अभियानले एक हदसम्म जन चेतनाको अबस्था पार गरेकोले अब बिभिन्न देशको पाठ्यक्रममा वुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउने कुरामा जोड दिए अनुरुप नै स्वीडेनमा त्यो सफलता हासिल गरिसकेको पनि छ ।

एकासौं शताब्दीको आजको इन्टरनेटको जमानामा नियतबस गलत जानकारी प्रबाहले अन्तराष्ट्रिय दृष्टिकोण नकारात्मक बन्ने भएकाले सत्यका पर्यायबाची बुद्धको जन्मस्थल विषयमा साँचो कुरा गरेर बुद्धप्रति साँचो अर्थमा आदर गर्नु नै उपयुक्त देखिन्छ । नेपालले त आखिर ढिलो चाँडो समस्या समाधान गर्ने नै भएकोले शक्तिसम्पन्न राष्ट्रको सूचिमा पर्न अग्रसर भारतले यस किसिमका समस्याका कारण विश्व रंगमन्चमा आफ्नो छबि धमिलिन नदिन समयमा नै अग्रसरता दर्शाउनु नेपालभन्दा भारतकै लागि बढी हितकर हुने देखिन्छ ।

Leave a comment